काठमाडौं – ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले पुनरागमन जित निकालेको छ।
रियल बेटिसको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम बार्सिलोनाले ३–२ गोलको जित निकालेको हो।
बार्सिलोनाको जितका लागि लियोनेल मेस्सी र फ्रान्सिस्को ट्रिनाकोले समान १/१ गोल गरे।
तर, खेलको ३८ औं मिनेटमा गोल गर्दै घरेलु टिम बेटिसले सुरुआती अग्रता निकाल्यो। बोर्जा इग्लेसियसले गोल गरेपछि बेटिसले अग्रता बनाएको थियो।
यससँगै पहिलो हाफको बार्सिलोना एक गोलले पछि पर्याे। दोस्रो हाफको ५९ औं मिनेटमा भने बार्सिलोनाका मेस्सीले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
खेलको ६८ औं मिनेटमा बेटिसका भिक्टर रुइसले आफ्नै पोस्टमा गोल गरेपछि अग्रता बनाएको बार्सिलोनाले सो अग्रता ७५औं मिनेटमा गुमाएको थियो।
बेटिसका रुइसले यसपटक बार्सिलोनाकै पोस्टमा गोल गर्दै खेललाई २–२ गोलबाट प्रतिस्पर्धी अवस्थामा पुर्याए।
तर, ८७ औं मिनेटमा ट्रिनाकोले गोल गर्दै बार्सिलोनालाई जित दिलाए।
गएरातिको जितसँगै ४३ अंक बनाएको बार्सिलोना रियल मड्रिडलाई गोेलअन्तरका आधारमा पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ।
यद्यपि २१ खेलमा सहभागी बार्सिलोना १९ खेल खेलेको एट्लेटिको भन्दा सात अंक पछि छ। यता बार्सिलोनासँग पराजित बेटिस ३० अंकका साथ सातौं स्थानमा छ।
आइतबार रातिकै अर्को खेलमा रियल सोसिडाडले कार्डिजविरुद्ध ४–१ गोलको जित निकालेको छ। जितसँगै सोडिडाड छैटौं स्थानमा छ भने कार्डिज १४ औं स्थानमा छ।