काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानान्त्री केपी ओलीले शान्ति प्रक्रिया विघटन गर्न चाहेको दाबी गरेका छन्। उक्त समूहले आज आयोजना गरेको विरोध सभामा उनले ओलीको त्यो चाहना पूरा गर्न नदिने बताए।
उनले भने, ‘शान्ति प्रक्रियामा आएपछि पहिलोपटक १२–१४ वर्षपछि जनसागर काठमाडौं उर्लिएर आएको छ। प्रतिगामी र प्रतिगमनकारीलाई देखाइदिएका छन् जनताले आज। हामीले अब युगान्तकारी कदम अघि बढ्छ भन्ने सोचेका थियौं। हिजो निरंकुश तानाशाहीका विरुद्ध एेतिहासिक आवश्यकता पूरा गरेका थियौं। हामीले सोच्यौं– अब सबै काम सक्यौं, मुलुकलाई अगाडि बढाउन सक्छौं भन्ने सोच्यौं। अब कहिले राजनीतिक अस्थिरता नहोस् भनेर सोच्यौं। वाम गठबन्धन गर्दा भनेका थियौं– अब मुलुक बनाउने छौं भनेर।’
पछिल्लो ३ वर्षमा जनताको सपना पूरा गर्न नसकेको उनले स्वीकारे। भने, ‘हामीले चुनावको घोषणापत्रमा उल्लेख गरेअनुसार अघि बढ्छौं भनेर सोचेका थियौं, तर सकेनौं। केपी ओलीलाई प्रधानमन्त्री बनाएपछि हामीले सकेनौं। उनले केही गर्न सकेनन्। हामीले यो ३ वर्षमा केपी ओलीलाई तह लगाउन सकेनौं। केपी ओलीले जेजे भने, त्यही मान्यौं। उनको गलत प्रवृत्तिविरुद्ध सुरुवातमा नै डटेर सामना गरेको भए आज यो अवस्था आउने थिएन। यसमा हाम्रो पनि कमजोरी भएछ। अब म संकल्प गर्न चाहन्छु, केपी प्रवृत्ति कहिले दोहोरिने छैन।’
प्रधानमन्त्री ओलीले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रिया पनि विघटन गरेको उनले बताए। ‘उनले शान्ति प्रक्रिया पनि विघटन गर्न चाहेका छन्। खबरदार केपी ओली र ओली प्रवृत्तिलाई अब जनताले तिमीहरुलाई माफी दिने छैनन्,’ दाहालले भने।
आफ्नो क्याम्प छोडेर ओलीतिर लागेका पूर्व माओवादीलाई लक्षित गर्दै उनले भने, ‘ती खरानी घसेर भागेका भगौडा हुन्। जो आज खरानी घसेर यस्तो भएका छन् कि चिन्नै नसकिने भएका छन्।’