काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणका नाममा नक्कली फेसबुक पेज निर्माण गरेर चलाएको पाइएको छ। प्राधिकरणमा थप रोजगारी खुलेको प्रचार उक्त पेजबाट गरेको देखिन्छ।
प्राधिकरणले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्राधिकरणको लोगो प्रयोग गरी फेसबुक पेजमार्फत भ्रामक जानकारी प्रकाशित गरेको पाइएकाले अनाधिकृत पेजमा रहेका लिंक क्लिक नगर्न प्राधिकरणले आग्रह गरेको छ।
त्यस्तै कुनै विवरण उपलब्ध नगराउन पनि सचेत रहन प्राधिकरणले सर्वसाधारणलाई अनुरोध गरेको छ।
‘प्राधिकरणका नाममा हालसम्म कुनै आधिकारिक पेज÷खाता नरहेको र यस्ता अनधिकृत कार्य गर्ने–गराउनेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने व्यहोरासमेत जानकारी गराउँदछौं’, प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।