पोखरा– झलकमान गन्धर्वले सांरगी चिनाए। बाटुलेचौर चिनाए। पोखरा चिनाए र नेपाल चिनाए।
गन्धर्व र सारंगी भन्नेवित्तिकै उनैको नाम अगाडि आउँछ। अहिले झलकमान छैनन्। उनका कृति छन्, उनको नाम छ।
पोखरा १६ बाटुलेचौरको गन्धर्व बस्ती नजिकै बाटो छेउमा झलकमानको सालिक छ। नेपाली लोकसंंगीतमा उनको योगदान र उनको संघर्षशील जीवनको चर्चा गरिसाध्ये नहोला।
जीवनको उत्तरार्धतिर झलकमान काठमाडौंको कीर्तिपुर बसाइँ सरे। पोखरामा झलकमानको अभावपूर्ति गरिरहे उनकै भान्ज धनबहादुर गायकले।
सारंगीको महत्व बुझाउँदै यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न धनबहादुर जहिल्यै क्रियाशील रहे।
गीत संकलन, गायन, वाद्यवादन, नृत्य, अभिनय, प्रशिक्षणमा व्यस्त रहन्थे उनी।
पोखरा महानगरको जागिरबाट भने केही समय अगाडि अवकाश लिएर सारंगीको संंरक्षणमा जुट्ने बताउँदै आएका धनबहादुर सबैलाई झुक्याएर परलोक भए।
५६ वर्षे धनबहादुर घर नजिकैको कालीखोलामा नुहाउन गएका बेला चिप्लिएर लडेका थिए। लगत्तै उनलाई अस्पताल पुर्याइयो। मस्तिष्कमा रगत जमिसकेका कारण मणिपाल मेडिकल कलेजका चिकित्सकको प्रयासका बावजुद गएको सोमबार धनबहादुरको निधन भयो।
रेडियो नेपालको एकछत्र प्रभाव भएका बेला निकै सुनिने गीत हो ‘यो दाजुको मिर्मिरे आँखा’। जुन गीतमा प्रवीण गुरुङ र बिमाकुमारी दुराको स्वर छ। यो गीतको शब्द संकलक हुन् धनबहादुर।
‘यो मायालाई हिजै हो देखेको, देब्रे गाला चन्द्रमा लेखेको, फूल मायामा नभुल’, ‘बेली र चमेली’, ‘घर राम्रो मकैको सुलीले’, ‘पानीको कलधारा बेइमानीको संगतै नगर बिग्रेला घरबार,’ लगायत गीतको शब्द संकलन उनै धनबहादुरले गरेका हुन्।
त्यसो त जसरी यी गीत चर्चामा आए त्यसरी धनबहादुरको नाम भने चर्चामा आएन।
गायकको नाम चर्चामा आउँदा शंब्द संकलक र रचनाकार ओझेलमा पर्नु यहाँ सामान्य विषय हो। धनबहादुरका हकमा पनि यही नियति लागू भयो।
गाउँघर, भिरपाखाका लोकभाका टपक्क टिप्पेर त्यसमा केही लय मिलाउने धनबहादुर जति बाँचे निकै क्रियाशील जीवन बाँचे।
उनलाई चिन्नेहरू अहिले पनि धनबहादुर यतै कतै छन् जस्तो महसुस गर्छन्। जसलाई देख्दा पनि मुसुक्क हास्ने, फरासिलो शैलीका धनबहादुरको साथमा धेरैजसो समय सारंगी टुटेन।
साथमा गन्धर्व समुदायका युवायुवती र बालबालिका पनि हुन्थे। सार्वजनिक कार्यक्रममा सारंगी बजाउनु परे उनी उपस्थित हुन्थे। धनबहादुरलाई गुरु थापेका युवायुवती उनलाई साथ दिन्थे।
मौलिक लोकभाका, लोक संस्कृति, नृत्यको हुटहुटीकै कारण उनले बाटुलेचौरमै झलकमान गन्धर्व पाठशाला खोले। गन्धर्व मात्र होइन अन्य समुदायका युवायुवतीलाई समेत सांरगी सिकाए, मादल सिकाए, नृत्य सिकाए, गायनको ज्ञान दिए। जसको उपज हो लक्ष्य ब्यान्ड।
धनबहादुरले थुप्रै चलचित्रमा नृत्य पनि गरेका छन्। सिन्दुर, कान्छी, सन्तान, के घर के डेरा, फेरि भेटौंला, पहिलो प्रेम, अग्नि परीक्षा जस्ता चलचित्रमा उनको नृत्य देख्न सकिन्छ।
डाँफे कला मन्दिरमा लामै समय धनबहादुरले जागिर खाए। पछि उनले पोखरा संगीत प्रशिक्षण केन्द्र र सारंगी पाठशालामा सारंगी, मादल बजाउन प्रशिक्षण दिए, त्यो पनि निशुल्क।
