काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले घुँडा नटेकेसम्म सडक आन्दोलन नरोकिने बताएका छन्।
उक्त समूहले आज आयोजना गरेको विरोधसभामा उनले भने, ‘प्रतिगमन नसच्चिएसम्म यो आन्दोलन रोकिनेवाला छैन। केपी ओलीलाई हामीले पार्टीबाट त हटाइसक्यौं। अब प्रधानमन्त्रीबाट पनि हटाउँछौं। केपी ओली घातक रहेछन्। उनी कम्युनिस्ट बन्न लायक रहेनछन्। त्यसैले हामीले उनलाई अध्यक्षबाट मात्रै होइन, साधारण सदस्यबाट समेत निकालिसक्यौं। उनले हामीलाई भगौडा भन्छन्, हामी भन्छौं– केपी ओली भगौडा हुन्।’
ओली पार्टीबाट अलग्गिएर अलग गुट लिएर बसेको तर्क खनालले गरे। ५ वर्षसम्म संसद् विघटन गर्न नपाउने संविधानमै उल्लेख भएको दाबी गर्दै उनले हुँदै नभएको व्यवस्थालाई खेलबाड गरेर संविधान च्यात्ने काम प्रधानमन्त्रीले गरेको बताए।
सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्नेमा आफूहरु विश्वस्त रहेको उनले बताए। भने, ‘अहिलेको सर्वोच्च अदालत हिजोको राजा–महाराजाको होइन। सर्वोच्च अदालतप्रति विश्वास छ हामीलाई। त्योभन्दा अर्को विकल्प नै छैन। न्यायमूर्तिले देखेका छन् जनताले के भन्छ्न् भनेर। निर्वाचन आयोगले पनि के गर्ला भनेर हेरिरहेका छन्। निर्वाचन आयोग पनि संविधानबमोजिम बनेको आयोग हो। राजनीतिक दलसम्बन्धी ऐन हेरेर नै आयोगले निर्णय गर्छ।’