सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा अब कुनै प्रकारको अशान्ति छैन : प्रधानमन्त्री ओली

नेपालमा अब कुनै प्रकारको अशान्ति छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताएका छन्।
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताएका छन्।

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा २०औँ स्थापना दिवसका अवसरमा आज (बुधबार) सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष ओलीले नेपाल अब विकास र सुशासनको बाटामा अघि बढेको बताए।

हिंसाको बाटामा हिँडेकालाई शान्तिको मूलधारमा ल्याउन आफ्नो सरकार सफल भएको दाबी गर्दै उनले पृथकतावादी सोचलाई समेत टुंग्याइएको बताए। ‘हामी राष्ट्रिय एकताको भावका साथ अघि बढेका छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘अब देशमा हिंसाको अन्त्य भएको छ, नेपाल शान्तिको नयाँ युगमा प्रवेश गरेको छ।’ यसका लागि सुरक्षा परिषद्को नीतिले पनि उल्लेख्य काम गरेको उनको भनाइ थियो। 

प्रधानमन्त्री ओलीले आफू राष्ट्रिय एकताको भावका साथ अघि बढेको तथा देशमा शान्ति, सुशासन र राष्ट्रिय एकताको ढोका खोल्ने काम आफूले गरेको जिकिर गरे। छिमेकी देशसितको सम्बन्ध सुमधुर बनाइएको जनाउँदै उनले केही समस्या भए वार्ताका माध्यमबाटै हल गरिने स्पष्ट पारे। उथलपुथल र उतारचढावका समयमा परिषद्को सचिवालयको स्थापना भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले हासिल गरिएका अनुभवका आधारमा काम गर्दै अघि बढ्न सुझाव दिए।

नेपाली सेनाको परिचालन र प्रयोग सही ढंगले हुँदै आएको बताउँदै उनले नेपाल विश्वमा शान्ति स्थापनाका पक्षमा रहेको स्पष्ट गरे। ‘ठूलो होस् वा सानो देश, विश्वमा न्यायोचित हकको रक्षाका लागि मात्र सेना परिचालन गरिनुपर्छ’, प्रधानमन्त्री ओलीले भने। विश्वमा अर्काको अहित हुने गरी सेनाको परिचालन गर्न नहुनेमा उनले जोड दिए।

असहज र अप्ठयारो अवस्थामा सेनाको प्रयोग गरिँदै आएको प्रसंग उल्लेख गर्दै ओलीले सुरक्षा, सेवा र निर्माणका काममा सेना अहोरात्र खटिँदै आएको स्मरण गरे। अन्तरराष्ट्रिय क्षेत्रमा समेत नेपाली सेनाले शान्ति स्थापनार्थ उल्लेखनीय योगदान दिँदै आएको बताउँदै प्रधानमन्त्रीले भने, ‘सेनाले आफू जोखिम मोलेर भए पनि शान्ति स्थापनाका लागि काम गर्दै आएको छ।’
विश्वसनीय र भरपर्दो निकाय नेपाली सेनाले सेवा र निर्माणका क्षेत्रमा जनताको मन छुने गरी काम गर्दै आएको प्रधानमन्त्रीले बताए। कतिपय समयमा सेनालाई अनावश्यक विवादमा तान्ने कामसमेत भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सेनाले आफ्नो प्रतिष्ठा जोगाएर काम गर्दै आएको बताए। ‘सेना जस्तो संस्थालाई वादविवादमा तान्न उचित हुन्न’ उनले।

जनतालाई भ्रममा पार्ने तत्त्वसँग सचेत हुनुपर्नेमा जोड दिँदै उनले मुल कानून संविधान मानेर सबै अघि बढ्नुपर्ने सुझाव दिए। परिषद्को स्थापना लड्न र भिड्नलाई मात्र नभएको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले यसको काम शान्ति सुरक्षाको वातावरण कायम गरेका ओलीले बताए।

कार्यक्रमको अवसरमा ओलीले परिषद्को सचिवालयको हाताभित्र वृक्षरोपणसमेत गरेका थिए।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परिषद्का सदस्य गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव शंकरदास वैरागी र प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षासचिव एवं परिषद्का सदस्य–सचिव रेश्मीराज पाण्डे, सुरक्षा निकायका उच्चपदस्थ अधिकारी, कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता थियो। परिषद् सचिवालयको स्थापना २०५८ फागुन २७ गते गरिएको हो। रासस

प्रकाशित: Mar 10, 2021| 11:10 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।