ताप्लेजुङ- फुङलिङ नगरपालिका- ५ स्थित उकालीपानीमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ।
आज अपराह्न अचानक भएको आगलागीबाट सन्तोष लिम्बूको घर जलेर नष्ट भएको हो। घरमा कोही नभएका अवस्थामा भएको आगलागीबाट दुई लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।
एक्लै बस्दै आएका लिम्बूको आगलागीबाट रु. ८० हजार, रु. ३० हजार बराबरको अन्नपात र लत्ताकपडालगायत सामान र करिब रु. एक लाख ५० हजार बराबरको कच्ची घर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नगरपालिकाको दमकलको सहायतामा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए। आगलागीको कारण भने खुलेको छैन। रासस