होटल व्यवस्थापन अध्ययन गरेका जनशक्ति रोजगार बजारमा गएर आफ्नो दक्षता प्रस्तुत गर्न सकेको अवस्था छ कि छैन ?
होटल व्यवस्थापन शिक्षा गरिखाने कामकाजी विषय भएकाले यसतर्फका जनशक्तिको माग बढ्दो छ। जहाँ अध्ययनकै क्रममा विद्यार्थीले आवश्यक सिप सिक्ने भएकाले यो विषय अध्ययन पश्चात प्रसस्त रोजगारीका अवसरहरु प्राप्त हुन्छन्। अध्ययनसँगै सिप सिकेका विद्यार्थी बेरोजगार हुनुपर्ने अवस्था छैन।
नेपाली र विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजको शैक्षिक गुणस्तरमा के–कस्तो फरक पाउनुभएको छ ?
शिक्षाको कुनै परिधि हुँदैन। पर्यटनको क्षेत्र पनि सीमित छैन। त्यसैले अवसर पनि विश्वव्यापी छ। नेपालका विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजको शैक्षिक गुणस्तर कम हुने वा विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजको बढी हुने भन्ने पनि हुँदैन। स्वदेशमा रहेका विश्वविद्यालयले समयानुकूल पाठ्यक्रममा परिमार्जन गर्न सके–नसकेको विषय प्रमुख हो।
शिक्षाको गुणस्तर र शैक्षिक आधारलाई हेर्ने हो भने नेपाली विश्वविद्यालयको मात्रै नभएर विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित कलेजका उत्पादनहरु विश्वबजारमा प्रतिस्पर्धी देखिएका छन्। उनीहरुले रोजगार बजारमा आफ्नो क्षमता प्रस्तुत गर्न सकेका छन्।
सबै स्वदेशी विश्वविद्यालयका सम्बन्धनमा सञ्चालित कलेज राम्रा वा विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेज राम्रा भन्ने हुँदैन। विदेशी विश्वविद्यालयको सम्बन्धन भए पनि कुन अवस्थाको, कुन देशको के विषय अध्ययन गराउने विश्वविद्यालय हो, कस्तो प्रकृतिको सम्बन्धन हो, हरेक कुराले शैक्षिक गुणस्तर निर्धारण गर्छ। विश्वमा आफ्नो पहिचान बनाउन सफल, विश्वको उपल्लो श्रेणीमा रहेकोे विश्वविद्यालय हो भने त्यहाँको शैक्षिक गुणस्तर उत्कृष्ट हुन्छ।
विद्यार्थीले विदेशी विश्वविद्यालयको डिग्री किन लिने ?
विश्वविद्यालयले अध्यापन गराउने कोर्स सर्वमान्य छ भने त्यसलाई राजदूतावास र सरकारको शिक्षा हेर्ने निकायले मान्यता दिएको छ भने त्यसलाई मान्न सकिन्छ। अन्तर्राष्ट्रिय रुपमा पहिचान बनाइसकेको विश्वविद्यालयले नेपालमा साझेदार खोज्नु राम्र्रो विषय हो। त्यस्तो विश्वविद्यलायको शैक्षिक गुणस्तर, भौतिक शैक्षिक पूर्वाधार पनि सम्बन्धित विश्वविद्यालयले नियमन गर्ने गर्छन्। त्यस्ता कलेजमा अध्ययन गर्दा विद्यार्थीले इन्टरनेशनल एक्सपोजर पाउनुका साथै अन्तर्राष्ट्रिय रोजगार बजारमा काम सजिलै पाउँछन्। नाम मात्रै छुट्टै होइन। त्यो एउटा कमिटमेन्ट पनि हो।
विद्यार्थीले बीएचएम नै किन रोज्ने ?
