नुवाकोट - नुवाकोटको बेलकोटगढी नगरपालिका-७ स्थित ‘गल्छी-देवीघाट’ सडकखण्डको गैरीगाउँमा गएराति मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय वीरमान श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए।
उनका अनुसार ठक्कर दिने बा. प्र.०२–०१९ प ६०७९ नम्बरको मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइएको छ।
तारुकाबाट महादेवफाँटतर्फ तीव्र गतिमा आउँदै गरेको मोटरसाइकलले करिब ८ बजेतिर पैदलयात्रीलाई ठक्कर दिएको थियो।
उक्त घटनाको विरोधमा स्थानीयवासीले राति अबेरसम्म सडक अवरुद्ध गरेका थिए। रासस