काठमाडौं– नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको निरन्तरताको विषयमा पार्टीभित्र छलफल गरेर मात्रै अगाडि बढ्ने प्रतिक्रिया दिएका छन्।
संसद् भवनबाट बाहिरिएपछि सञ्चार माध्यमलाई प्रतिक्रिया दिंदै नेपालले पार्टीका नेता, कार्यकर्ताहरूको सल्लाह बमोजिम नै निर्णय लिने बताएका हुन्।
पत्रकारले नेपाललाई वर्तमान सरकारको निरन्तरताका विषयमा धारण माग्दा उनले भने, ‘खै भन्न त एमालेकै सरकार हो भन्छन्, मलाई थाहा छैन।’
पार्टीभित्रका बिमति, छलफल, बहस, विवादले नै लोकतान्त्रिक संस्कारको विकास हुने नेपालको भनाइ थियो। उनले अब छलफल र बहसबाटै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।
आज १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर ३ चैतसम्मको लागि स्थगित भएको छ।