धनगढी- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस चुनावमा जाने र आन्दोलनमा जानेबारे दोधारमा बस्न नहुने बताएका छन्।
धनगढीमा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री डा. शशांक कोइरालाले यस्तो बताएका हुन्। उनले नेपाली कांग्रेसले आन्दोलन गर्नुपर्ने बताए। ‘हामीले आन्दोलन गर्नेपर्छ’ डा. कोइरालाले भने, ‘७० वर्षपछि यो संविधान आएको छ यसको रक्षा गर्नु नेपाली कांग्रेसको कर्तव्य हो।’
संविधानमाथि कुठाराघात भएको छ, ‘केपी ओली शर्माले संविधानलाई कुल्चेर संविधानमा नभएको बाटोमा हिँडेर प्रतिनिधिसभा विगठन गरेको छ’ उनले भने, ‘प्रतिनिधिसभा पुनर्गठनका लागि नेपाली कांग्रेसले आवाज बुलन्द गराउनुपर्छ।’
उनले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुन नसक्ने ठोकुवा गरे। नेपाल कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिह्न लगायतका कारणले तोकिएको समयमा निर्वाचन असम्भव छ उनले भने, ‘निर्वाचन आयोगले चुनाव चिह्न दिइहाले अर्को समूहले सर्वोच्चमा मुद्दा दर्ता गर्ने र सो फैसला हुन समय लाग्ने भएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना म देख्दिनँ।’
मातृशोकमा रहेका कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई भेट्न महामन्त्री डा. कोइरालासहितका केन्द्रीय नेताहरूको टोली शुक्रबार कञ्चनपुर पुगेको थियो। त्यहाँबाट फर्कने क्रममा कार्यकर्तालाई सम्बोधन गर्न उनी धनगढी पुगेका थिए।’