काठमाडौं– भर्खरै सम्पन्न राष्ट्रिय महिला लिगबारे जे सोचिएको थियो, त्यही भयो। अलिकति फरकचाहिँ के भयो भने लिगमा विदेशी खेलाडीले वालिङलाई केही बलियो बनाए।
विराटनगर पनि भारतीय खेलाडीको सहयोगमा राम्रै देखियो। उत्कृष्ट फरवार्ड सावित्रा भण्डारीको शब्दमा भन्ने हो भने यो वर्ष खेलाडीले ‘मोडर्न फुटबल’ खेले।
अर्थात्, पहिलेको तुलनामा लिग थप प्राविधिक बन्यो र दोहोरो राउन्ड रोविनले प्रतिस्पर्धाको स्तर पनि उकास्यो। लिग सञ्चालन हुँदा खेलाडीले रमाएर खेले। जति खेलाडीले चोट पाए, उनीहरुले चोटको दुःख भन्दा खेल्न पाउनुको मज्जा धेरै उठाए।
धेरै कुराहरु नयाँ देखिएको लिग अखिल नेपाल फुटबल संघ(एन्फा)ले सफल रुपमा चलायो। कोरोना महामारीपछि लिग कसरी सञ्चालन होला भन्ने प्रश्न धेरैको मनमा थियो। र, एन्फाले लिग कमिटीको सहकार्यमा प्रश्नको उत्तर पनि दियो।
यद्यपि, सात टिम सम्मिलित लिगमा एन्फा र टिम आफैंका तर्फबाट केही कमजोरी पनि रहे भने धेरै कुराहरु सुधार हुँदै गए। लिग सकिएपछि के भन्छन् त महिला लिगका प्रशिक्षक ?
एपीएफ : खेलाडीले इन्ज्युरी सहेर पनि खेले
टाइटलको लागि खेल्ने हो, टाइटल जित्यौं। त्यसैमा खुसी छु। ओभरअल गेम्समा सबै जित्दा हाम्रो गेम सन्तोषजनक रह्यो।
तर, टिम जुन फ्लोमा बगिरहेको हुन्छ, एक खेलाडीलाई चोट लाग्दा त्यसले निकै गाह्रो पार्छ। स्कोरको खम्बा (सावित्रा भण्डारी) पुलिसविरुद्धको खेलमा चोट बोकेर बाहिर हुँदा एपीएफलाई अन्तिमका दुई खेलमा थप गाह्रो भयो।
लगातार खेल हुँदा हिरा कुमारीलगायत कतिपय खेलाडीले इन्ज्युरी सहेर पनि खेल्नुपर्ने भयो। लिगमा रिजल्ट त आयो तर धेरै खेलाडी घाइते भए। उनीहरुलाई व्यक्तिगत घाटा भयो। टिमको लागि घाटा भयो, देशको लागि पनि घाटा नै भयो।
त्यो कारणले सुखद् रह्यो भन्न चाहन्न। मेरो सन्दर्भमा चाहिँ, खेलाडी जीवनभन्दा प्रशिक्षकको जिम्मेवारी धेरै दबाबपूर्ण र जवाफदेही रहेछ भन्ने बोध भयो।
जितः १२, हारः ०, बराबरीः ०, अंकः ३६
गोलः ७७, गोल बेहोरेकोः १
आर्मी : आउने खेलमा कोसिस गर्नेछौं
यसपहिले पनि दोस्रो स्थानमा थियौं। यो वर्ष पनि दोस्रो स्थानमै चित्त बुझाउनु पर्यो। कोसिस त पहिलो हुने नै थियोे।
सुरुवाती खेलमा ड्र हुनुले नै हामीलाई टाइटल रेसमा बाधा बन्यो। त्यसैले टिमभित्र धेरै कुरा सुधार गर्नुपर्ने छ। आउने टुर्नामेन्टमा राम्रो रिजल्टको लागि खेल्नेछौं।
आर्मीले स्ट्राइकिङ लाइनमा सोचेअनुरुपको प्रदर्शन नगरेपछि उपाधि जित्न सकिएन। अब अघिका खेलमा राम्रो होला।
जितः ८, हारः २, बराबरीः २, अंकः २६
गोलः ६३, गोल बेहोरेकोेः ७
नेपाल पुलिस : विभागीय तालिमले समस्या
तेस्रो भयौँ। सुखद् नतिजा आयो। मेरो सोचाइचाहिँ अझै राम्रो गर्ने थियो।
खेलाडी आधा तालिममा, आधा फुटबलमा भए। केही समय फुटबलमा विताएपछि, त रिटर्न लेगतिर सेट मिल्दै गएको थियो नि। खेलाडी विस्तारै फिट हुँदै थिए। सेट मिल्दै थियो, टुर्नामेन्ट नै सकियो।
विभागमा लिगको गेम देखाएर तालिम गर्ने खेलाडीलाई पनि फुटबलमा समय दिनपुर्छ भनेर माग गर्छौ।
