सोमबार, भदौ १५, २०८३

एकसिंगे गैँडा भारत छिर्ने चिन्ता

चितवन राष्ट्रिय निकुञ्जबाट भारततर्फ दुर्लभ एकसिङ्गे गैँडा जाने चिन्ता बढेर गएको छ ।
 |  बिहीबार, फागुन २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २७, २०७७

चितवन– चितवन राष्ट्रिय निकुञ्जबाट भारततर्फ दुर्लभ एकसिङ्गे गैँडा जाने चिन्ता बढेर गएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको चाप बढेपछि सीमा जोडिएको भारततर्फ जाने चिन्ता बढेर गएको हो ।
 
केही वर्षअघि बर्सातको समयमा बगेर भारत पुगेका १० वटा गैँडा उद्धार गरी ल्याइएको भए पनि अन्य केही गैँडा ल्याउन सकिएको छैन । त्यसपछिका वर्षहरुमा पनि बाढीले बगाएर गैँडा भारत पुर्याएको अनुमान छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार हाल निकुञ्जको मुख्य कार्यालय कसराबाट पश्चिमतर्फ झण्डै ७० प्रतिशत हाराहारी गैँडा रहेको अनुमान छ । आउँदो चैत ९ गतेबाट गैँडा गणना गरिँदै छ ।

गणनापश्चात् यकिन तथ्याङ्क आउने उहाँले बताउनुभयो । सानो ठाउँमा उच्च चाप रहेको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा भारतीय सीमामा वाल्मीकि टाईगर रिजर्ब रहेको छ । पर्साको ठोरीदेखि त्रिवेणीसम्म भारतीय सीमामा पर्सा र चितवन राष्ट्रिय निकुञ्ज जोडिएका छन् ।
 
सीमा क्षेत्रमा चुरे पहाड, खोला, जङ्गल र मानवबस्तीसमेत रहेको छ । बरालले नारायणी नदी हुँदै र चुरे पहाडबाट समेत गैँडा भारत जाने सम्भावना रहेको बताए । उनका अनुसार नदीबाट बगेर गण्डक ब्यारेज हुँदै गएका गैँडा फर्किन असम्भव छ । गण्डक ब्यारेजपछि नदीको दुवैतर्फ ठूला तटबन्ध रहेकाले नदीबाट बाहिरिनसमेत कठिन हुने उनले बताए ।

पुनः फर्किएर आउन पनि बाँधका कारण सम्भावना छैन । उनले भने, “गण्डक ब्यारेज र त्यसपछिको नदी क्षेत्र वन्यजन्तुमैत्री नहुँदा समस्या भएको छ ।” गैँडा गणनापछि अवस्था हेरेर आन्तरिक स्थानान्तरण गर्नुपर्ने उनको भनाइ छ । उनले भने, “भारतमा गैँडा जाने चिन्ता छ ।”
 
निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत एवं प्रदेश नं २ का वन सचिव रामचन्द्र कँडेल सीमा क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएको भन्दै भारततर्फ जाने खतरा बढेको बताउँछन । घाँसे मैदान र पानीका पोखरी निर्माण गरी आन्तरिक स्थानान्तरण गरेर पूर्वको खगेन्द्र मल्ली र पदमपुर क्षेत्रमा ल्याउनुपर्ने कँडेलको भनाइ छ । उनले भने, “निकुञ्जको पूर्वी क्षेत्रमा गैँडाको बासस्थानका लागि राम्रो व्यवस्थापन गर्नुपर्छ ।” राप्ती नदीमा भएको उत्खनन र नदीको पानी खेतीमा सिँचाइका लागि ल्याउँदा निकुञ्जमा पानीको अभाव भएको उनको भनाइ छ ।
 
नदीको पानी घटेर निकुञ्जमा चिसोपन कम हुँदा घाँसे मैदान र पानीको पोखरी व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । यसबाट निकुञ्जका गैँडा पश्चिमतर्फ केन्द्रित भएको उनको भनाइ छ । निकुञ्जको पूर्वी क्षेत्रबाट बाढीमा नदीमा बगेर केही तल पुगेर उत्रिन सक्ने भए पनि सीमा क्षेत्रबाट बगेका गैँडा भने भारत पुग्ने गरेका छन् ।
 
कँडेल यसै निकुञ्जमा प्रमुख संरक्षण अधिकृत हुँदा बगेर भारत पुगेका १० वटा गैँडा भारतसँग समन्वय गरी उद्धार गरेर ल्याइएको थियो । पछिल्लो समय भारतले समेत गैँडा फिर्ता दिन आनाकानी गर्दै आएको छ । निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत कमलगञ्ज कुँवर सीमा क्षेत्रको भेलौजी आसपासका क्षेत्रमा गैँडाको सङ्ख्या बढेकाले भारत जाने सम्भावना पनि उत्तिकै रहेको बताउँछन् ।

एक दिनमा गैँडा ४० किलोमिटरभन्दा बढी आवातजावत गर्ने भन्दै उनले पूर्वी क्षेत्रको हेटौँडा, रौतहट र सर्लाहीसम्म गैँडा पुग्ने गरेको बताए । उनले भने, “नेपाली क्षेत्रमा गएका गैँडा उचित बासस्थानको अभावमा फर्किएर आउँछन् तर भारत पुगेका भने आउन असम्भवजस्तै छ ।”
 
नेपालकै विभिन्न ठाउँमा गैँडा पुग्ने भए पनि राम्रो बासस्थान खोज्दै पुनः निकुञ्जमै फर्किने गरेका छन् । कुँवरले भारतसँग समन्वय गरेर त्यहाँबाट आउनका लागि जैविक मार्गको व्यवस्थापन गर्नुपर्ने बताए । एउटा देशबाट अर्को देशमा वन्यजन्तु आवतजावत गर्न रोक्न नमिल्ने भए पनि यहीँ उचित बासस्थानको व्यवस्थापन गर्न सके गैँडा भारत जानबाट रोकिने उनको तर्क छ ।
 
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले सीमा क्षेत्रको चुरे क्षेत्रबाट जाने सम्भावना कम भए पनि अमुवा खोला र ठोरीतर्फबाट गैँडा भारत जान सक्ने बताए । बर्सातको समयमा बगेर जाने खतरा सबैभन्दा बढी रहेको उनको भनाइ छ । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा रहेका छन् । यसै वर्ष गणना गरिँदै छ ।
 
निकुञ्जमा हुर्काएर राप्ती र नारायणी नदीमा छाडिएका गोही भारत पुग्ने गरेका छन् । जसका कारण बर्सेनि नदीमा गोही छोडिएको भए पनि सङ्ख्या बढाउन सकिएको छैन । भारततर्फ गएका गोही ब्यारेजका कारण नेपाल फर्किन कठिन हुने गरेको छ ।
रासस

प्रकाशित: Mar 11, 2021| 05:06 बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।