काठमाडौं – राष्ट्रिय महिला लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले चौदण्डी गढी नगरपालिकाविरुद्ध सानदार जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले पहिलो हाफमै ८–० गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा चार गोल थप्दै उसले १२–० गोलको जित निकालेको हो।
आजको खेलमा प्लेयर अफ दि म्याच भएकी आर्मीकी फरवार्ड थापाले पाँच गोल गरिन्।
त्यस्तै सपना लामाले दोहोरो गोल गरिन् भने हेमा चौधरी, अञ्जली वाइबा, विमला चौधरी, विमला बिके र रश्मी घिसिङले समान १–१ गोल गरे।
सुरुबाटै आक्रामक प्रदर्शन गरेको आर्मीकी हेमा चौधरीले तेस्रो मिनेटमै अग्रता बनाइकी थिइन्।
छैटौं मिनेटमा शर्मिला थापाले गोल गरिन् भने आठौं मिनेटमा अञ्जली वाइबाले टिमका लागि तेस्रो गोल गरिन्।
खेलको १० मिनेटमै ३–० गोलले अघि रहेको आर्मीकी शर्मिलाले १३ औं मिनेटमै व्यक्तिगत दोस्रो गोल गर्दै चार गोलको अग्रता बनाएकी थिइन्।
सुरुदेखि नै दबाबमा रहेको चौदण्डी पहिलो हाफमै दुई पटक खेलाडी परिवर्तन गरायो। तर पनि चौदण्डी खेलमा जम्न सकेन्।
बरु २३ औं मिनेटमा गोल गर्दै शर्मिलाले ह्याट्रिक पूरा गरिन्। थापाले नै २९ औं मिनेटमा गोल गर्दै टिमलाई ६–० गोलको अग्रता दिलाएकी थिइन्।
पहिलो हाफको ३० औं मिनेटमा विमला चौधरीले गोल गरिन् भने ३८ औं मिनेटमा शर्मिलाले व्यक्तिगत पाँचौं गोल गरिन्।
दोस्रो हाफको ७१ औं मिनेटमा रमा चौधरीलाई विस्थापन गर्दै मैदान पसेकी लामाले ८७ र अन्तिम मिनेटमा गोल गरिन्। त्यसअघि ४८ औं र ८४ औं मिनेटमा विमला र रश्मीले गोल गरे।
चौदण्डीलाई पछिल्लो खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले २२–० गोल अन्तरले हराएको थियो।
जितसँगै दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबले ६ खेलमा १३ अंक जोडेको छ। आर्मीले सबै क्लबसँग १–१ खेल सम्पन्न गरेको छ।
आजको दोसो खेल सम्पन्न भएसँगै लिगको आधार खेल सम्पन्न हुनेछन्। आधा लिग सकिँदा एपीएफ क्लब १८ अंकका साथ शीर्षस्थानमा छ भने १३ अंकका साथ आर्मी दोस्रो स्थानमा छ।
पहिलो राउन्ड रोविनको अन्तिम खेलमा आज विराटनगरले नेपाल पुलिसको सामना गर्नेछ। यो खेलमा जित निकाल्ने टिम लिगको तेस्रो नम्बरमा रहनेछ।
महिला लिगको आधा खेल सकिँदा पनि चौदण्डीले सबै खेलमा हार बेहोरेको छ। अहिलेसम्म एक गोल गरेको चौदण्डीले ६३ गोल खाएको छ।