दाँत दुखेका बेला सिक्कामा किला छेँडेर मुढामा ठोक्दा दुखाई सन्चाे हुने जनविश्वास रहेको काठमाडौं बाङ्गेमुढाको परम्परागत ‘वास्या द्यो’ (दाँतको दुखाईको देउता) अचेल फाइबर प्लास्टिकको सुरक्षा घेरामा छ।
इन्द्रचोकबाट सोझै उत्तर जाँदा वा असनबाट पश्चिमतिर लाग्दाको चौबाटोमा पर्ने बाङ्गेमुढाको ‘वास्या द्यो’ को संरक्षणका लागि फाइबर सिसा ठोकिएको काठमाडौं महानगरपालिका वडा नम्बर २५ का अध्यक्ष नीलकाजी शाक्यले बताए।
‘तीनपटक चोर्ने प्रयास भयो,’ शाक्यले भने, ‘साथै भक्तजनले मुढाको टुक्रा उप्काएर लान थालेपछि सुरक्षाका लागि फाइबर ग्लास हालिएको हो।’
मुढामा ठोकिएका धातुका सिक्काको पुरातात्विक महत्त्वका कारणले पनि चोर्ने प्रयास भएको हुन सक्ने शाक्य बताउँछन्।
मुढाको प्राचीनता
नेपाल भाषामा वास्याको अर्थ दाँत र द्योको अर्थ देवता हुन्छ। दुखेको दाँत सन्चो बनाइदिने देवताको रूपमा बाङ्गेमुढाको सो वास्या द्योमा सिक्का गाड्ने प्रचलन छ। मुढामा कहिलेदेखि सिक्का गाड्न थालियो भन्नेबारे ठोस प्रमाण भने भेटिएको छैन।
सो मुढा पूरै सिक्काले ढाकिएको छ। मुढाको केही भाग मक्किसकेको छ भने यस देवस्थलमा अन्यत्रको जस्तो मूर्ति वा कलाकृति छैन। न त मन्दिरजस्तो कुनै संरचना नै छ।
‘मुढाको तल्लो भागमा जलद्रोणी थियो जसको जलाशयमा पाटीभित्रबाट पानी भरिन्थ्यो,’ बाङ्गेमुढामै जन्मेहुर्केका लेखक मल्ल के सुन्दर भन्छन्, ‘सो जलद्रोणी पूजाको लागि चाहिने चोखो पानीका लागि उपयोग हुने अनुमान गर्न सकिन्छ। तर, मर्मतसम्भार गर्दा सो जलद्रोणीलाई नै छोपर गाराे लगाइएको छ।’
किला गाडिएको देखेर धेरैले यसलाई किलागल ठान्ने मल्ल बताउँछन्। ‘किलागल त भेडासिंगभन्दा परको अर्को टोल हो,’ उनी भन्छन्।
कसरी बन्यो बाङ्गेमुढा
‘बाङ्गेमुढामा रहेको थास मण्डप बनाउँदा बढी भएको काठको मुढा त्यत्तिकै रह्यो। त्यसमध्येको एउटा मुढा बाङ्गो थियो। त्यही बाङ्गो मुढाले गर्दा नै ठाउँको नामै बाङ्गेमुढा रह्यो,’ नेपालभाषा टाइम्सका सम्पादक तथा सांस्कृतिक ज्ञाता सुरेश मानन्धर भन्छन्।
उनका अनुसार थासमण्डप मरु सत्तल जत्तिकै पुरानो सत्तल हो, जसको नाम अपभ्रंस हुँदै थाय मरु हुन पुग्यो र टोलको नाम नै त्यही रहन गयो।
‘वास्तुविद्हरू मरुको काष्ठमण्डप र बाङ्गेमुढाको थासमण्डपको स्वरुप, संरचना समान भएको बताउँछन्,’ मल्ल भन्छन्, ‘काष्ठमण्डप अपभ्रंस हुँदै मरु तथा थासमण्डप अपभ्रंस हुँदै थाय मरु भएको सन्दर्भ हेर्दा थास मण्डप प्राचीन हो भन्ने बुझिन्छ।’
२०७२ को भूकम्पले भत्किएको काष्ठमण्डप पुनर्निर्माण गर्दा जगमा झण्डै १५ सय वर्षअघिको जिष्णुगुप्तको पालाको सिक्का भेटिएको थियो। ‘थास मण्डप पनि हजार वर्षभन्दा पुरानो हुन सक्छ,’ मानन्धर भन्छन्।
