नेपालमा होटल व्यवस्थापन शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दो क्रममा छ। बहुआयामिक विषय र रोजगार बजारमा जनशक्तिको माग बढेसँगै स्वदेशी तथा विदेशी विश्वविद्यालयको सम्बन्धनमा होटल व्यवस्थापन विषय अध्यापन हुने शिक्षालयहरु स्थापना हुने क्रममा छन्।
यस्तै शिक्षालयहरुको भिडमा अष्ट्रियाको साल्जबर्ग विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित इन्टरनेसनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आईएसटी)ले होटल व्यवस्थापनतर्फका दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ। सन् २००४ मा स्थापित यस कलेजले अहिलेसम्म स्नातक तहका होटल व्यवस्थमपनतर्फका एक हजार भन्दा बढी विद्यार्थीे उत्पादन गरिसकेको छ। नेपालको शिक्षा क्षेत्रमा होटल व्यवस्थापन तर्फका दक्ष जनशक्ति उत्पादन गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस कलेजकी प्रिन्सिपल सम्झना बस्न्यातसँग नेपाल समयका विपिन पोख्रेलले गरेको कुराकानीको सम्पादित अंशः
बीएचएममा विद्यार्थीको आकर्षण किन बढेको हो ?
नेपालमा विभिन्न विश्वविद्यालयको सम्बन्धनमा होटल व्यवस्थापन विषय अध्यापन भइरहेको छ। नेपालमै बसेर विदेशी विश्वविद्यालयको डिग्री लिने विद्यार्थीको चाहनालाई मध्यनजर गर्दै विदेशी विश्वविद्यालयको सम्बन्धनमा निजी शिक्षण संस्था खुल्ने क्रममा छन्। नेपालमै अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य बोकेका यस्ता कलेजले आम अभिभावक र विद्यार्थीको मन जित्न सफल भएका छन्।
विदेशी विश्वविद्यालयको डिग्री लिएका विद्यार्थी स्वदेशी तथा विदेशी रोजगार बजारमा सहजै फिट भएकाले पनि यसतर्फ विद्यार्थीको आकर्षण बढेको हो।
नेपालमा नै नेपाली विश्वविद्यालयको सम्बन्धनका कलेजले होटल व्यवस्थापन विषय अध्यापन गराइरहेको अवस्थामा विदेशी विश्वविद्यालयको सम्बन्धनमा कलेज सञ्चालन गर्नुपर्ने अवस्था कसरी आयो ?
हामीले धेरै नेपाली विद्यार्थीले विदेशमा गएर होटल व्यवस्थापन विषय अध्ययन गरेको देखेका छौं। नेपाली विद्यार्थीका लागि विदेशमा गएर यी विषय अध्ययन गर्न निकै महँगो पर्न जान्छ। मध्यमवर्गीय परिवारका विद्यार्थीले विदेशी विश्वविद्यालयको डिग्री लिने अवसरबाट वञ्चित हुनुपर्ने अवस्था छ।
नेपाली विद्यार्थीसँगै नेपाली मुद्रा पनि विदेशिने, नेपाली विद्यार्थी विदेश गएपछि उतै बस्ने जस्ता समस्या देखिएकाले दक्ष जनशक्ति पनि स्वदेशमा नफर्किने खतरा बढ्यो। त्यसैले यसलाई रोक्ने पहलस्वरुप हामीले विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमै विदेशी डिग्री दिने व्यवस्था गरेका हौँ।
कलेज स्थापनापछि विदेशी विश्वविद्यालयको डिग्री सहुलियत शुल्कमा नेपालमै लिन सकिने भयो। फलस्वरुप हामीले नेपालमै अन्तर्राष्ट्रिय स्तरको डिग्री दिने कलेजको स्थापना गर्न सफल भयौं।
अन्तर्राष्ट्रिय रोजगार बजारमा फिट हुने जनशक्ति उत्पादन गर्ने हाम्रो उद्देश्य भएकाले हामीले नेपालको नभई विदेशी विश्वविद्यालयको सम्बन्धनमा कलेज स्थापना गरेका हौँ।

विदेशी विश्वविद्यालयको नेपालमा लिइने डिग्रीको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी पनि हुने गरेका छन्। यस्तो प्रकृतिको शिक्षालाई नियमित कक्षा नभई दूर शिक्षाको दृष्टिले पनि हेर्ने गरिएको छ। के भन्नुहुन्छ ?