गन्धर्व पाठशालामा विदेशीलेसमेत सारंगी सिकेका छन्। उनले थुप्रै नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गरिसकेका छन्।
‘बुढाबुढी मरेर जाँदा उनीहरूमात्रै मर्दैनन्, उनीहरूसँगै उनीहरूको ज्ञान, सीप र संस्कृति पनि मर्छ,’ धनबहादुर भन्थे, ‘अघिका पुस्ता बितेर गए, उनीहरूको ज्ञान सबै हामीले ग्रहण गर्न सकेका रहेनछौं। हामीले जानेको पनि नयाँ पुस्तालाई सिकाइएन भने संस्कृति नै मर्छ ।’
सानै उमेरमा क्रियाशील
धनबहादुर गायक ११ वर्षको उमेरमै भागेर काठमाडौं पुगेका थिए। २०३१ सालमा काठमाडौं पुगेका उनले मामा झलकमान गन्धर्वलाई पछ्याउँदै रेडियो नेपाल छिरे।
उतिबेलै ३ वटा गीत रेकर्ड गराए। त्यो बेला एउटा गीतको २० रुपैयाँका दरले ६० रुपैयाँ दिने भनेकोमा पाण्डव सुनुवारले एक सय रुपैयाँ हातमा राखिदिएर पोखरा फर्कन भने, धनबहादुरलाई ।
पोखराको बसपार्कमा सारंगी बजाउँदै गर्दा गाडी चालकले उनलाई फेरि बसमा राखेर काठमाडौंको सुन्धारामा छाडिदिएका थिए। धनबहादुरका साथमा बेगनासतिरका बेनबहादुर गन्धर्व पनि थिए। पोखराका दुई केटाले काठमाडौंमा रामै्र चर्चा पाए।
त्यही चर्चाका कारण उनीहरूले राष्ट्रिय नाचघरमा बालकलाकारका रुपमा काम पाए । कुमार बस्नेतले उनीहरूलाई नाचघरमा अवसर दिएका थिए । उनले भनेका थिए, ‘नाचघरमा ४ वर्ष काम गरेपछि घरको याद आयो र पोखराबाट भागे झैं काठमाडौंबाट भागियो।’
अपूरणीय क्षति
धनबहादुरको निधनबाट गन्धर्व समुदायले एक असल अभिभावक गुमाएको छ। नेपाली संगीतले एक इमानदार साधक।
चेला सन्देश गन्धर्व भन्छन्, ‘मेरो संगीतको गुरु नै उहाँ हुनुहुन्थ्यो, म बिहान नउठ्दा ए! बाबु उठ् अब संगीत सिक्न जानुपर्छ भन्नुहुन्थ्यो,’ उनी सम्झन्छन्, ‘अब उहाँ नै नरहेपछि मलाई कसले आगाडि बढ्न प्रेरणा दिन्छ।’
लक्ष्य ब्यान्डका सदस्य धीरज गुरुङ पनि एउटा असल प्रशिक्षक गुमाएको बताउँछन्। ‘लक्ष्य ब्यान्ड स्थापना गर्न उहाँको ठूलो योगदान छ,’ उनी भन्छन्, ‘अहिलेको युवा पुस्ताले गन्धर्व पेसामा रुची नदेखाएपछि ब्यान्डमा सारंगी समावेश गरेर आफ्नो पेसा संरक्षण गर्ने उहाँको योजना थियो।’
कवि तीर्थ श्रेष्ठ धनबहादुरले जीवनको सबै कालखण्ड संगीतमा खर्च गरेर सबैका अग्रज कलाकार भएको बताउँछन्। उनी मिजासिला, फरासिला र मिलनसार व्यक्तित्वको धनी भएको श्रेष्ठ सम्झन्छन्।
सुरुमा बाबु बाजेका पछि लाग्दै कास्कीको गाउँ गाउँ पुग्ने उनी बुझ्नेभएपछि डाँफे कला मन्दिरमा आवद्ध भए।
धनबहासँगै पढेका पोखराका पूर्व मेयर एवं गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा तत्कालीन अवस्थामा पोखरा उपमहानगरमै कार्यरत धनबहादुरलाई विन्ध्यवासिनी संगीत पाठशाला खोलेर त्यसको जिम्मा सुम्पिएको स्मरण गर्छन्।
उनले भने, ‘उहाँ सारंगी र मादलका सम्राट् नै हुनुहुन्थ्यो। एकदमै मिलनसार, मुदुभाषी र सामाजिक व्यक्तित्वका गायकको निधनले यस क्षेत्रलाई अपूरणीय क्षति पुर्याएको छ। उहाँले नेपाली लोक संगीतमा दिएको योगदान स्मरणीय हुनेछ।’