काठमाडौं– एकल महिला समूहले स्थापनाकालदेखि अहिलेसम्म गरेका विभिन्न अभियानको अभिलेखीकरण प्रदर्शनीमा राखेको छ।
१११ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा समूहले एकल महिलाबाट गरिएका समाजिक रूपान्तरणमा आधारित अभियानको अभिलेखीकरण प्रदर्शनीमा राखेको हो।
संस्थाले एकल महिलाको सवाल र सशक्तीकरणसँग जोडिएका सबै पक्ष समेटेर विगत दुई दशकदेखि गर्दै आएका अभियानको अभिलेखीकरण गरेको छ।
अभिलेखीकरण कक्ष अवलोकन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले संस्थाले एकल महिलालाई संगठित मात्र नगरी उनीहरूलाई बाँच्ने आधारसमेत प्रदान गरेकोमा खुसी व्यक्त गरिन्।
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य एवम् संस्थाकी संस्थापक लिली थापाले संस्था तत्कालीन माओवादी र सुरक्षाकर्मी दुवैको निसाना बने पनि रणनीतिक हिसाबले आफ्ना गतिविधि बढाउँदै अघि बढेको बताइन्।
संस्थाका अध्यक्ष कुन्दा शर्माले समूहले काठमाडौंको टोखामा हर स्टोरी पार्क निर्माण गर्न लागेको जानकारी गराइन्।
समुहको कार्यालय हात्तीगौंडामा आयोजित कार्यक्रममा काठमाडौं, भक्तपुर र ललितपुरका एकल महिलाले बनाएका हस्तनिर्मित सामग्रीका साथै तरकारी, अचारलगायतका खानेकुरा बिक्रीका लागि राखिएको थियो।
माओवादी द्वन्द्वमा पति गुमाएकादेखि कोरोना संक्रमणले परिवार गुमाउन बाध्य महिलालाई आर्थिक रुपमा सशक्त बनाउन एकल महिला समूहले विभिन्न सीपमूलक काम गर्दै आएको छ।
२०५२ सालमा स्थापित संस्थाले एकल महिलाको अधिकार तथा सशक्तीकरणका लागि वकालत र सामाजिक न्यायका लागि कार्य गर्दैै आएको छ।
एक तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको ६ प्रतिशत एकल महिला छन्। एकल महलामध्ये ८६ प्रतिशत अशिक्षित छन्।