जनकपुरधाम- एमाले र माओवादी केन्द्र पार्टी ब्युँतिएपछि त्यसको प्रत्यक्ष असर प्रदेश २ मा देखिएकोे छ।
यी दुई पार्टी ब्युँतिएपछि प्रदेश २ मा नेकपा माओवादी केन्द्रका पाँच जना प्रदेशसभा सदस्यले विद्रोह गर्ने तयारी गरेका छन्।
प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दन कुशवाहा, दिलिप साह र मोहम्मद समीर माओवादी केन्द्र परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ।
यससम्बन्धमा नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र मण्डलले यो छलफलको विषयवस्तु रहेकोले यसमा अहिले नै केही भन्न नमिल्ने बताए। उनले विद्रोह गरेका आफूलगायत पार्टीका नेताहरु ज्वालाकुमारी साह, कुन्दन कुशवाहा, दिलिप साह र मोहम्मद समीरबीच छलफल भएपछि मात्र केही निर्णय लिने बताए।
उनले भने, ‘राजनीति एकल विचारबाट गर्ने विषय होइन। हामी सबैजना मिलेर सामूहिक निर्णय गरेका थियौं। पार्टीभित्र बस्ने की छोड्ने भन्ने सवालमा हामीहरु एकजुट भएर छलफल गरेपछि निष्कर्ष निकाल्छौं।’