अब विभागमा भर्ना खुलेपछि खेलाडी थप गर्ने योजना छ। जस्तोसुकै खेलाडी ल्याउनु पनि भएन। चन्द्रपुर र वालिङका केही खेलाडी राम्रो देखिएका छन्। उनीहरुलाई विभागमा तान्ने प्रयास हुनेछ।
हामी फरवार्डको खोजीमा छौं। अरु त राम्रो छ।
जितः ५, हारः ४, बराबरीः ३, अंकः १८
गोलः २८, गोल बेहोरेकोः १०
वालिङ : विदेशी र नेपाली खेलाडीबीच संयोजन कठिन
हामीले ठूलै आशा राखेर लिग सुरु गरेका थियौँ। उपाधि जित्ने नै योजनामा थियौँ। त्यही योजनाका साथ विदेशी खेलाडी पनि मगाएका थियौँ।
तर खेलाडीको कम्बिनेसन मिलाउन गाह्रो भयो। सुरुसुरुमा एक अर्कालाई खेलाडीको नाम पनि थाहा थिएन। यसले कसलाई पास दिने भन्ने खेलाडीले ठम्याउनै सकेनन्।
तर पनि अन्तिममा चौथो भयौँ। विभागको टिमभन्दा पछि र बाँकी टिमभन्दा अघि रह्यौं। सान्त्वना जित हासिल गर्दा अलिअलि पनि खुसी लागेको छ।
तर अमिसा कार्की (फरवार्ड)को चोटले हाम्रो खेललाई धेरै प्रभाव पार्यो। उनी पहिले पनि प्लेयर अफ दि म्याच बनेकी थिइन् भने अन्तिम खेलमा उत्कृष्ट खेलाडी बनिन्। तर उनलाई चोट लागेपछि बीचमा खेलाउन सकेनौँ।
विदेशी खेलाडीमा पनि पछिल्लो समय ग्रोइङ पेनका कारण समस्या भयो। मिथू रुथले पनि गोल गर्न सकिनन्। खेलाडी थोरै भएका कारण कतिपय खेलमा हामीले इन्ज्युर्ड हुँदाहुँदै पनि खेलाउनु पर्यो।
यस्तो हुँदा खेलाडीले शतप्रतिशत प्रदर्शन गर्न सक्दैनन्। रुथको पनि पछिल्लो लेगमा प्रदर्शन खच्किएको चोटले नै हो।
हाम्रो मिडफिल्डर सुरुवाटै घाइते भएपछि हाम्रो टिमले प्लेमेकर गुमाएको थियो। यसकारण एकजना विदेशी फरवार्डलाई मिडफिल्डमा खेलाउन बाध्य भयौँ।
जितः ५, हारः ५, बराबरीः २, अंकः १८
गोलः २६, गोल बेहोरेकोेः २२
विराटनगर : होम अवे खेलाउनु पर्छ, रेस्ट टाइम कम भयो
हामी एभरेज टिम हो। र, हाम्रो लक्ष्य उपाधि जित्नु थिएन। एभरेज टिमबाट उपाधि जित्न सकिन्न। विभागभन्दा पछि र अन्य नगरपालिकाभन्दा अघि रहने हाम्रो योजना थियो। तर एक स्थान तल (पाँचौं) भयौँ।
हामीले छनोटपछि मुस्किलले १०–११ दिन अभ्यास गरायौँ। त्यतिबेला केहि नयाँ खेलाडी पनि थपिए। लामो अभ्यास नभएका खेलाडी हामीसँग थिए।
जुनियर खेलाडी दोस्रो हाफको अन्तिमतिर खेलमा जमिरहन सक्दैनन्। त्यसले लिगका खेलमा घाटा लागेको थिया।
टिममा ४–५ जना खेलाडी मात्र अनुभवी छन्। अनु राईलगायतका ५–६ जना त १७ वर्षभन्दा कम उमेरका पनि छन्।
जे भए पनि लिगले नयाँ खेलाडी उत्पादनमा सहयोग गरेको छ। तर आयोजकले अब लिगको अवधि कम्तिमा पनि तीन महिनाको बनाउनु पर्छ। खेलको ग्याप बढाउनुपर्छ।
अर्को पटक गर्दा होम एण्ड अवेको अवधारणा पनि होस्। कम्तीमा ७२ घण्टाको रेस्ट आवश्यक पर्छ। त्यो भयो भने राम्रो। एन्फाले लिगमा कम अवधि राखेर पत्राचार गरेकाले यो वर्षको लिगमा पर्याप्त समय पाइएन।
जितः ५, हारः ६, बराबरीः १, अंकः १६
गोलः १६, गोल बेहोरेकोः २८
चन्द्रपुर : विदेशी खेलाडी अनिवार्यजस्तै हुने भो
खेलाडी उत्पादनको उर्वर भूमि चन्द्रपुर लिगमा पुछारबाट दोस्रो स्थानमा रह्यो। यसकारण हाम्रो लिगयात्रा खासै सफल रहेन।
