काठमाडौं- नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाबीच उच्चस्तरीय छलफल भएको छ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा केहीबेरअघि सकिएको उच्चस्तरीय बैठकमा जसपाले आफ्ना पुराना एजेण्डा नै अगाडि सारेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए।
बन्दीहरुको रिहा, झूटा मुद्दा फिर्ता, संविधान संशोधनलगायतका विषय आफूहरुले उच्चस्तरीय बैठकमा राखेको उनले बताए।
आफूहरुको प्रस्तावमा सत्तारुढ एमाले सकारात्मक रहेको र यी मुद्दाहरु सम्बोधनका लागि भोलि (शुक्रबार) कार्यदलस्तरमा छलफल हुने उनले बताए।
बैठकमा एमालेका तर्फबाट प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेललगायतका नेताहरु सहभागी थिए। साथै कार्यदलका सदस्य प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र सुबास नेम्वाङ पनि बैठकमा सहभागी थिए।
जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र अशोक राई सहभागी भएका थिए।
जसपाले कर्णको नेतृत्वमा सरकारसँग वार्ता गर्न सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको कार्यदल बनाएको छ। सरकारको तर्फबाट विष्णु पौडेल, नेम्वाङ र भट्टराई कार्यदलमा छन्।