मुढा निकै लामो भएको बताइन्छ। ‘झण्डै ४० वर्षअघि बाङ्गेमुढाभन्दा हजार मिटरपूर्वको न्यैंकन्तला चारढुंगे, नरसिंह मन्दिरपछाडिको घरको गारोमा रूखको भाग देखेको थिएँ,’ लेखक मल्ल भन्छन्, ‘बुढापाकाले त रूखको टुप्पो भोटाहिटीको साझा भण्डारअगाडिको अन्नपूर्णको पूजाघरसम्म लम्बिएको बताउँथे।’
मानन्धरका अनुसार सो मुढा रहेको स्थानबाट पूर्वतिरको भागमा बाह्र वर्षअघिसम्म घर बनाउँदा जगमा रूखको काठ भेटिएको थियो। ’ उनी भन्छन्, ‘कति लामो छ भन्न नसकिए पनि सामान्य रूखभन्दा केही न केही बढी लम्बाइएको थियो।’
प्राचीन लिखतमा वास्या द्योलाई नाग देवाताको प्रतीकका रूपमा उल्लेख गरिएको छ। मल्ल भन्छन्, ‘वास्या द्योमा पूजा गरिँदा नागपूजाको विधि अपनाइन्छ। पूजामा प्रयोग भएका सामग्री फिर्ता लानु हुन्न भन्ने विश्वास भएकाले पात वा टपरीमा पूजा सामग्री ल्याउने चलन छ।’
अचेल पनि यदाकदा मानिसहरू सिक्का ठोक्न आउँछन्। तर, सिसा ठोकिएपछि मुढामै सिक्का ठोक्ने कार्य रोकिएको छ। त्यसरी आउनेहरूका लागि वडाले वैकल्पिक व्यवस्था गर्ने भएको छ।
‘पुरानो मुढामुनि एउटा काठ ठोकेर मानिसहरूलाई सिक्का गाड्न दिने योजना छ,’ वडाध्यक्ष शाक्यले भने, ‘सयौं वर्षदेखिको परम्परालाई हामीले रोक्ने कुरा आउँदैन। खाली पुरानो मुढाको संरक्षण गर्न मात्र खोजेका हौं।’
रहस्यवादको अभ्यास
नेपालमा तान्त्रिक परम्पराको इतिहास भएको तथा रहस्यवाद पनि जीवनको अंग भएकाले यस्ता प्रचलन चलिआएको विज्ञ बताउँछन्।
‘नेपालमा तन्त्र पराम्पराको लामो इतिहास छ। विगतमा यहाँ ठूला तान्त्रिक थिए। राजाहरू आफैं पनि तान्त्रिक थिए। जामन गुभाजुजस्ता धेरै तान्त्रिक नेपाल खाल्डोमा थिए,’ परम्परागत झारफुकबारे अध्ययन गरेकी प्रा. डा. पुनम राणा भन्छिन्, ‘वास्या द्योको बारेमा पनि केही तान्त्रिक मिथक हुन सक्छ। यसको बारेमा अध्ययन अनुसन्धान हुन सकेको छैन।’
त्रिभुवन विश्वविद्यालय केन्द्रीय संस्कृति विभाग प्रमुख प्राध्यापक मदनकुमार रिमालका अनुसार सबैजसो कार्यमा देवी देवतालाई पूजाअर्चना गर्ने सनातनी परम्परा हो। उनी भन्छन्, ‘देवतालाई पूजाअर्चना गरेपछि तत् विषयमा व्यक्तिको कर्तव्य पूरा हुन्छ भन्ने जनविश्वासको अभिव्यक्ति यस्ता अमूर्त परम्परा हुन्।’
यो संसार कसैको सृष्टि हो भन्ने विश्वास गर्ने रहस्यवादअन्तर्गत पनि दैवी शक्तिलाई खुसी पार्न यस्ता चलन चलिआएको रिमाल बताउँछन्।