विदेशी विश्वविद्यालयले अन्तर्राष्ट्रिय रुपमा विभिन्न किसिमका सम्बन्धन दिएका हुन्छन्। नेपालमा पनि दूर शिक्षाको कोर्स अध्यापन भएको अवस्था छ। तर, अष्ट्रियाको साल्जबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्सेसको सम्बन्धन तथा नेपाल सरकार, शिक्षा मन्त्रालयको स्वीकृतिमा सञ्चालित हाम्रो कलेज अनलाइन मोड वा दूर शिक्षा नभई स्नातक तहको ३ वर्षे विशुद्ध शैक्षिक कोर्स हो।
यसलाई त्रिभुवन विश्वविद्यालयले पनि समकक्षता प्रदान गरेको छ। पर्यटन विकासका क्षेत्रमा विश्वमै अग्रस्थानमा रहेको देश अष्ट्रियाको होटल व्यवस्थापन शिक्षा नेपालमै लिन पाउनु ठूलो कुरा हो। यहाँ विश्वविद्यालयका सम्बन्धित विषयविज्ञले आएर अध्यापन गर्ने गरेका छन्।
बीएचएम कस्तो कोर्स हो र नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले यो विषयलाई नै किन रोज्ने ?
बीएचएम विशेष गरेर हस्पिटालिटी म्यानेजमेन्टको कोर्स हो। यो कोर्षमा ८० प्रतिशत व्यवस्थापनका विषय र २० प्रतिशत होटल अपरेसन सम्बन्धि अध्यापन हुन्छ। यो कोर्स अध्ययनपश्चात् होटलमा मात्रै काम गर्नुपर्छ भन्ने छैन। कुनै पनि व्यवसायमा हस्पिटालिटी आवश्यक हुन्छ। बैंक, वित्तीय संस्था, अस्पताल, एयरलाइन्स लगायतका क्षेत्रमा रोजगारीका अवसर छन्।
विद्यार्थीहरु विभिन्न विधामा जान सक्ने भएकाले यो विषय अत्यन्तै उपयोगी छ। उनीहरुले अध्ययनकै क्रममा इन्टर्नसिपसँगै प्राक्टिकल एक्सपोजर पाएका हुन्छन्। होटल व्यवस्थापनतर्फका विद्यार्थी बीएचएम गरेपश्चात् रोजगार बजारका लागि फिट हँन्छन् र सहजै काम गर्न सक्छन्। तर अन्य व्यवस्थापनका विषयमा स्नातकले मात्र रोजगारी पाउने अवस्था छैन। उनीहरुले ऐकेडेमिक स्किलसँगै लाइफ स्किल पनि सिक्ने भएकाले बीएचएम कक्षा १२ उत्तीर्ण गरेर उच्च शिक्षा आर्जन गर्न चाहने विद्यार्थीका लागि उपयुक्त छ।
नेपाली विद्यार्थीहरु अध्ययनपछि विभिन्न देशका होटलमा इन्टर्नसिपका लागि जाने गरेका छन्। उनीहरु सीप सिकेर दक्ष बनेर नेपाल फर्किएको अवस्था छ कि विदेशमा रोजगारी गरेर बस्ने गरेका छन् ?
