पोखरा विश्वविद्यालयको व्यवस्थापन संकायको पाठ्यक्रम अन्यको भन्दा केमा फरक छ?
पोखरा विश्वविद्यालयको पाठ्यक्रम बजार सुहाउँदो समयानुकूल छ। यहाँबाट उत्पादित जनशक्तिले स्वदेश तथा विदेशमा सहजै रोजगारी पाएका छन्।
यहाँबाट पढेर गएपछि विदेशका विश्वविद्यालयमा भर्ना पाउन पनि सहज छ। हाम्रो पाठ्यक्रम प्रयोगात्मक पनि छ।
नेपाली विश्वविद्यालयको सम्बन्धनमा थुप्रै कलेज हुँदाहुँदै पनि ठूलो संख्याका विद्यार्थीले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमै चलेका कलेज रोज्नुको कारण के हो?
गुणस्तरका हिसाबले स्वदेशी–विदेशी सम्बन्धन कुनै फरक छैन। पठन शैलीमा केही न केही फरक त भइहाल्छ। हामीले पाठ्यक्रमलाई ‘लेक्चरर मेथड’ भन्दा पनि ‘वर्कवेस्ड मेथड’ मा केन्द्रित गर्न सक्नुपर्छ।
विदेश जाने महत्त्वाकांक्षाले पनि विद्यार्थीले विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजमा भर्ना हुने गरेको पाइएको छ।
कस्तो सोचाइ राखेर विद्यार्थी बीबीए पढ्न आउँछन्?
कतिले राम्रोसँग बुझेर आएका हुन्छन् भने कति साथीभाइको लहलहैमा पढ्न आउने पनि हुन्छन्। अध्ययनपछिको अवसर र व्यावसायिक रुचिलाई बुझ्न नसकेका कति विद्यार्थीले विषय परिवर्तन गर्ने र ‘ड्रपआउट’ गर्ने गर्छन्।
धेरैले चाहिँ अध्ययनपछि बैंक, वित्तीय संस्था, उद्योग, बहुराष्ट्रिय कम्पनी, एयरलाइन्स, कर्पोरेट हाउसलगायतमा रोजगारी गर्न सकिन्छ भन्ने बुझेका हुन्छन्। यो स्वाभाविक पनि हो।
पोखरा विश्वविद्यालयका कलेजमा विद्यार्थीको आकर्षण कम छ, भनिन्छ नि?
यो गलत हो। केही फरक भए पनि अधिकांश नेपाली विश्वविद्यालयको पाठ्यक्रम उस्तै हुन्छ। बीबीए झन् व्यवस्थापन संकायको नयाँ विषय भएकाले पाठ्यक्रम समयानुकूल छ। नेपाली मात्रै होइन, विदेशका लागि समेत योग्य जनशक्ति उत्पादन गर्ने क्षमताको पाठ्यक्रम छ। त्यसैले आकर्षण कम छ भन्ने कुरै रहेन। अब कुनै कलेजमा कम कुनैमा बढी विद्यार्थी हुनु त स्वाभाविक हो नि।
कोरोना भाइरसको प्रभावले शैक्षिक क्यालेन्डरमा कति फरक परेको छ?
महामारीकै बीच पनि पढाइ रोकिएको छैन। हरेक कलेजले अनलाइनमार्फत अध्यापनलाई निरन्तरता दिएका थिए। तर प्रयोगात्मक कक्षा सञ्चालन गर्न नसक्दा एउटा सेमेस्टर पर धकलिने अवस्था आएको छ। अहिले रोकिएका परीक्षा सञ्चालन भइरहेका छन्।
नयाँ भर्ना हुनेको कक्षा ढिला सुरु भए पनि सबैको प्रयास भए मिलाउन सकिन्छ। विद्यार्थीको समय, शैक्षिक क्यालेन्डरका हिसाबले विश्वविद्यालय र कलेज सबै संवेदनशील छन्।
अहिलेको शैक्षिक प्रणाली सबै हिसाबले सही छ कि केही परिवर्तन गर्नुपर्छ जस्तो लाग्छ?
शैक्षिक प्रणाली समयअनुसार परिवर्तन भइरहेकै छ। समयअनुसार थप नयाँ–नयाँ विषयलाई अनुशरण गर्दै लान सकियो हाम्रा उत्पादन विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने खालका हुन्छन्।
विद्यार्थीले रिट्ज कलेजलाई बीबीए अध्ययनको थलो बनाउनुपर्ने केही कारण छ?
गुणस्तरीय शिक्षा आर्जनका लागि विद्यार्थीको रोजाइमा रिट्ज कलेज पर्ने गरेको छ। हामीले नियमित कक्षा सञ्चालन गर्नुका साथै विद्यार्थीलाई रोजगारीको अवसर सिर्जना गर्ने प्रयास पनि गरेका छौं।
पोखरा विश्वविद्यालयको नतिजा उत्कृष्ट छ, भ्यालु एडेड कोर्ससँगै विद्यार्थीलाई आवश्यक पर्ने औद्योगिक ज्ञान प्रदान गर्ने गरेका छौँ। इन्टर्नसिपका लागि विभिन्न उद्योग, बिजनेस हाउसमा लाने गरेका छौं।
हामीले गुणस्तरीय शिक्षा प्रदान गर्न सकेकै कारण अभिभावक र विद्यार्थी सन्तुष्ट हुनुहुन्छ। विद्यार्थीलाई काम गर्दै सिक्ने वातावरण बनाउन विश्वविद्यालयले दिएको मापदण्डअनुसार हामीले अध्यापन गराइरहेका छौं।