काठमाडौं– आज बिहीबार हिन्दू धर्मावलम्बीहरुले शिवरात्रि मनाउँदैछन्। पशुपतिनाथ मन्दिरमा पूजा गर्नेहरुको बिहानैदेखि घुइँचो छ।
बिहान ४ बजेदेखि नै पशुपतिका चारैवटा ढोका खुला गरिएको छ भने पूजा गर्नका लागि श्रद्धालुहरु बिहानैदेखि लाइनमा बसेका छन्।
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष घनश्याम खतिवडाका अनुसार यस वर्ष ५ लाख दर्शनार्थी आउने अनुमान गरिएको छ। मध्यान्ह १२ बजेसम्ममा साढे दुई लाख भक्तजनले पशुपतिको दर्शन गरिसकेका छन्।
मन्दिर परिसरमा विभिन्न स्टलहरु राखिएका छन्, जसमा स्वास्थ्य शिविर, जलपान, खाजा लगायतको व्यवस्था गरिएको छ। नेपाल समय मिडियाले पनि मन्दिर आउने भक्तजनलाई जलपानको व्यवस्था गरेको छ। स्टलमा भक्तजनलाई पानी, जुस तथा बिस्कुटको व्यवस्था गरिएको छ।
नेपाल समय मिडियाले गत वर्षदेखि महाशिवरात्रिको दिन मन्दिर परिसरमा भक्तजनको लागि जलपानको व्यवस्था गर्दै आएको छ।

यस वर्ष कोरोना महामारीका कारण भक्तजनको संख्या घटेको छ। कोरोना भाइरसको जोखिम कायमै रहेकाले पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ। मास्क नलगाई मूल मन्दिर प्रवेशमा रोक लगाइएको छ।
कोरोना जोखिमकै कारण शिवरात्रिका अवसरमा पशुपति आउने भक्तजन तथा साधुसन्तको संख्या विगतको तुलनामा आधा घटेको कोषले जनाएको छ। शिवरात्रिमा भक्तजनको सुरक्षा तथा व्यवस्थापनका लागि सात हजार प्रहरी परिचालन गरिएको छ।