धनगढी - भारत सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप प्रदान गरेको छ।
यससँगै सुदूरपश्चिम प्रदेशमा पनि अभियान सञ्चालनका लागि तयारी थालिएको छ।
सुदूरपश्चिम प्रदेश सरकार र मातहतका निकायले खोपको सुरक्षित भण्डारण र प्राथमिकताका आधारमा खोप लगाउने गरी तयारी थालेका हुन्।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले कोरोना भाइरसविरुद्धको खोप भण्डारणका लागि खोप सामग्री भण्डारण कक्षलाई खाली गरेर तयारी अवस्थामा राखेको छ।
संघीय सरकारको निर्देशनबमोजिम भण्डारण कक्षको व्यवस्थापन गरिएको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीका निमित्त प्रमुख पदमबहादुर बिष्टले बताए।
अनुदानमा प्राप्त हुने खोप सुदूरपश्चिम प्रदेशका लागि के कति पठाउने यकिन नभए पनि पहिलो चरणमा एक लाखको हाराहारीमा भ्याक्सिन प्राप्त हुने अनुमान गरिएको र सोहीअनुसार भण्डारणको व्यवस्था मिलाइएको बिष्टले जानकारी दिए।
‘हामीसँग अहिले तीनवटा वाकिङ कुलर छ,’ बिष्टले भने, ‘सोमध्ये एउटालाई खाली गरेर कोरोना भाइरसविरुद्धको खोप भण्डारणका लागि व्यवस्था मिलाएका छौं।’
उनका अनुसार दुईदेखि आठ डिग्री सेल्सियस तापक्रममा खोप भण्डारण गर्न सक्ने व्यवस्था छ। उनले भने, ‘भारतबाट प्राप्त भएको खोप सो तापक्रममा राख्न मिल्ने भएकाले सहज भएको छ।’
आपूर्ति व्यवस्थापन केन्द्रसँग १६ लाख भ्याक्सिन भण्डारण गर्ने क्षमता छ। उनले सो तापक्रममा सुरक्षित राख्न मिल्ने खोप प्राप्त भए पाँच लाख भ्याक्सिन भण्डारण गर्न सकिने बताए।
प्रदेश स्वास्थ्य निर्देशनालयले संघीय सरकारकै निर्देशनबमोजिम प्राथमिकतामा परेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तथ्यांक संकलन गरेको छ।
स्वास्थ्य निर्देशनालय दिपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले प्रदेशका सबै जिल्लाबाट अग्रपंक्तिमा खटिने १४ हजार ६६६ स्वास्थ्यकर्मीसहित २६ हजार ७०० जनाको तथ्यांक संकलन भएको बताए।
संघीय सरकारले पहिलो चरणमा कुल जनसंख्याको तीन प्रतिशतलाई पुग्ने गरी कोरोना भाइरसविरुद्धको खोप सुदूरपश्चिम प्रदेशका लागि पठाउने अनुमान गरिएको उनको भनाइ छ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले स्वास्थ्यकर्मी र सुरक्षाकर्मी तथा एम्बुलेन्स चालक, शव वाहन चालक, स्वास्थ्य संस्थामा कार्यरत कार्यालय सहयोगी, सरसफाइकर्मीलाई प्राथमिकतामा राखिएको बताए।
तर, स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो चरणमा सुदूरपश्चिममा १६ हजार २९३ जनाले खोप लगाउन पाउने भएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ६३ हजार ३६० जनालाई र सबैभन्दा कम कर्णाली प्रदेशमा ११ हजार ५३२ जनालाई खोप दिइने छ ।
लुम्बिनीमा ३९ हजार ४९५, प्रदेश १ मा ३५ हजार ४५६, प्रदेश २ मा ३४ हजार ८०४, गण्डकीमा १७ हजार ६३० जनालाई खोप दिइने छ ।
यद्यपि यो संख्या अद्यावधिक भइरहेकाले केही हेरफेर हुन सक्ने मन्त्रालयले जनाएको छ।