पोखरा– गुरुङ फिल्म अब नियमित रुपमा हलमा प्रदर्शन गरिने भएको छ।
गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) का अध्यक्ष भोजबहादुर गुरुङले गुरुङ फिल्म माघ २३ गतेदेखि नियमित रुपमा सिनेमा हलमा प्रदर्शन गरिने जानकारी दिएका हुन्।
गुरुङ चलचित्र निर्माण भएको २५ वर्ष पुग्दाको खुसियालीमा अब गुरुङ समुदायमा मात्रै सीमित नरहने उनको भनाइ छ।
चलचित्र पत्रकार संघ कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मलेनमा गुरुङले भने, ‘२५ वर्षको लामो यात्रा तय गर्दा पनि गुरुङ चलचित्रको विकास र विस्तार हुन सकेको छैन। त्यसैले माघ २३ गतेदेखि नियमित रूपमा शुक्रबार र शनिबार पोखराको मिडटाउन ग्यालरियामा चलचित्र प्रदर्शन गरिनेछ।’
उनले सीमित अवधिका लागि मात्र नभई निरन्तर रुपमा प्रदर्शन गर्ने गरी मिडटाउनसँग सम्झौता भएको जानकारी दिए। उनका अनुसार देशका सबै हलमा गुरुङ फिल्म प्रदर्शन गर्ने योजना छ।
अध्यक्ष गुरुङले नियमित चलचित्र प्रदर्शनले चलचित्र निर्माताले चलचित्रको टिकट बिक्रीवितरण गर्दै दर्शकको घरदैलोमा हिँड्नुपर्ने बाध्यता, महँगोमा टिकट किन्नुपर्ने, टिकटमा लागू गरिने भीआईपी र भीभीआईपी प्रणालीका कारण चलचित्रकर्मी र दर्शकबीचको दुरी बढ्दै जाने समस्या समाधान हुने बताए।।
यसैबीच जिफानले ‘घरदैलोमा टिकट किनेर होइन, हलमा गएर सहयोग गरौं’ भन्ने अवधारणा अघि सारेको छ।
जिफानका महासचिव लप्सन गुरुङले माघ २३ गतेबाट २०७८ असारसम्म नियमित रुपमा प्रदर्शन हुने गुरुङ चलचित्रको तालिका सार्वजनिक गरेका छन्।
माघ २३ र २४ गते तमु फिल्मस् प्रालिको ब्यानरमा जसु गुरुङ निर्देशित चलचित्र ‘कर्म क्याँ’ प्रदर्शन हुनेछ।
माघ ३० र फागुन १ गते पाइला फिल्मस् प्रालिको ब्यानरमा माओत्सेतुङ गुरुङद्वारा निर्देशित ‘म्हि न्होर्बै ट’ प्रदर्शन हुने भएको छ।
फागुन ७ र ८ गते बेब्स क्रियसन प्रालि ब्यानरमा निर्मित प्रितम गुरुङ निर्देशित ‘रिजे नाशा’ प्रदर्शन गरिने लप्सनले बताए।
उनले फागुन १४ र १५ गते शुभेच्छा फिल्म प्रालि ब्यानरमा बनेको खुुसबहादुर गुरुङद्वारा निर्देशित ‘सम्बन्धको डोरी’ प्रदर्शन गरिने जानकारी गराए।
फागनु २१ र २२ गते तमु फिल्मस् प्रालिको ब्यानरमा निर्मित गोरा गुरुङद्वारा निर्देशित ‘सिमि नाशा’ प्रदर्शन गरिनेछ।
चलचित्र ‘युके सुइटर’ फागुन २८ र २९ गते सार्वजनिक हुने भएको छ। जसलाई लेकाली फिल्म प्रालिको ब्यानरमा गुञ्जबहादुर गुरुङले निर्देशन गरेका हुन्।
चैत ६ र ७ गते शुभेच्छा फिल्म प्रालिको ब्यानरमा खुसबहादुर गुरुङ निर्देशित चलचित्र ‘प्रें सोना’ प्रदर्शन हुने भएको छ।
चलचित्र ‘स्यु रु’ चैत १३ र १४ गते प्रदर्शन हुनेछ।
