काठमाडौं– सत्ता सहकार्यका लागि दलहरूबीच तीव्र छलफल चलिरहेका बेला नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ।
प्रतिनिधिसभाको बैठकमा सहभागी भएलगत्तै जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुसँग भेटवार्ता गर्न पेरिसडाँडा पुगेका थिए।
‘सरकार गठनका विषयमा छलफल गर्दै सहकार्य गरेर अघि बढ्नुपर्ने भन्ने विषयमा छलफल भएको छ,’ सहभागी एक नेताले भने।
यसअघि पनि दाहालले जसपाका नेताहरुसँग छलफल गरिसकेका छन्। मंगलबारमात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाकै संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका थिए।
बुधबार नै जसपाका नेता र एमालेका नेताहरूबीच पनि छलफल भएको थियो। राजनीतिक दलहरुले छलफल तीव्र पारे पनि अझै सत्ता सहकार्य गर्ने विषयमा निष्कर्षमा पुगिसकेका छैनन्।