बिहीबार, जेठ २१, २०८३

होटल व्यवस्थापन, पढाइ सकिनेबित्तिकै जागिर 

चिटिक्क पहिरन, हँसिलो मुहार र मिजासिलो व्यवहारका कारण हस्पिटालिटी क्षेत्र विद्यार्थीको आकर्षणको केन्द्रमा पर्ने गरेको छ। 
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

होटल र हस्पिटालिटी (आतिथ्य प्रबन्धन) क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने विषय विषय हो– ब्याचलर इन होटल म्याजेनमेन्ट (बीएचएम)। 

National life

कम्युनिकेसन स्किल बढाउन र आतिथ्य क्षेत्रमा करिअर बनाउन चाहने विद्यार्थीका लागि कक्षा १२ पछि बीएचएम एउटा उत्तम विकल्प हो। 

बीएचएममा आतिथ्य उद्योगका विभिन्न आयामबारे सिकाइन्छ। यसमा भोजन र पेय पदार्थ तयार पार्ने, हाउस किपिङ अपरसेन, फ्रन्ट अफिस अपरेसन, कर्पोरेट फाइनान्स, सेल्स, मार्केटिङ, पब्लिक रिलेसनबारे सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिइन्छ।

नेपालमा होटल व्यवस्थापनको स्नातक तहमा चारवर्षे कोर्स पढाइ हुन्छ।  ८ सेमेस्टरमा अध्यापन हुने यो विषयमा सबै विश्वविद्यायले कुल विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिँदै आएका छन्। 

नेपाली विद्यार्थीमाझ लोकप्रिय बन्दै गएको यो विषय नेपालकै विश्वविद्यलायबाट सम्बन्धन लिएका २९ वटा कलेजले पढाउँदै आएका छन्।

Shivam cement

त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्धन लिएका यी कलेजमा करिब १३ सय विद्यार्थीले होटेल व्यवस्थापन विषय अध्ययन गरिरहेका छन्।

पूर्वाञ्चल विश्वविद्यालयले ब्याचलर अफ हस्पिटालिटी एन्ड क्याटरिङ म्यानेजमेन्ट (बीएचसीएम) अध्यापन गराउँदै आएको छ। 

यसका अतिरिक्त अमेरिका, अस्ट्रिया, स्विट्जरल्याण्डका विभिन्न विश्वविद्यालय र इन्स्टिच्युटसँग सम्बन्धन लिएर सञ्चालनमा रहेका कलेजले पनि बीएचएम पढाइरहेका छन्। 

नेपालमा विदेशी विश्वविद्यालयको सम्बन्धनमा स्नातक तह अध्यापन हुने १० वटा कलेजमा करिब ५०० विद्यार्थीले अध्ययन गर्छन्। 

पछिल्लो समय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले पनि यस विषयको डिप्लोमा कोर्स सञ्चालन गर्ने तयारी गरेको छ।

सन् १९९८ मा उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ मा ११३ जना विद्यार्थी लिएर प्लस टू तहमा होटेल म्यानेजमेन्ट विषय अध्यापन सुरु गरेको हो। 

पछिल्ला वर्षमा देशका अधिकांश स्कुलमा कक्षा ११ र १२ मा समेत यो विषय अध्यापन हुन थालेको छ। 

होटल म्यानेजमेन्ट विषय लिएर कक्षा १२ उत्तीर्ण गर्ने विद्यार्थीको संख्या उल्लेख्य भएकाले पनि स्नातकमा विद्यार्थीको चाप बढेको छ। 

त्रिभुवन विश्वविद्यालयले लिने प्रवेश परीक्षा (सिम्याट) मा आवेदकको संख्या करिब ६ हजार पुग्ने गरेको नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट (नाथम) का बीएचएम कार्यक्रम संयोजक विनोद अर्याल बताउँछन्। 

त्रिविले सन् १९९९ मा व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेजमेन्ट विषय पढाउन थालेपछि अतिथि सत्कार विषयमा तालिम दिने श्रम मन्त्रालयअन्तर्गतको होटेल म्यानेजमेन्ट टुरिज्म सेन्टरलाई पर्यटन मन्त्रालय मातहतमा ल्याई एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेण्ट (नाथम) स्थापना गरियो। 

