आइतबार, असोज ४, २०८३

बीएचएमको पाठ्यक्रममा परिमार्जन आवश्यक छ : सूर्यकिरण श्रेष्ठ

सबै जनशक्ति पाँचतारे होटलमा खपत हुँदैनन्। त्यसैले सबै तहलाई समेट्ने गरी पाठ्यक्रमको डिजाइन गर्न आवश्यक छ।
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

नेपालमा होटल व्यवस्थापनमा स्नातक (बीएचएम) को पठनपाठन कहिलेदेखि सुरु भएको हो?

होटल व्यवस्थापन शिक्षासम्बन्धी जनशक्तिको आवश्यकता महसुस गरेर २०२९ सालमा श्रम मन्त्रालयअन्तर्गत होटलसम्बन्धी तालिम दिने उद्देश्यले एचएमटीटीसीको स्थापना भएको हो। विकास समिति ऐनअन्तर्गत स्थापना भएको एचएमटीटीसी अहिले नाथमका रूपमा परिवर्तन भएको छ। यसले बीएचएम र बीटीटीएम अध्यापन गराउँदै आएको छ। 

सुरुमा यूएनडीपी आईएलओ प्रोजेक्टका विज्ञको सहयोगमा होटल व्यवस्थापनतर्फको जनशक्ति उत्पादन गरिएको थियो। एचएमटीटीसीले कुक, वेटर, फ्रन्ट डेक्स अफिसर, हाउसकिपिङ, ट्राभल एन्ड टुरतर्फ ट्रेकिङ गाइड, टुरिस्ट गाइड, रिभर गाइड, टिकेटिङतर्फका जनशक्ति उत्पादन गरेको थियो। त्यहाँ कक्षा १० उत्तीर्ण विद्यार्थीले तालिम लिन्थे। 

सन् १९९९ सम्ममा यस्ता जनशक्ति नाथमले मात्र उत्पादन गथ्र्यो। यसरी होटल व्यवसायका तल्लो तहका जनशक्ति उत्पादन गरे पनि मध्यम स्तर अझ भनौं म्यानेजर लेभलका जनशक्ति उत्पादन हुन सकेको थिएन।

यसै आवश्यकतालाई ध्यान दिएर त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा नाथमले स्नातक तहको बीएचएम कोर्स सञ्चालन गरेको हो।

पोखरा विश्वविद्यालयले त्रिविले सुरु गर्नुभन्दा दुई महिनाअघि नै बीएचएम अध्यापन सुरु गरेको थियो। पोखरा विश्वविद्यालयले चारवर्षे र त्रिविले तीनवर्षे कोर्स सञ्चालन गरेका हुन्। 

पछिल्लो समय विदेशी इन्स्टिच्युटको सम्बन्धनमा नेपालमा थुप्रै ट्रेनिङ सेन्टर र कलेज खुलेका छन्। अहिलेसम्म सबै गरेर ६ हजारभन्दा बढी जनशक्ति उत्पादन भएका छन्।

तालिम प्रदायक संस्था पनि बढे। दक्ष जनशक्ति उत्पादनमा आवश्यकता बढ्दै गयो। त्यसैले अहिले बीएचएम अध्यापन गराउने कलेजबीच प्रतिस्पर्धा तीव्र छ। 

होटल व्यवस्थापनमा स्नातक जनशक्तिको लक्षित रोजगार बजार केके हुन्?

बीएचएम अध्यापनको मूल उद्देश्य होटल व्यवस्थापनतर्फका दक्ष जनशक्ति उत्पादन गरेर नेपालमै रोजगारीका अवसर सिर्जना गर्नु हो। यो नेपालको होटल उद्योगको विकासका लागि अध्यापन गराइने कोर्स हो। 

विडम्बना नै भन्नुपर्छ– नेपालमा बीएचएम गरेका जनशक्ति रोजगारीका लागि विदेश गएको अवस्था छ। ७० प्रतिशतभन्दा बढी जनशक्ति विदेश गएका छन्। नेपालमा पारिश्रमिक कम भएकाले पनि उनीहरु विदेश गएका हुन्।

होटल म्यानेजमेन्टमा स्नातक भएपछि विद्यार्थी जुनसुकै सेक्टरमा पनि जान सक्छन्। यहाँ छोटो अवधिको कोर्स गर्नेहरुको पनि विदेशमा माग बढेको छ। राज्यको उद्देश्यअनुसार अघि नबढे पनि अध्ययनपछि बेरोजगार हुनुपरेको अवस्था छैन। उनीहरुले तारे होटलसँगै रेस्टुराँ, रिसोर्ट, लज, एअरपोर्ट लगायतका अतिथि सत्कार गर्नुपर्ने विभिन्न उद्योगमा रोजगारी पाएका छन्। 

स्नातकमा विद्यार्थीले बीएचएम नै पढ्नुको कारण के देख्नुहुन्छ?

