काठमाडौं- पुल्चोक स्पोर्ट्स क्लब सहिद स्मारक बी डिभिजन लिगको पुछारमा रहँदै सी डिभिजन लिगमा घटुवा भएको छ।
आज(बुधबार) सम्पन्न अन्तिम खेलमा नयाँबस्तीसँग २–१ गोलको हार बेहोर्दे पुल्चोक सी डिभिजमा घटुवा भएको हो।
उसले लिगमा झम्सिखेलविरुद्धको खेलमात्र खेल जित्यो भने दुई बराबरी खेल्दै पाँच अंक जोड्यो। पुछारबाट दोस्रो स्थानमा रहेको झम्सिखेल थप एक बराबरी खेल्दै पुल्चोकभन्दा एक अंक धेरै बनाएर रेलिगेसनबाट बच्यो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न पुल्चोक र नयाँबबस्तीको अन्तिम खेलमा नयाँबस्तीको जितका लागि अशोक तामाङ र विवेक गुरुङलले गोल गरे। पुल्चोकका श्रेयस लो तामाङले एक गोल फर्काए।
त्यस्तै अन्तिम चरणको आजै सम्पन्न अर्को खेलमा खुमलटारले बाँसबारी क्लबलाई हराउँदै शीर्षस्थानको सातदोबाटोसँग अंक बराबरी गरेको छ। उसले अन्तिम खेलमा ४-० गोलको जित निकाल्दा आदिल हमिद, प्रशन अवस्थी, आयुष घलान र महेश राईले समान १-१ गोल गरे।
खुमलटारले २५ अंक जोडेरे तालिकाको दोस्रो स्थानमा रहँदै लिग सकेको छ भने तेस्रो स्थानमा रहेका बाँसबारीले २१ अंक जोड्यो।