लिगमा विदेशी खेलाडी आएर खेलेर वालिङले पनि राम्रो प्रदर्शन गर्यो। अब नेपालमा टप फाइट दिनका लागि विदेशी खेलाडी अन्य टिमले पनि अनिवार्य रुपमा ल्याउनु पर्छ।
हामीले अन्तिम खेलमा पनि जितका आशा राखेको थिएनौँ। त्यसरी होप डाउन भएपछि हामीले विदेशी खेलाडीले भरिएको टिम वालिङसँग अन्तिम खेलमा पनि जित निकाल्न सकेनौँ। विदेशी खेलाडी धेरै प्रोफेसनल छन्। प्यासोनेट र बलिया पनि छन्।
हाम्रो क्षेत्रका धेरै खेलाडी विभागीयमा परिसकेकाले गाह्रो भएको हो। अहिले पनि विभागमा जाने तयारीमा छन्। भोलि ४–५ जना विभागमा गएको खण्डमा त्यसबापत विदेशी खेलाडी त ल्याउनै पर्यो अर्को लिगमा।
मेरो टिममा सविता राना मगरलगायत जुनियर खेलाडी छन्। नौ जना खेलाडी त उमेर समूहका राष्ट्रिय टोलीका खेलाडी छन्। ६ जना रौतहटका खेलाडी विभागबाट खेलिरहेका छन्। पछिल्लो समय बहराइन गएको टिममा १५ जना (९ जना रौतहटमा अहिले खेलिरहेका र ६ जना विभागमा गएका) खेलाडी रौतहटकै मात्र थिए।
उमेर समूहका खेलाडीलाई हटाएर किन विदेशी खेलाडी ल्याउने भन्ने हाम्रो योजना थियो। तर हामी असफल भयौँ।
खेलाडीको इन्ज्युरीका कारणले लिगमा समस्या भयो। खेलाडीलाई रेस्ट पनि कम भयो। खेलबीचको ग्याप कम भयो। हामी नेचुरल मैदानमा खेलिरहेका हुन्छौं। तर यो आर्टिफिसियल मैदानका कारण धेरै इन्ज्युरी हुन्छ। एन्फा कम्प्लेक्समा भएको मैदान खेलाडीका लागि घातकजस्तो पनि छ।
जितः ३, हारः ९, बराबरीः ० अंकः ९
गोलः १२ गोल, बेहोरेकोेः ४९
चौदण्डी : टिममै हारको मात्र मानसिकता बन्यो
हामीले मानसिकता नै परिवर्तन गर्न सकेनौँ। कुनै एक खेलमा राम्रो गरेको भए सबैले बधाई दिन्थे। हामीले यो गर्यौं, अझै गर्नुपर्छ भन्ने भावना विकास हुन्थ्यो। तर त्यसो भएन।
‘लगातारको हारपछि केका लागि खेल्ने’ भन्नेखालको मानिसकतालाई तोड्नै सकिएन। यसकाण खेलाडीलाई ‘विनिङ मेन्टालिटी’मा ल्याउन गाह्रो भयो। हाम्रो समाज पोजेटिभ भन्दा नेगेटिभतिर छिटो ढल्किन्छ। हामी पनि त्यस्तो टिप्पणीबाट टाढा हुन सकेनौँ।
अब हामीले महिला फुटबलको विकास गर्न महिला टिम र क्लबको विकास गर्नुपर्छ। अनि निश्चित क्षेत्रका टिम बनाएर लोकल टुर्नामेन्ट गराउनु पर्छ।
हामी पहिले जिल्लामा हुँदा त्यहाँको विभागसँग राम्रो खेलेका थियौँ। तर २०७७ को लिगबाट एक अंक पनि नजोडिकन विदा भयौँ। लिगमा खेलाडीले बल होल्ड गर्न नसकेपछि हामीले राम्रो नतिजा ल्याउन सकेनौँ।
‘अनि हारको कारण ?’
हाम्रो टिम तयारी अपुग भयो। खेलाडीबीच समन्वयमा कमी रह्यो। खेलाडीलाई एक अर्काको क्षमताबारे थाहा नहुनु पनि रिजल्टको एक पाटो हो।
त्यस्तै, दोस्रो लेगका खेलपछि हामीले इन्डियाका खेलाडी ल्याउँदा पनि टिममा सोही समस्या दोहोरियो।
प्राविधिक समस्याका कारणले गर्दा चौदण्डीले सबै अंक गुमायो। छनोटमा सहभागी खेलाडीबाहेक हामीले सात जना नेपाली खेलाडी र पछि चार इन्डियन गरेर समग्रमा ११ खेलाडी थप्यौँ।
जितः ०, हारः १२, बराबरीः ०, अंकः०
गोलः ४, गोल बेहोरेकोः १०६