जनकपुरधाम– हिन्दू धर्मावलम्बीहरु आज धूमधामका साथ शिवरात्रि मनाउँदैछन्। आजको दिन देशभरका शिवालय तथा शिव मन्दिरमा भक्तजनको घुइँचो लाग्छ।
जनकपुरधाममा पनि शिवरात्रिको रौनक देखिएको छ। शिव चोकमा रहेको शिव मन्दिर, गंगासागर पोखरीको डिलमा रहेको भूतनाथ मन्दिर, वडा नम्बर १२ मा रहेको कुपेश्वरनाथ महादेव मन्दिरमा ठूलै भीड लागेको छ।
यद्यपि जनकपुरधामका दुई प्राचिन मन्दिर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको कुपेश्वरनाथ महादेव मन्दिर र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित गिरनारी कुट्टीमा पौराणिक शिव मन्दिरको प्रचारप्रसार नभएका कारण ओझेलमा परेको देखिन्छ।
कपिलेश्वरनाथ महादेव
त्रेता युगमा मिथिलाका राजा शिरध्वज जनकले राजधानी जनकपुरधामको चारै कुनामा महादेव मन्दिरको स्थापना गरेका थिए। जसमध्ये कपिलेश्वरनाथ महादेव पनि हो। प्राचिन कालिन शिव मन्दिर रहे पनि यसको व्यवस्थापन तथा प्रचार प्रसारका लागि सम्बन्धित निकायले ध्यान दिन नसक्दा ओझेलमा परेको आरोप स्थानीयको छ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामअशिष पजियारले कपिलेश्वरनाथ मन्दिरको संरक्षण, सम्बद्र्धन तथा विकासका कामहरु स्थानीयवासीको अग्रसरता तथा चन्दा संकलन गरेर मात्रै हुँदै आइरहेको बताए। उनले यति प्राचिन शिवलिंग रहेपनि यो मन्दिरको विकासतर्फ न प्रदेश सरकारले, न जनकपुरधाम उपमहानगरपालिकाले चासो देखाएको आरोप लगाए।
कपिलेश्वरनाथ युवा क्लवका अध्यक्ष तुलसी पजियारले मन्दिरको ए्ेतिहासिकताको विषयमा प्रचार प्रसारका लागि स्थानीय स्तरबााटै पहल गर्ने योजना बनाइरहेको जानकारी दिए। वि.सं. १९९० सालमा आएको भूकम्पमा मन्दिर भत्किएपछि त्यहाँ रहेको अभिलेख तथा त्यहाँका बहुमूल्य मूर्तिहरु कहाँ लगियो यो विषयमा कसैलाई कुनै जानकारी नरहेको र यसको खोज अनुसन्धान हुनु आवश्यक रहेको स्थानीयवासीको भनाइ छ।
धनुषाको सदरमुकाम जनकपुरधाममा रहेको प्रसिद्ध कपिलेश्वरनाथ महादेव मन्दिर समेत ख्याती एवं ऐतिहासिकताको हिसाबले प्रसिद्ध मन्दिर हो। कपिलेश्वर नाथ महादेवको मन्दिर जनकपुर उपमहानगरपालिका वडा नम्बर १६ जनकपुर जयनगर रेल्व्ेलाइन भन्दा दक्षिणमा अवस्थित छ। गुम्बा जस्तै देखिने यो शिखर शैलीको मन्दिर छ।
धार्मिक ग्रन्थहरुका अनुसार जनकवंशीय राजा शिरध्वजले जनकपुरको चारै दिशामा महादेवको स्थापना गरेका थिए। ती चार महादेवहरु मध्ये कपिलेश्वरनाथ पनि एक हो। कपिल मुनीको आश्रमको मुनी समेत यहीँ रहेको मान्यता छ। पहिले यो मन्दिरको निर्माण सिमरौनगढ शैलीमा गरिएको थियो। पछि ती संरचना बि.सं. १९९० सालको भूकम्पमा ध्वस्त भएका थिए। सोही स्थानमा विष्णुगिरी नामका एक काँवरिया पुगेका थिए। उनले नै भत्केको मन्दिर तोडाउन लगाएर नयाँ मन्दिर निर्माण गर्ने बताएका थिए। पछि उनी फर्केर आएका थिएनन्।