विद्यार्थीले विदेश जाने रहरले बीएचएम अध्ययन गर्ने गरेका छन्। नेपालमा एमएचएम अध्यापन गराउने कलेजको संख्या कम छ। नेपालमा भन्दा विदेशी विश्वविद्यालयमा अध्ययनको सम्भावना बढी देखिएकाले विद्यार्थीले बीएचएम अध्ययन गर्ने गरेका छन्। 

यो विषय पढ्न सहज हुन्छ, चाँडै डिग्री पाइन्छ भनेर पढ्ने पनि छन्। पढ्नुको मूल उद्देश्य त होटल व्यवस्थापनमा करिअर बनाउनु हो।

पढाइपछि कुक, वेटर, म्यानेजर मात्र होइन आफैंले रेस्टुरेन्ट र होटल पनि खोल्न सकिन्छ। यस्तै कतिपयले विदेशी पर्यटकसँग घुलमिल हुन पाइन्छ भनेर पनि यो विषय अध्ययन गर्ने गरेका छन्। 

नेपाली विश्वविद्यालयको बीएचएमको पाठ्यक्रम बजारको मागअनुसार छ त? 

होटल व्यवस्थापनको पढाइ विश्वविद्यालयले सञ्चालन गर्नु हुँदैनथ्यो। यो त काम गर्दै सिक्ने विषय भएकाले त्यहीअनुरुप लैजानुपर्ने थियो।

ऐकडेमिक कोर्समा गणित, तथ्यांकशास्त्रजस्ता विषय पनि समावेश छन्। यसले  विद्यार्थीको ध्यान अन्यत्र केन्द्रित हुन्छ। त्यसैले बीएचएमको पाठ्क्रयम दक्ष जनशक्ति उत्पादन गर्ने भन्दा पनि ऐकेडेमिक कोर्स बन्न पुगेको छ। ५० प्रतिशत इन्डस्ट्रियल प्राक्टिस र ५० प्रतिशत इस्न्टिच्चुसनल कोर्स हुनुपर्छ। विद्यार्थी सैद्धान्तिक ज्ञानमा त्यति रमाइरहेका छैनन्। काम गर्दै पढाउन सकियो भने मात्र प्रभावकारी हुन्छ। विश्वविद्यालयको मापदण्डअनुसार परीक्षा सञ्चालन, नतिजा प्रकाशन जस्ता प्रक्रिया हुन्छन्। 

त्यसैले हामीले अन्तर्राष्ट्रिय स्तरको डिग्री दिन सकेका छैनौं। अर्को समस्या, हाम्रा उत्पादन अफसिजनमा तयार हुन्छन्। उनीहरुले पढाइ सक्नेबित्तिकै काम पाइहाले पनि सिक्न पाउँदैनन्। भर्ना र नतिजा प्रकाशनको समय पनि परिवर्तन गर्नुपर्छ। यसलाई विश्वविद्यालयको कोर्सभन्दा इन्स्टिच्युसनल रुपबाट लानुपर्छ। यसमा ८० प्रतिशत प्रयोगात्मक र २० प्रतिशत सैद्धान्तिक ज्ञान राख्दा प्रभावकारी हुन्छ।

बीएचएम पढेपछि रोजगारीका क्षेत्र केके हुन्? रोजगार बजारले खोजेजस्तो जनशक्ति उत्पादन भएका छन्?