स्वस्तिक फिल्म प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका निर्देशक सोम गुरुङ हुन्। पाइला फिल्मस् प्रालिको ब्यानरमा माओत्सेतुङ गुरुङद्वारा निर्देशित चलचित्र ‘तमुस्यो’ चैत २० र २१ गते प्रदर्शन गरिनेछ।
नृत्य निर्देशकसँगै कोरियोग्राफर समेत रहेका लप्सन गुरुङले चलचित्र ‘सबन मु’ चैत २७ र २८ गते प्रदर्शन गरिने जानकारी गराए।
उक्त चलचित्र भकारी इभेन्ट्स प्रालिको ब्यानरमा निर्माण भएको हो। जसका निर्देशक कृष्णकुमार गुरुङ छन्।
२०७८ वैशाख ३ र ४ गते माओत्से गुरुङद्वारा निर्देशित ब्रेजमेश्रों फिल्मस् प्रालिबाट निर्मित ‘शिरसुबा’ प्रदर्शन गरिने भएको छ।
यस्तै, चलचित्र ‘म्ले क्यु’ वैशाख १० र ११ गते प्रदर्शन हुनेछ। स्टार्स स्टुडियोले निर्माण गरेको चलचित्रमा जसु गुरुङ निर्देशक हुन्।
लेकाली फिल्म प्रालिको ब्यानरमा गुञ्जबहादुर गुरुङले निर्देशन गरेको चलचित्र ‘समीङ्ही’ वैशाखको १७ र १८ गते प्रदर्शनमा आउने भएको छ।
पाइला फिल्मस् प्रालिको प्रस्तुति माओत्सेतुङ गुरुङद्वारा निर्देशित चलचित्र ‘टुकी’ वैशाख २४ र २५ गते प्रदर्शन हुने जनाइएको छ।
चलचित्र ‘साली भेना’ शुभेच्छा फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र हो। राजु गुरुङले निर्देशन गरेको उक्त चलचित्र वैशाख ३१ र जेठ १ गते प्रदर्शनमा आउनेछ।
माओत्से फिल्मस् प्रालि ब्यानरमा माओत्से गुरुङले निर्देशन गरेको चलचित्र ‘मनको बाबरी’ जेठ ७ र ८ गते प्रदर्शन गरिने भएको छ।
जिफानले दिएको समय तालिका अनुसार चलचित्र ‘फुङ’ जेठ १४ र १५ गते प्रदर्शन गरिनेछ। जसलाई बेब्स क्रियसन प्रालिको ब्यानरमा प्रितम गुरुङले निर्देशन गरेका हुन्।
चलचित्र ‘ङोल्स्यो माया’ जेठ २१ र २२ गते प्रदर्शनमा आउने भएको छ। शुभेच्छा फिल्म प्रालिको ब्यानरमा बनेको चलचित्रलाई खुश बहादुर गुरुङले निर्देशन गरेका हुन्।
मुनाल फिल्मस् प्रालिले निर्माण गरेको चलचित्र ‘मैरीमु’ जेठ २८ र २९ गते प्रदर्शन हुनेछ। जसलाई भोजबहादुर गुरुङले निर्देशन गरेका हुन्।
हंग्री आई फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको र नौजंग गुरुङद्वारा निर्देशित चलचित्र ‘तिमी नभए’ असार ४ र ५ गते प्रदर्शन गरिने भएको छ।
प्रदर्शन गरिने सबै चलचित्रको समय मध्यान्ह १२ बजेदेखि २ बजेसम्मलाई तोकिएको छ। टिकट दर भने मिडटाउनले यसअघि अन्य चलचित्र प्रदर्शनमा लिँदै आएको कायम रहने जानकारी गराइएको छ।
२०५२ सालमा ‘पाते’ नामक चलचित्रबाट गुरुङ चलचित्र निर्माण भएको थियो। अहिलेसम्म १४४ वटा गुरुङ चलचित्र निर्माण भइसकेको जिफानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
२०६५ सालमा स्थापना गरिएको गुरुङ फिल्म एसोसिएसन नेपालले स्थापनाकालदेखि नै गुरुङ चलचित्र निर्माण र बजार व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ।