सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ४० वर्षअघि इलामबाट बेपत्ता भएका दीपक कसरी भेटिए कोलकाताको जेलमा ?

४० वर्षअघि इलामबाट बेपत्ता भएका दीपक कसरी भेटिए कोलकाताको जेलमा ?

९० वर्षीया धनमाया तिम्सिनालाई छोरा दीपकको बारेमा सोध्दा उनले आकाशतिर हेर्दै भनिन्– ऊ त पन्छी बनेर आकाश उडिरहेको छ। उनले हामीलाई घरभित्र लगेर एउटा धमिलो तस्बिर देखाइन्। उनी दीपक जोशी नै थिए।
 |  बिहीबार, फागुन २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २७, २०७७

वि.सं. २०३५ माघ महिनामा इलामका युवक दीपक जोशी तिम्सिना घरबाट निस्किए। त्यसपछि उनी कहिल्यै घर फर्केनन्। बेपत्ता भएको ४० वर्षपछि दीपकलाई उनका परिवारका सदस्यले कोलकाताको एउटा कारागारमा भेटेका छन्। 

दीपक दाल बेच्न बजार जान्छु भनेर घरबाट हिँडेका थिए। उनी गाउँमै सानोतिनो काम गर्थे। ज्योतिष शास्त्रमा उनको रुची थियो। भाइ प्रकाशचन्द्र तिम्सिना भन्छन्, ‘हामीले नेपालमा दाइलाई धेरै खोज्यौं। जिउँदै होलान् भनेर त सोचेकै थिएनौं। दाइ घर छोडेर हिँडेको समयमा दार्जिलिङमा गोरखाल्याण्ड आन्दोलन चल्दै थियो। त्यही आन्दोलनमा उहाँको मृत्यु भयो भन्ठानेका थियौं।’  

४० वर्षसम्म पश्चिम बंगालका विभिन्न जेलमा बिताए दीपकले। उनीविरुद्ध परेको मुद्दाको सुनुवाइ ४ दशकसम्म पनि पूरा भएन। पछिल्लोपल्ट अस्ति बुधबार कोलकाता हाइकोर्टका मुख्य न्यायाधीशको डिभिजन बेन्चमा सुनुवाइ भयो। अर्को सुनुवाइ मार्च १५ का लागि तोकिएको छ। रिहा भएपछि दीपक नेपाल फर्किन पाउँछन् कि पाउँदैनन् भनेर अदालतले नै फैसला गर्नेछ। 

४० वर्षसम्म दीपकको जीवन स्थीरजस्तै रह्यो। यसका बाबजुद पछिल्ला केही महिना केही नाटकीय घटना भए। 

गत वर्ष फेब्रुअरीमा नन्दीग्रामबाट राधेश्याम दास नाम गरेका कैदी स्थानान्तर भएर दमदम केन्द्रीय कारागारमा आए। माओवादी संगठनसँग संलग्नता देखिएपछि दास १० वर्षअघि पक्राउ परेका थिए। उनलाई ५ वर्षअघि पनि केही दिनका लागि दमदम जेलमा ल्याइएको थियो। 

‘गत वर्ष यहाँ आउँदा पहिले नै परिचय भएका दीपकसँग फेरि भेट भयो। जेलमा जो मानसिक रुपले ठिक छन्, उनीहरुसँग म आफैं परिचय गर्छु। त्यसै क्रममा दीपकसँग पनि परिचय भएको थियो। कुराकानी गर्दै जाँदा थाहा भयो, ४० वर्षदेखि उनको मुद्दाको सुनुवाइ पूरा भएको रहेनछ,’ दासले बीबीसीसँग भने।  

जेलबाट जमानतमा छुटेपछि दासले पश्चिम बंगला एमेच्योर रेडियो क्लबमा सम्पर्क गरे। रेडियो क्लबका सचिव अम्बरीश नाग विश्वास भन्छन्, ‘४० वर्षदेखि एक व्यक्ति बिना सुनुवाइ जेलमा बस्नुपरेको सुनेर म चकित भएँ। हामीले जेल कार्यालयमा सम्पर्क गर्यौं।’

अम्बरीश र उनको क्लबका मानिसहरुले जेल प्रशासनसँग दीपकलाई भेट्ने अनुमति मागे। तर, परिवारका सदस्य नभएका कारण हीरक सिन्हा एकजनाले मात्र भेट्न पाउने भए। किनकी उनी कोलकाता हाइकोर्टका वकिल हुन्। 

हीरक भन्छन्, ‘मलाई शंका थियो– दीपक जोशी मानसिक रुपले अस्वस्थ हुन सक्छन्। तर उनीसँग कुरा गर्दै जाँदा त्यस्तो कतै लागेन। तर उनी पीडामा भने अवश्य थिए। म कनिकुथी नेपालीमा कुरा गरिरहेको थिएँ। उनले कुराकानीकै बीच कागज र कलम मागे र केही शब्द लेखे। देवनागिरीमा लेखिएका ती शब्द पूर्ण थिएनन् तर त्यसमा उनको परिचय थियो– गाउँको नाम, मातापिताको नाम, स्कुलको नाम।’ 

दीपकसँग सम्बन्धित केही कागजातहरु जुटाएपछि पत्ता लाग्यो– उनी १९८१ मा हत्या आरोपमा दार्जिलिङबाट पक्राउ परेका रहेछन्। 
अम्बरीशले भने, ‘नेपालबाट आएर उनले दार्जिलिङको कुनै चिया बगानमा काम गरेछन्। कसैले उनलाई नोकरी दिएछ र एकजनाको हत्या गर्न भनेछ। दीपकले उसको कुरा मानेर कसैको ज्यान लिए। त्यसपछि उनी पक्राउ परे अनि जेलको जेल।’  

पक्राउ परेपछि दीपकलाई कुनै अदालतमा पेश गरिएन। कहिले बहरमपुर जेल, कहिले अलीपुर जेल, कहिले मनोरोग चिकित्सालय हुँदै चार दशक बिते। अदालतले पटकपटक दीपकको मानसिक स्वास्थ्य जाँच गर्ने आदेश दियो। तर त्यो रिपोर्ट कहिल्यै अदालतमा पेश गरिएन। 

कोलाकातास्थित हैम रेडियो अपरेटर संगठनले दीपकको ठेगाना पत्ता लगाउन कोलाकातास्थित नेपाली वाणिज्य दूतावासमा सम्पर्क गर्यो। 

अम्बरीश भन्छन्, ‘२०७२ सालमा नेपालमा भूकम्प गयो। त्यसको रिपोर्टिङका लागि जाने क्रममा हाम्रो परिचय नेपालका वकिल सतिशकृष्ण खरेलसँग परिचय भयो। मैले उनीमार्फत नै रेडियो नेपालमा दीपक जोशीको बारेमा बताएँ। त्यसपछि दीपकले दिएको ठेगानाका आधारमा उनको परिवारको खोजी सुरु भयो।’

दीपक इलाम चुलाचुलीको स्कुलमा पढ्थे। त्यो ठाउँमा गएपछि थाहा भयो– स्कुल भूकम्पले ध्वस्त भएको रहेछ। 

वलिक हीरक सिन्हा भन्छन्, ‘दीपकको नाम लिनेबित्तिकै स्थानीयले भने– उसको त मृत्यु भइसक्यो। उनका भाइ भने त्यही स्कुलमा पढाउँदा रहेछन्।  स्कुल अन्तै सारिसकेको रहेछ। त्यहाँ हामीले प्रकाशचन्द्र तिम्सिनालाई भेट्यौं। दाइ जिउँदै भएको सुनेर उनी स्तब्ध भए। त्यसपछि हामी उनकी आमालाई भेट्न गयौं।’

अम्बरीश भन्छन्, ‘९० वर्षीया धनमाया तिम्सिनालाई छोरा दीपकको बारेमा सोध्दा उनले आकाशतिर हेर्दै भनिन्– ऊ त पन्छी बनेर आकाश उडिरहेको छ। उनले हामीलाई घरभित्र लगेर एउटा धमिलो तस्बिर देखाइन्। उनी दीपक जोशी नै थिए।’

यहीबीचमा कोलकाता हाइकोर्टमा मुद्दा दायर भयो दीपकको बारेमा। जयन्तनारायण चटर्जीले दीपकको पक्षमा मुद्दा लड्ने भए। चटर्जी भन्छन्, ‘४० वर्षसम्म अदालतमा अभियुक्तको मुद्दाको सुनुवाइ नै भएन। अभियुक्तलाई अदालतमा पेश नै गरिएन। यो कसरी सम्भव छ ? यो त मानव अधिकारको घोर उल्लंघन हो। सुनुवाइ भएको भए उनी बेकसुर सावित हुन पनि सक्थे।’

प्रकाश आफ्नो दाइलाई भेट्न कोलकाता आए। उनी भन्छन्, ‘दाइको फोटो खिचेर ल्याउनु भन्नुभएको थियो आमाले। तर, जेल प्रशासनले फोटो खिच्न दिएन। ४० वर्षपछि दाइलाई भेट्दा कस्तो अनुभूति भयो, शब्दमा व्यक्त गर्न सक्दिन।’

प्रकाशलाई थाहा छैन– दाइ अब रिहा हुन्छन् कि हुँदैनन्, आफ्नो देश फर्किन पाउँछन् कि पाउँदैनन्, ४० वर्षअघि छोडेको माटोमा पाइला टेक्न पाउँछन् कि पाउँदैनन्, ९० वर्षकी आमालाई भेट्न पाउँछन् कि पाउँदैनन्। 

-अमिताभ भट्टासाली, बीबीसी संवाददाता (कोलकाता)

प्रकाशित: Mar 11, 2021| 04:02 बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।