पहिले पढाइमा कमजोर हुनेले होटलतर्फको शिक्षा आर्जन गर्ने भन्ने सोच थियो। अहिले यसमा परिवर्तन भएर पढाइमा अब्बल विद्यार्थीले बीएचएम अध्ययन गर्ने गरेका छन्। उनीहरुले आफ्नो दक्षता प्रस्तुत गर्न सक्छन्। बीएचएम पर्यटनसँग जोडिएको विषय हो। नेपालमा आवश्यक हस्पिटालिटी उद्योगतर्फका जनशक्ति उत्पादन गर्न बीएचएम अध्ययन गर्नु महत्वपूर्ण हुन्छ। नेपालमा विभिन्न किसिमका होटल उद्योगहरु विकास हुने क्रममा छन्।
बीएचएम अध्ययन गरेका जनशक्ति बेरोजगार हु्नुपर्ने अवस्था छैन। अन्य व्यवस्थापन संकायका विद्यार्थी भन्दा पनि बीएचएम अध्ययनपश्चात विद्यार्थी स्वभावले पनि अलि फरक देखिन्छन्। नेपालमा होटल व्यवस्थापनतर्फका जनशक्तिको माग बढ्दो क्रममा छ। उच्च शिक्षा, अन्तर्राष्ट्रिय मान्यता, रोजगारीको अवसरका हिसाबले पनि विद्यार्थीले बीएचएमलाई रोज्ने गरेका छन्। हाम्रो दैनिक व्यवहारमा नै हस्पिटालिटी मिसिएको हुनाले नेपाली विद्यार्थीलाई व्यावसायिक रुपमा सहज हुन्छ। ज्ञान आर्जन गर्ने, काम सिक्ने र व्यवहारमा लागू गरेर देखाउने यी तीनवटा कुरालाई समायोजन गर्न सकियो भने एउटा दक्ष हस्पिटालिटी उद्योगलाई आवश्यक पर्ने जनशक्ति उत्पादन हुन्छ। एउटा दक्ष कामदारलाई रोजगारीको लागि कुनै दायरा हुँदैन।
अभिभावकले आफ्ना सन्तानले बीएचएम अध्ययन गरुन् भन्ने चाहना राखेको अवस्था हो ?
अभिभावकलाई आफ्नो सन्तानले राम्रो ठाउँमा रोजगारीको अवसर पाओस्। अनुशासित बनोस् भन्ने चाहना हुन्छ। यो विषय अध्ययन गर्न विद्यार्थीलाई अभिभावकले बुझेर वा विद्यार्थी आफ्नै रोजाइले भए पनि यो विषय अध्ययन गर्छ। उसले यसका अवसरका बारेमा बुझेको हुन्छ। अभिभावकले पनि अध्ययनपश्चात रोजगारी र व्यक्तित्व विकाससँगै अनुशासित हुने बारेमा बुझेपछि आफ्ना सन्तानलाई यस पेसामा अघि बढाएको अवस्था छ। कसैले भने स्वरोजगार र पुर्खौली पेशालाई अघि बढाउन पनि यो विषय अध्ययन गर्ने गरेका छन्।
नेपालमा बीएचएम शिक्षाको विकासक्रमलाई कसरी लिनुहुन्छ ?
पहिले होटल व्यवस्थापन विषय व्यवस्थापन संकायको प्रमुख विषयको रुपमा स्थापित थिएन तर अहिले होटल व्यवस्थापन विषयको आफ्नो छुट्टै पहिचान बनिसकेको अवस्था छ। पहिले यो पढ्नैपर्ने विषय हो भन्ने थिएन तर अहिले रोजगारीको हिसाबले सुनिश्चित पेसाको रुपमा बीएचएमलाई लिन थालिएपछि भने यसको आफ्नो छुट्टै पहिचान बनेको छ। हस्पिटालिटी उद्योगको एउटा राम्रो व्यवसायी बन्न यो विषय अध्ययन गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ।
नेपालको रोजगार बजार नेपालमा उत्पादन भएका जनशक्तिलाई रोजगारीको अवसर प्रदान गर्न सक्ने अवस्थामा पुगेको छ कि छैन ?
नेपालको रोजगार बजारमा म्यानेजर भन्दा पनि सीप जानेका दक्ष जनशक्तिको आवश्यकता हो। यो व्यावसायिक शिक्षा भएकाले जे काम गर्ने हो त्यही अनुसार नै आफ्नो भविष्यको बाटो तय हुन्छ। नेपालमा अध्ययन गरेका विद्यार्थी अध्ययनसँगै सीप सिकेर दक्ष बनेका जनशक्तिको माग नेपालमा मात्रै नभएर विदेशमा पनि छ।
बीएचएम अध्ययन गरेका विद्यार्थीका लागि रोजगारीका क्षेत्रहरु केके हुन् ?