मन्दिर तोडेपछि स्थानीय यज्ञप्रसादको भूमिकामा पुरातत्व विभागबाट बि.सं. २०३९ सालमा आर्थिक सहयोग गरेपछि नयाँ मन्दिरको निर्माण भएको थियो। स्थानीयवासीको सक्रियतामा मन्दिरमा शिवलंग पुर्नस्थापना गरिएको थियो भने वर्तमान मन्दिरको निर्माण गरिएको थियो।
मन्दिर परिसरको चारैतिर स–साना मन्दिरहरु बनाएर त्यसमा भगवानका प्रतिमाहरु स्थापित गरिएका छन। मन्दिरको उत्तर पूर्वमा संतोषी माँ, पूर्व दक्षिणमा गणेश भगवान, दक्षिण पश्चिममा राम जानकी, पश्चिममा शिव पार्वती र पश्चिम उत्तरमा हनुमानजीको प्रतिमा स्थापना गरिएको छ। मन्दिर परिसर ५ कठामा फैलिएको छ। यो मन्दिर गुठी अधिनस्थ रहेको छ।
गिरनारी कुट्टीको शिव मन्दिर
महाशिवरात्री पर्वका लागि शिव मन्दिरहरुलाई पूजाका लागि सजाइएपनि गिरनारी कुट्टीमा ररहेको शिव मन्दिरमा खासै तयारी गरिएको देखिदैन। जनकपुरधामका अन्य शिव मन्दिरहरुमा श्रद्धालु भक्तजनहरुको भीड देखिएपनि यो मन्दिर भने शिवरात्री पर्वका दिन समेत सुनसान छ। यद्यपि सो मन्दिरमा आकल झुकल श्रद्धालुहरु दर्शनका लागि पुग्ने गर्छन्।
टिकमगढको गिरनारका वैद्य राम गिरीले सो मन्दिरको स्थापना गरेकाले सो कुट्टीको नाम गिरनारी कुट्टी राखिएको स्थानीयहरुर बताउँछन्। उनी टिकमगढका राजाको कुल पुरोहित समेत थिए।
राम मन्दिर तथा जानकी मन्दिरभन्दा पनि पुरानो रहेको सो मन्दिरमा २ वटा शिवलिंग रहेको छ। एउटा शिवलिंग कालो रंगको छ भने अर्को शिवलिंग सेतो रंगको। धार्मिक जानकारहरुका अनुसार शिवलिंग कालो रंगको प्रत्येक स्थानमा पाइन्छ तर सेतो लिंग अदभुत संयोग नै हो। प्राचिन दूबै शिवलिंग नर्मदा नदिबाट ल्याइएको बताइन्छ। कालो शिवलिंगको नाम महाकालेश्वर राखिएको छ भने, सेतो रंगको लिंगको नाम गौरी शंकर राखिएको छ।
स्थानीय प्रदीप शर्माका अनुसार सन १७३४मा गिरनारका वैद्य राम गिरी भगवान रामको ससुराली खोज्दै जनकपुरधाम पुगे। उनी भगवान शिवका परम भक्त थिए। राजर्षि जनक पनि भगवान शिवको परम भक्त रहेकाले उनले जनकपुरधाममा शिवलिंग स्थापना गरे।
जनकपुरधामको सो कुट्टीमा कहिल्यै श्रद्धालु भक्तजनहरुको भीड लाग्ने गथ्र्यो। तर बि.सं. २०२९ सालमा त्यहाँका महन्थको हत्या भएपछि १२ वर्षसम्म सो मन्दिरमा पूजा नै भएन। सो वर्ष तत्कालिन महन्थ रवि गिरी र उनका चेला बिर गिरीको हत्या भयो। उनीहरुको हत्यापछि बन्द रहेको सो मन्दिर स्थानीयको सक्रियतापछि फेरी खोलियो। तर त्यो मन्दिरका लागि पुरानो दिन फर्केर आएन।
गिरनारी कुट्टी गुठी अधिनस्थ रहेको छ। तर गुठी संस्थानको उदासिनताका कारण यो मन्दिरमा रौनकता आउन सकेको छैन। सो मन्दिरका हालको महन्थ रहेको शिवु गिरी गत ६ वर्षदेखि महन्थ छन्। उनका अनुसार उनलाई गुठी संस्थानले पूजाका लागि ११ सय र तलब ११ सय रुपैयाँ मासिक उपलब्ध गराउँदै आईरहेको छ। त्यसबाहेक गुठी संस्थानले सो मन्दिरमा केही सहयोग नगरेको देखिन्छ। मन्दिरको भवन जिर्ण अवस्थामा रहेपनि त्यसको जिर्णोद्धारका लागि कुनै निकायले पहल नगरेपछि सो मन्दिरले आफ्नो अस्तित्व खोजिरहेको छ।