हामी विद्यार्थीहरुलाई यदि तिमी उच्च शिक्षाका लागि विदेश जान चाहन्छौ भने केही समयका लागि मात्र जाऊ भन्छौँ। उच्च शिक्षा आर्जन गर्न वा तालिम लिएर दक्षता हासिल गर्न छोटो समयका लागि जाऊ र पछि सीप सिकेर दक्षता हासिल गरेर नेपाल फर्क भन्छौँ। नेपाल फर्केर आफ्नो दक्षताअनुसार नै यस व्यवसायमा योगदान पुर्याउन सुझाव दिन्छौँ।
इन्टर्नसिपकै क्रममा रोजगारीको अवसर पाएकाहरु भने उतै बसेर काम गर्ने गरेका छन्। कोही इन्टर्नसिप सकेर नेपाल आएर काम गर्छन् भने कोही उतै काम गर्छन्। हाम्रो उद्देश्य विद्यार्थी अध्ययनपश्चात रोजगारीका लागि तयार होस् भन्ने हो। उसले नेपाल होस् या विदेशमा जहाँ काम गरे पनि हुन्छ।
आईएसटी कलेजका उत्पादनले रोजगार बजारमा कस्तो प्रदर्शन गरेका छन् ? उनीहरुको प्रतिक्रया कस्तो पाउनुभएको छ ?
हाम्रा उत्पादनहरु अहिले पनि नेपालका सबै होटलहरुमा पुगिसकेको अवस्था छ। ५ तारे होटल, बैंक, बिमा, एयरलाइन्स, हस्पिटल, कलेज लगायत विभिन्न क्षेत्रमा गएर हाम्रा उत्पादनले काम गरेको अवस्था छ। हाम्रो ध्येय उनीहरुलाई डिग्री दिने मात्र नभई उनीहरुको व्यक्तित्व विकासमा टेवा पुर्याउने पनि हो। यो हस्पिटालिटी उद्योगमा अनुशासन नै प्रमुख हो। अनुशासित भई काम गर्ने र आफ्नो लक्ष्यअनुरुप अघि बढ्नेका लागि यो क्षेत्र फलदायी छ। हाम्रा उत्पादनले गरेको काम राम्रो भएकाले होटलहरुले स्नातक उत्तीर्ण हुनुअगावै हाम्रा उत्पादनलाई प्रि–बुकिङ गरेको अवस्था छ।

विद्यार्थीले बीएचएम अध्ययन गर्नुपूर्व ध्यान दिनुपर्ने विषय र आईएसटी कलेजमा बीएचएम अध्ययनका लागि गर्नुपर्ने पूर्वतयारी के–के छन् ?
विद्यार्थीहरुले बीएचएम अध्ययन गर्नुपूर्व बुझ्नुपर्ने विषय भनेको आफ्नो साथीले पढ्यो त्यही भएर मैले पनि पढ्ने हो भन्ने सोच्नु हुँदैन। मेरो आफन्त यही पेशामा छन् राम्रै कमाइ छ, त्यही भएर म पनि पढ्न लागेको भन्ने सोच्नु हुँदैन। यो विषय अध्ययनपश्चातका अवसर र रोजगारीका क्रममा दिनुपर्ने समय पनि अरु पेशा भन्दा फरक छ। अध्ययन पूर्व आफूले अध्ययन गर्ने विश्वविद्यालय र अध्यापन हुने विषय, उक्त विश्वविद्यलायले प्रदान गर्ने डिग्री, आफूले अध्ययन गर्ने शिक्षण संस्था र फ्याकल्टी मेम्बरका बारेमा ध्यान दिनुपर्छ।
आईएसटी कलेजमा कक्षा १२ वा सो सरह उत्तीर्ण गर्ने विद्यार्थीले व्यवस्थापन संकाय अन्तर्गतको यो विषय अध्ययन गर्न कक्षा १२ मा डी प्लस ग्रेड ल्याउनुपर्ने हुन्छ भने कलेजमा आएर भर्ना प्रक्रियाको बारेमा बुझ्न सक्छन्। यहाँ भर्ना हुन नेपालका विश्वविद्यालयले लिने प्रवेश परीक्षा उत्तीर्ण हुनुपर्छ भन्ने छैन। हाम्रो छुट्टै प्रवेश परीक्षा हुन्छ, त्यसमा उत्तीर्ण भएर अन्तर्वार्ता पश्चात भर्ना हुन पाउँछन्।
अहिले १२ कक्षा उत्तीर्ण गरेर बीएचएमको अन्तर्राष्ट्रिय स्तरको डिग्री लिन चाहने विद्यार्थीले आईएसटी कलेजलाई नै किन रोज्ने ?