नेपालमा पर्यटनसम्बन्धी पढाइ हुने यो सरकारी स्वामित्वको एक मात्र कलेज हो। नाथमले त्रिविसँग सम्बन्धन लिएर बीएचएमको पढाइ सञ्चालन गरिरहेको छ। 

यद्यपि, त्रिविले यो विषय सञ्चालन गर्नुभन्दा दुई महिनाअघि सन् १९९८ को अन्त्यतिर पोखरा विश्वविद्यालयले बीएचएमको पढाइ सुरु गरिसकेको थियो। पछिल्लो समय नेपालमा होटल म्यानेजमेन्टको पढाइ व्यापक बनेको छ। 

स्वदेशी विश्वविद्यालयअन्तर्गत सञ्चालित बीएचएम कोर्स पूरा गर्न तीन लाखदेखि आठ लाख रुपैयाँसम्म खर्च हुन्छ।

चिटिक्क पहिरन, हँसिलो मुहार र मिजासिलो व्यवहारका कारण हस्पिटालिटी क्षेत्र विद्यार्थीको आकर्षणको केन्द्रमा पर्ने गरेको छ। 

होटल व्यवस्थापनका विज्ञ एवम् रिट्ज कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टका कन्सलट्यान्ट सूर्यकिरण श्रेष्ठ भन्छन्, ‘व्यावहारिक अभ्यास हुने, पढाइ सकेलगत्तै काम पाइने, आकर्षक कमाइ हुने र आतिथ्य सत्कारलाई तुलनात्मक रूपमा सजिलो पेसा मानिने हुँदा विद्यार्थीको यसतर्फ आकर्षण बढ्दो छ।’ 

श्रेष्ठका अनुसार नेपालमा प्रत्येक वर्ष उत्पादन हुने बीएचएम पढेको जनशक्ति ठूला तारे होटलमा मात्र खपत नभए पनि यहाँका विदेशी फ्रेन्चाइज रेस्टुराँ, साना होटल, लज, रिसोर्टहरुमा बीएचएम अध्ययन गरेको जनशक्ति खपत भइरहेको छ। यद्यपि, अधिकांश विद्यार्थीले विदेशमै रोजगार पाइरहेको र उच्चशिक्षाका लागि समेत विदेश गइरहेको रिट्ज कलेजका कन्सलट्यान्ट श्रेष्ठ बताउँछन्।

विदेशी विश्वविद्यालयको डिग्री नेपालमै

विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजले नेपालमै पढाएर उतैको डिग्री दिइरहेका छन्। यस्ता कलेजमा अध्ययन गर्दा उच्च शिक्षाका लागि विदेश जान पनि सहज हुने आईएसटी कलेजकी प्रिन्सिपल सम्झना बस्न्यात बताउँछिन्। 

उनी भन्छिन्, ‘नेपाली विद्यार्थीका लागि विदेशमा गएर होटल व्यवस्थापन अध्ययन गर्न महँगो हुन्छ। मध्यमवर्गीय परिवारका विद्यार्थी विदेशी विश्वविद्यालयको डिग्री लिने अवसरबाट बञ्चित हुन नपरोस्, नेपाली जनशक्तिसँगै पुँजी पलायन पनि नहोओस् भनेरै हामीले नेपालमै विदेशी विश्वविद्यालयको डिग्री दिने व्यवस्था गरेका हौं।’ 

विदेशमा इन्टर्नसिप 

बीएचएम पढाउने अधिकांश कलेजले विद्यार्थीलाई इन्टर्नसिपका लागि विदेशी होटलमा पठाउने गरेका छन्। 

विद्यार्थीको चाहना पनि विदेशका होटलमै जाने हुने भएकोले उनीहरुको रोजाइअनुसार विदेश पठाउने गरेको कलेज सञ्चालक बताउँछन्। 

एआईटीम कलेज, खुमलटारमा बीएचएम अध्ययनरत विद्यार्थीका अनुसार  विदेशी होटेलमा इन्टर्नसिप गर्दा राम्रो एक्सपोजर पाइने, विदेशी खानाका परिकार, रहनसहन, संस्कार, संस्कृति, भाषा र भूगोल पनि बुझ्न पाइने भएकाले विद्यार्थीको रुचि विदेश जानुमै हुन्छ। 

