पर्सा– उपप्रधानमन्त्री तथा नेकपा एमालेका महासचिव इश्वर पोखरेलले माओवादी प्रतिपक्षमा बस्ने हो भने अन्य दलसँग सहकार्य गर्ने बताएका छन्।
प्रेस संगठन पर्सा शाखाले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले हाल नेकपा एमाले विधिवत् रुपमा माओवादी केन्द्रसँगको एकता पूर्वकै स्थानमा फर्किएको बताउँदै पुनर्जीवित एमाले अब संसदीय प्रक्रिया बमोजिम परिवर्तित ढंगले अगाडि बढ्ने बताए।
सर्वोच्च अदालतको निर्णयले देशमा अझै पनि अस्थिरता उत्पन्न गरेको बताउँदै उनले ढिलै भए पनि जनताको ताजा जनादेशमा जानैपर्ने दाबी गरे।
संसद् पुनर्स्थापनापछि माओवादी प्रतिपक्ष भएमात्रै अन्य दलसँग समन्वय गरेर सरकार बनाउने नभए चुनावमा जानुपर्ने उनको भनाइ थियो। सर्वोच्चको निर्णयले देशमा अझै पनि अस्थिरता उत्पन्न गरेको भन्दै उनले स्थिर सरकारको स्थापना गर्ने ध्येयले नै संसद् विघटन गरेको तर्क गरे।
नेपाल भारत सीमामा अझै पनि लकडाउनको समयमा लगाएको नाकाबन्दी फुकुवा नगरेको भन्दै उनले चाँडै खुलाउने प्रतिबद्धता जनाएका थिए।