काठमाडौं– सत्ता सहकार्यका विषयमा निर्णय गर्न जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुको बैठक आज बस्दैछ।
बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा शीर्ष नेताहरु छलफलमा बस्न लागेको जसपा कार्यकारी समितिका सदस्य केशव झाले जानकारी दिए।
सरकार गठनका लागि निर्णायक देखिएको जसपाभित्र अहिलेसम्म निर्णय हुन सकेको छैन।
जसपाका नेताहरुले आफूहरुले अघि सारेका माग सम्बोधन गर्न तयार हुनेसँग मात्रै सहकार्य गर्ने बताउँदै आएका छन्। सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि नयाँ सरकार निर्माणको तयारीमा रहेको माओवादी केन्द्रले जसपालाई सत्ता सहकार्यको प्रस्ताव राखिरहेको छ। नेकपा एमालेले पनि आफ्नो सरकार जोगाउन जसपालाई सत्तामा आउन प्रस्ताव अघि सारेको छ।
रेशम चौधरीलगायत नेताकार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनसहितका माग पूरा भएमात्रै सरकारमा जाने जसपाका नेताहरुले बताउँदै आएका छन्।
वरिष्ठ नेता राजेन्द्र महतोले पटक पटक एमाले, कांग्रेस र माओवादीबाट धोका पाउँदै आइएको भन्दै अहिले उधारोमा सम्झौता नगर्ने बताएका छन्। आजको बैठकले सरकारमा जाने विषयमा आधिकारिक निर्णय गर्न सक्ने बुझिएको छ।
बैठकमा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू अशोक राई र राजेन्द्र महतो सहभागी छन्।