बीएचएम भन्दा पनि ब्याचलर अफ ह्युमन रिसोर्स म्यानेजमेन्ट इन हस्पिटालिटी इन्डस्ट्री हुनुपर्ने हो। बीएचएम मात्र हुँदा विद्यार्थीले काम गर्ने ठाउँ होटल मात्र हो भन्ने बुझेका छन्। बीएचएम पढ्नुको उद्देश्य होटलमा मात्र नभएर रिसोर्ट र क्याटरिङमा पनि काम गर्ने जनशक्ति उत्पादन गर्नु हो। कलेजहरुले पनि होटलमा केन्द्रित जनशक्ति उत्पादनमा ध्यान दिइरहेका छन्। फ्रन्ट अफिस, हाउस किपिङ, किचन, फुड एन्ड वेभरेज सर्भिसेज, मार्केटिङ, ह्युमन रिसोर्स, पर्चेज स्टोर्स लगायतका जनशक्ति उत्पादनमा कलेजको ध्यान गएको छैन। 

मुस्कानसहितको सेवा दिने सबै ठाउँमा पनि होटल व्यवस्थापनतर्फका जनशक्ति आवश्यक छ। कलेजको ध्यान सबै ठाउँमा फिट हुने जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्छ। सबै जनशक्ति पाँचतारे होटलमा खपत हुँदैनन्। त्यसैले सबै तहलाई समेट्ने गरी पाठ्यक्रमको डिजाइन गर्न आवश्यक छ।

रिट्ज कलेजमा बीएचएम अध्ययन गरेका विद्यार्थीले रोजगारीको अवसर पाएका छन् कि छैनन्?

अध्ययनसँगै काम गर्न पनि सिकाइने भएकाले रिट्ज कलेजका विद्यार्थीले जागिर पाएका छन्। हामीले होटल उद्योगसँग सम्झौता गरेका छौं। त्यसैले यहाँ अध्ययन गरेका जनशक्तिले अध्ययनकै क्रममा रोजगारीका अवसर पाएका छन्। अध्ययनपछि एक जना पनि बेरोजगार हुनुपरेको अवस्था छैन। कतिपय जनशक्ति विदेश गएका छन्। कसैले उच्च शिक्षा स्नातकोत्तर (एमएचएम) गरेका छन्। 

बीएचएम अध्ययन गर्न चाहने विद्यार्थीले रिट्ज कलेजलाई नै किन रोज्ने?

विद्यार्थीले कक्षा १२ उत्तीर्ण गरेपछि स्नातक तहमा जुनसुकै विषय पनि अध्ययन गर्न सक्छन्। हामीले पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर पठनपाठन गरिरहेका छौं। बीएचएम पढ्ने विद्यार्थी बेरोजगार हुनु पर्दैन। पढ्दै गर्दा काम पाइने व्यावसायिक शिक्षा भएकाले आफूले गरेको लगानी सुरक्षित हुन्छ।

चार वर्षमध्ये तीन वर्ष कलेजमा र एक वर्ष इन्टर्नसिप गर्नुपर्छ। कतिपयले इन्टर्नसिप गर्दै गर्दा रोजगारी पाएका छन्। काम सुरु गरेपछि फिर्ता हुनु पर्दैन। बीएचएममा विषयगत विशिष्टता भएकाले पनि यस कलेजलाई रोज्न सल्लाह दिन्छु।  

 

प्रकाशित: Feb 03, 2021| 11:23 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बीआईएम : आईटी र व्यवस्थापनको संयोजन 

ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बीआईएम) आईटी र व्यवस्थापन मिलेर बनेको बहुआयामिक विषय हो। 

उद्यमी बन्न सिकाउने  ‘बीबीएम’ 

बीबीएमले उद्यमशीलतालाई प्राथमिकता दिएको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले बताए। 

बीएससी सीएसआईटी विश्वभर माग भएको विषय हो : जीवन ढुंगेल

बीएससी सीएसआईटी सूचना प्रविधिको क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्न सैद्धान्तिक, व्यावहारिक र प्राविधिक पक्षमा पर्याप्त ज्ञान प्रदान गर्ने उद्देश्यले विकसित गरिएको कोर्स हो।

पाठ्यक्रमलाई बजारसँग जोड्न आवश्यक छ : मधुकर पाण्डे

पाठ्यक्रमलाई बजारसँग जोड्दै माग अनुसारको जनशक्ति उत्पादन गर्ने गरी परिमार्जन गर्दै लैजानुपर्छ। अनुसन्धानमा जोड दिनुपर्छ। पाठ्यक्रम मौलिक बनाउन जरुरी छ। 

आईटी पढेपछि बेरोजगार हुनुपर्दैन : गंगा सुब्बा

आईटी असीमित सम्भावना बोकेको क्षेत्र हो। त्यसैले स्वदेश, विदेश दुवैमा आईटी पढेका जनशक्तिको माग बढ्दो छ।