हस्पिटालिटी उद्योगभित्रै थुपै्र विधाहरु छन्। होटलभित्रै पनि १२ भन्दा बढी डिपार्टमेन्टहरु हुन्छन्। फ्रन्ट अफिस, हाउसकिपिङ, सर्भिस, रुम, रेष्टुरेन्ट र किचनसहित मार्केटिङ, अकाउन्टिङ, पर्चेज, आईटी, एचआर लगायतका डिपार्टमेन्ट हुन्छन्। यी डिपार्टमेन्टमा काम गर्न सक्छन् भने होटलका अलावा व्यवस्थापन संकायतर्फका जनशक्ति आवश्यक पर्ने क्षेत्रहरु एयरलाइन्स, इन्स्योरेन्स कम्पनी, सुपरमार्केट, कूटनीतिक नियोग, ट्राभल, टिकेटिङ, बैंकिङ लगायतका क्षेत्रमा रोजगारीका अवसर पाउँछन्।
काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा पनि प्रोफेसनल बीएचएम कोर्स सञ्चालन गर्दै हुनुुहुन्छ । यो कस्तो कोर्स हो ?
काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित यो कोर्स न्यून आय भएका काम गर्दै पढ्ने विद्यार्थीहरुलाई लक्षित हो। बीएचएम अध्ययन गर्ने चाहना भएका तर आर्थिक स्थिति कमजोर भएका विद्यार्थीले यो कोर्स अध्ययन गर्न सक्छन्। उनीहरुले अध्ययनमात्रै होइन, काम सिक्नु र कमाइ गर्नु प्रमुख हो। न्यूनतम मूल्यमा आफ्नो दक्षता विकास गर्दै रोजगारीको अवसर प्राप्त गर्छन्। यो पूर्ण व्यावसायिक कोर्स हो।
यो विषय अध्ययन गर्न आर्थिक रुपले कमजोर तर काम गर्न सक्ने, कक्षा १२ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्छ। यो विषय अध्ययन गर्न ४ वर्ष लाग्छ भने न्यूनतम ५ लाख खर्च हुन्छ। तर विद्यार्थीले यो रकम काम गरेर विस्तारै तिर्दै जाने हो। यसमा दैनिक रुपमा कक्षामा सहभागिता नहुने विद्यार्थीले पनि अध्ययन गर्न पाउँछन्। यो विशिष्टिकृत शिक्षा भएकाले विद्यार्थीलाई चाहिने विषय अनुसार अध्यापन गराइन्छ। विद्यार्थी अध्ययनकै क्रममा काम गर्ने भएकाले आफूले रोजेको विधामा दक्ष बन्छन्। यो विषय एक पटकमा ३० जनाले मात्र अध्ययन गर्न पाउँछन्। अन्तर्वार्ताको माध्यमबाट विद्यार्थी छनोट गरिन्छ। यो विषय विदेशी विद्यार्थीले पनि अध्ययन गर्न पाउँछन्।
कक्षा १२ उत्तीर्ण गरेर बीएचएम अध्ययन गर्न चाहने विद्यार्थी एवं तिनका अभिभावकलाई के भन्नुहुन्छ ?
अहिले होटल व्यवस्थापनतर्फका जनशक्तिको आवश्यकता बढ्ने क्रममा छ। हामीले स्विस स्कुलको बीएचएम कोर्स अध्यापन गराइरहेका छौँ। कोभिड १९ का कारण नेपालमा मात्रै नभएर विश्वभरि नै होटल व्यवसाय लामो समयसम्म सञ्चालन हुन सकेनन्। अहिले विस्तारै खुल्ने प्रक्रियामा छन्। होटल व्यवस्थापन शिक्षाको अवस्था हेर्ने हो भने अहिले कोरोना कहरले केही प्रतिकूल अवस्था देखिए पनि यो व्यवस्थापन संकायको लाइफ स्किल सिकाउने विधा भएकाले यसमा भविष्य सुनिस्चित छ।
अहिले अध्ययन गर्ने विद्यार्थीका लागि सम्भावना बढ्दो नै हुन्छ। त्यसैले पर्यटन उद्योगको विकासका लागि दक्ष जनशक्ति र पूर्वाधारको आवश्यता पर्छ। यसरी आवश्यकता परिपूर्तिसँगै विकास हुँदै जान्छ। नेपालजस्तो राम्रो हावापानी भएको देश पर्यटकीय हिसाबले पनि प्रचुर सम्भावना बोकेको हुनाले यहाँ होटल व्यवस्थापनतर्फका जनशक्तिको माग बढ्दै जान्छ। त्यसैले बीएचएम अध्ययन गरेर आफ्नो भविष्य सुनौलो बनाउन सल्लाह दिन्छु।