काठमाडौं - जसपा संसदीय दलको बैठक आज बस्दै छ।
दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने बैठकले आज दलको नेता चयन गर्ने छ।
बिहीबार पार्टी कार्यालय बालकुमारीमा बसेको शीर्ष नेताहरूको बैठकमा आज संसदीय दलको बैठक बसेर नेता चयन गर्ने निर्णय भएको थियो। तत्कालीन राजपा र संघीय समाजवादी पार्टीबीच एकता भएर बनेको जसपाको संसदीय दलले आज नेता चयन गर्न लागेको हो।
सत्ता समीकरणमा निर्णायक बनेको जसपाले अहिलेसम्म सहकार्यका विषयमा निर्णय गरिसकेको छैन।
नेताहरूले आफूले अघि सारेका माग सम्बोधन भए मात्रै सत्ता सहकार्य गर्ने र सरकारमा सहभागी हुने बताउँदै आएका छन्।
बिहीबार शीर्ष नेताहरूको बैठकपछि प्रधानमन्त्रीसँग भेटवार्ता भएको थियो।
भेटमा आफूहरूले राखेका माग सम्बोधन गर्न प्रधानमन्त्री सकारात्मक रहेको बताएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए।
आजै नेकपा एमाले र जसपाले बनाएको कार्यदलबीच बैठक बस्ने भएको छ।
उक्त कार्यदलले नै जसपाले अघि सारेका मागका विषयमा आवश्यक निर्णय गर्ने बुझिएको छ। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने छ।
त्यसैले प्रधानमन्त्रीले अहिले जसपालाई सत्ता सहकार्यका लागि प्रयास गरिरहेका छन्।
जसपाले भने प्याकेजमै आफ्नो माग सम्बोधन हुने जोसुकैसँग पनि सहकार्य गर्ने धारणा राख्दै आइरहेको छ।
उता माओवादी केन्द्रले कांग्रेस र जसपालाई मनाएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउने प्रयास गरिरहेको छ।