‘सिक्कालाई किलाले छेडेर मुढामा ठोक्दैमा दुखेको दाँत निको हुन्छ कि हुँदैन त्यो चिकित्सकीय बहसको विषय होला,’ रिमाल भन्छन्, ‘तर जुनसुकै समाजमा पनि अनौठा लाग्ने प्रचलन हुन्छन् नै। संस्कृति भनेकै विश्वासको आधारमा गरिने क्रियाकलाप हो र यो हाम्रो अनुपम संस्कृतिको एक अंग हो।’
आधुनिक चिकित्सा पद्धतिमा साइकोथेरापी र साइकोएनालाइसिसको जति महत्त्व छ त्यति नै महत्त्व यस्तो प्रचलनको रहेको रिमाल बताउँछन्।
‘अहिले पनि मानिसले भाकल गर्ने गरेका छन्। त्योतिष देखाउने गरेका छन्। त्यसो किन गरिन्छ भने उसलाई विश्वास छ,’ रिमाल भन्छन्, ‘विश्वासका कारणले गरिने कार्यको महत्त्व हुन्छ। कतिपय अभ्यास परम्परा बन्छन्। परम्पराले सांस्कृतिक चेतना र सांस्कृतिक सम्पदा बन्दै जान्छ।’
अहिले त सबै जनताको पहुँचमा सहज र सुलभ स्वास्थ्य सेवा छैन भने विगतमा हुने कुरै भएन। विगतमा परम्परागतरूपमा स्थापित वैद्यहरूलाई उपचार गराउने चलन थियो। तीनको संख्या पनि सीमित नै थियो। त्यही भएर पनि यस्तो अभ्यासले व्यापकता पाएको हुन सक्ने तर्क रिमालको छ।
रिमालको तर्कमा सहमत छन् ८६ वर्षीय संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्ग।
‘अहिले हामी साइकोथेरापी, साइकोट्रिटमेन्ट भन्छौं। उबेलामा यी विधा र नाम थाहा थिएन। हुन सक्छ त्यसकै प्रकटीकरण यस्ता अभ्यास हुन्,’ ग्वङ्ग भन्छन्, ‘यी र यस्ता प्रचलन सही हुन् वा होइनन् भन्नेबारे बहस गर्न सकिन्छ। तर, यी हाम्रा अमूर्त संस्कृतिका अंग हुन्। यिनको संरक्षण गर्नुपर्छ।’
ग्वङ्गका अनुसार काठमाडौंमा स्वास्थ्य र दीर्घायूको लागि अन्य देवीदेवतालाई पनि पूजा गर्ने चलन छ। उनका अनुसार विफर हुँदा पशुपति क्षेत्रको शीतलामाई, कान दुख्दा कुपण्डोलको कानदेवतास्थान, शिशुको सुस्वास्थ्यको लागि भाटभटेनी मन्दिर र स्वयम्भू अजिमा, सन्तानप्राप्तिको लागि ललितपुर, बाँडेगाउँको सन्तानेश्वर र काठमाडौंको ज्ञानेश्वर महादेव, नागदोष तथा चर्मदोष भएमा कुम्भेश्वरमा पूजा गर्ने प्रचलन छ।
२५ वर्षअघि र अहिलेको विवाह संस्कारमै आमूल परिवर्तन आइसकेको बताउँदै उनी भन्छन्, ‘पुराना संस्कृति र चालचलन मासिए पनि स्थानीय तहले आफ्नो क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नु सराहनीय हो।’
दाँत बनाउन किलागल
संयोग के छ भने वास्या द्यो रहेकै क्षेत्रमा दाँत बनाउने ठाउँ छन्। नक्कली दाँत बनाउने नेपालको पुरानो ठाउँ किलागल हो।
‘किलागलमा दाँत बनाउने पेसा परम्परादेखि नै स्थानीय राजभण्डारीहरूले गर्दै आएको पाइन्छ,’ मानन्धर भन्छन्, ‘राजभण्डारीहरूले पुस्तौनी पेसाका रूपमा सो काम गर्दै आएको पाइन्छ।’
किलागलको दाँत बनाउने ठाउँ र वास्या द्योको सम्बन्धबारे कुनै प्रमाण नभेटिए पनि यी दुवैको आफ्नै ऐतिहासिक महत्त्व छ।