रोजगार बजारमा दक्ष जनशक्तिको माग 

विश्वभर अहिले पर्यटक स्तरीय होटलमा करिब डेढ करोड तालिम प्राप्त जनशक्तिले काम गरिरहेको मानिन्छ। यीमध्ये हरेक वर्ष १० प्रतिशतले अवकाश पाउँछन्। 

यो हिसाबअनुसार यी होटेललाई मात्र प्रत्येक वर्ष १५ देखि २० लाख जनशक्ति आवश्यक पर्छ। यता नेपालको पर्यटन क्षेत्र पनि विस्तार हुँदै छ, नयाँनयाँ होटेल, रिसोर्ट खुलिरहेका छन्। त्यसैले नेपालमै काम गर्न वा आफ्नै व्यवसाय सञ्चालनको अवसर पनि उत्तिकै छ।

एआईटीएम कलेजका निर्देशक वसन्त जोशी भन्छन्, ‘होटल म्यानेजमेन्ट अध्ययन गरेको जनशक्तिलाई विश्वभर जहाँ पनि रोजगारीको अवसर छ।’ 

नेपालमा बीएचएम अध्ययन गरेका जनशक्तिको ठूलो माग खाडी मुलुकमा पनि छ ।

मागअनुसार दक्ष जनशक्तिको अभाव 

नेपालमा होटल म्यानेजमेन्टमा स्नातक तह र डिप्लोमा पढाइ हुने कलेज  ५० वटाजति छन्। यी कलेजबाट हरेक वर्ष औसत २५ सय विद्यार्थी दीक्षित हुन्छन्। त्यस्तै तालिम केन्द्रबाट चारदेखि पाँच हजारसम्म जनशक्ति हरेक वर्ष उत्पादन हुन्छ। सबै जोड्दा नेपालमा आतिथ्य सत्कारको क्षेत्रमा बर्सेनि ६ देखि ७ हजार तालिम प्राप्त जनशक्ति उत्पादन हुन्छ। 

एआईटीएम कलेजका निर्देशक वसन्त जोशीका अनुसार नेपालमा अहिले यस क्षेत्रमा न्यूनतम ३० हजार तालिमप्राप्त जनशक्तिको माग छ। तर, नेपालमा उत्पादित जनशक्ति भने अधिकांश विदेशतर्फ गइरहेकाले यो क्षेत्रमा जनशक्तिको अभाव छ।
 

प्रकाशित: Feb 03, 2021| 11:00 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बीआईएम : आईटी र व्यवस्थापनको संयोजन 

ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बीआईएम) आईटी र व्यवस्थापन मिलेर बनेको बहुआयामिक विषय हो। 

उद्यमी बन्न सिकाउने  ‘बीबीएम’ 

बीबीएमले उद्यमशीलतालाई प्राथमिकता दिएको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले बताए। 

बीएससी सीएसआईटी विश्वभर माग भएको विषय हो : जीवन ढुंगेल

बीएससी सीएसआईटी सूचना प्रविधिको क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्न सैद्धान्तिक, व्यावहारिक र प्राविधिक पक्षमा पर्याप्त ज्ञान प्रदान गर्ने उद्देश्यले विकसित गरिएको कोर्स हो।

पाठ्यक्रमलाई बजारसँग जोड्न आवश्यक छ : मधुकर पाण्डे

पाठ्यक्रमलाई बजारसँग जोड्दै माग अनुसारको जनशक्ति उत्पादन गर्ने गरी परिमार्जन गर्दै लैजानुपर्छ। अनुसन्धानमा जोड दिनुपर्छ। पाठ्यक्रम मौलिक बनाउन जरुरी छ। 

आईटी पढेपछि बेरोजगार हुनुपर्दैन : गंगा सुब्बा

आईटी असीमित सम्भावना बोकेको क्षेत्र हो। त्यसैले स्वदेश, विदेश दुवैमा आईटी पढेका जनशक्तिको माग बढ्दो छ।