काठमाडौं - माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थनबारे आज पनि कुनै निर्णय गरेन।
नेता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थनबारे थप निर्णय नगरिसकेको बताए।
‘नैतिकरूपमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो, नदिइसकेपछि अरू पार्टीसँग सहमति गरेर निष्कर्षमा पुग्ने गृहकार्य भइरहेको छ,’ उनले भने।
उनका अनुसार आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग भएको वार्ताका बारेमा जानकारी गराएका थिए।
त्यस्तै विभिन्न पार्टीका नेताहरूसँग आज पनि वार्ता गर्ने तयारीबारे दाहालले जानकारी गराएको श्रेष्ठ जानकारी दिए। अन्य दलहरूसँग वार्ता, संवाद र छलफल गर्नका लागि अध्यक्ष दाहाल र नेता श्रेष्ठलाई जिम्मेवारी ताेकिएकाे छ।
बैठकले पार्टीको केन्द्रीय कमिटी बैठक चैत १ गते र प्रशिक्षणात्मक बैठक २ गते निर्णय गरेको छ। त्यसका लागि बैठकमा सहभागी हुने विभिन्न तहका नेता कार्यकर्ताहरूको मापदण्डको पनि निर्धारण गरिएको नेता श्रेष्ठले बताए।
यस्तै बैठकले संगठनात्मक कार्ययोजना तयार गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ। जसमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा रहेका छन्।