आईएसटी नेपालमा अष्ट्रियाको साल्जबर्ग विश्वविद्यलायको सम्बन्धनमा सन् २००४ बाट सञ्चालित एकमात्र होटल व्यवस्थापनको विश्वविद्यालय अनुदान आयोगबाट मान्यताप्राप्त कलेज हो। आयोगको गुणस्तर मापदण्ड पास गर्नु आफैँमा चुनौतीपूर्ण छ। त्यसैले हामीले प्रदान गर्ने शिक्षा गुणस्तरीय छ भन्ने एउटा मापन यो पनि हो। यो कलेज नेसनल रेटिङ अवार्डमा पनि ३ वर्ष लगातार बेस्ट होटल म्यानेजमेन्ट कलेज घोषित भएको छ।
नेपालमा विदेशमा गएर इन्टर्नसिप गराउने यो पहिलो कलेज हो। हामीले हस्पिटालीटी मार्केटमा विश्वबजारमा के भइरहेको छ भनेर पढाइको दौरान होस् वा उत्तीर्ण गरेपश्चात उनीहरुलाई परिचित गराउँछौँ। हाम्रा स्नातकहरु अहिलेसम्म बेरोजगार भएर बस्नुपरेको अवस्था छैन। हाम्रा विद्यार्थीले इन्टर्नसिपपश्चात गरेका कामका उदाहरण नै हाम्रा लागि गुणस्तरका मापक हुन्। विद्यार्थीहरुले ६ सेमेस्टरको तीन वर्षे कोर्समध्ये ४ वटा सेमेस्टर २ वर्षसम्म कलेजमा र एक वर्ष इन्टर्नसीप गरिसकेपछि विश्वविद्यालयको परीक्षा उत्तीर्णपश्चात दीक्षित हुन पाउँछन्।
हाम्रो दिक्षान्त समारोह नेपालमै हुन्छ। दिक्षान्त समारोहमा हाम्रो विश्वविद्यलायको पदाधिकारी र प्रतिनिधि, शिक्षा मन्त्रालयका पदाधिकारी, नेपालका विश्वविद्यालयको प्रतिनिधिलगायतका प्रवुद्ध व्यक्तित्वहरुको उपस्थिति हुन्छ।
हाम्रो विश्वविद्यालयको कोर्स समयानुकूल परिमार्जित हुनुका साथै बहुआयामिक खालको छ। अहिलेको परिस्थितिसँग पनि मिल्दोजुल्दो इ–टुरिजम, इ–लर्निङ, ओपन विन्डो, रुरल टुरिजम, सस्टेनेबिलिटी, इभेन्ट म्यानेजमेन्ट जस्ता विषय समावेश छन्। यहाँ एउटा सेमेस्टरमा १० देखि ११ वटा विषय अध्यापन हुन्छ।
हामीले प्रयोगात्मक कक्षा सञ्चालन गरेका छौँ, जसमा फुड एण्ड वेभरेज, बेकरी, बारिस्टा, बार, होटल रिजर्भेसन जस्ता काम पर्छन्। यी काम सिकिसकेपछि मात्र इन्टर्नसिपका लागि विद्यार्थी जाने गरेका छन्। शिक्षालाई कक्षाकोठाको ज्ञानमा मात्रै सीमित नगराई जीवनोपयोगी विषयसँग जोड्न सकेकाले पनि आईएसटी कलेज विद्यार्थीको रोजाइमा पर्न सफल भएको हो।