बुुटवल– जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सेटिङमा संसद् विघटन गरिएको टिप्पणी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अनुसन्धान, राजस्व अनुसन्धान, अख्तियार लगायतका संयन्त्रलाई आफू मातहत ल्याएपछि मात्रै संसद् विघटन गरिएकाले सेटिङअनुसार काम भएको उनले दाबी गरे।
प्रेस नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष भट्टराईले राज्यका अंग कब्जा गरेर ओलीले संसद् विघटन गरेकाले प्रतिगामी कदम विरुद्ध तेस्रो जनआन्दोलनको खाँचो रहेको बताए। ‘लामो समयको संघर्षपछि संविधान जारी भयो, तर आज निरंकुश चरित्रका ओलीका कारण संविधान अन्त्य गर्न खोजिँदैछ,’ अध्यक्ष भट्टराईले भने, ‘प्रतिगमनका विरुद्ध सबै राजनीतिक दल, मिडिया, नागरिक समाजले तेस्रो जनआन्दोलन सुरु गर्नुपर्छ।’
सर्वोच्च अदालतलाई समेत धम्की दिएकाले उसले निर्धक्क फैसला गर्नेमा शंका रहेको डा. भट्टराईले बताए। उनले प्रधानमन्त्री ओलीलाई जर्मन शासक हिटलरसँग तुलना गर्दै संविधान र लोकतन्त्रमाथिको प्रहार नेपालीहरुलाई सह्य नहुने चेतावनी दिए। ‘दुुई तिहाइ मत भएको सरकार र संसद् विघटन गरेर चुनाव गर्न खोजिएको होइन, व्यवस्था नै भत्काउने गरी संसद् विघटन गरिएको छ,’ पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले भने, ‘जनताको बलमा मात्रै प्रतिगमन सच्याउन सकिन्छ।’
उनले अहिले संविधान र लोकतन्त्रमाथि प्रहार गरेर मुलुकमा ठूलो दुर्घटना निम्त्याइएकाले संसद् विघटनका विरुद्ध आन्दोलनको विकल्प नै नभएको बताए। ‘संविधान जोगाउने चिन्ता गर्नुपर्छ, पद ठूलो कुरा होइन,’ अध्यक्ष भट्टराईले भने। परिस्थितिले तपाईं प्रधानमन्त्री हुनुपरे के गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा भट्टराईले भने, ‘हामी मृत्यु संस्कारमा छौं, प्रधानमन्त्री पदको कल्पना गर्न सकिँदैन।’ उनले मलामी गएको बेला भोजभतेर र दानदक्षिणाको कुरा नै मूर्खता हुने बताए।
उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई समेत संविधान र लोकतन्त्रको रक्षाका लागि ढुलमुलमा नपर्न आग्रह गरे। उनले अहिले एक्लाएक्लै आन्दोलनमा उत्रेका राजनीतिक दलहरुले संयुक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए। संसद् विघटनमा बाह्य शक्ति भन्दा पनि प्रधानमन्त्री ओलीको शासन मोह र निरकुुंश प्रवृतिले यो स्थिति सिर्जना भएको उनको तर्क छ।