पोखरा– पदयात्राका लागि चर्चित अन्नपूर्ण आधार शिविर (एबीसी) पुग्न अब पीसीआर रिपोर्ट नचाहिने भएको छ।
आवश्यक सुरक्षा सतर्कता अपनाएर यसअघि नै व्यवसाय सञ्चालन गरिसकिएको स्थानीयले बताएका छन्। यसअघि पदयात्रीका लागि पीसीआर रिपोर्ट अनिवार्य गरिएको थियो।
अन्नपूर्ण ११ स्थित छोम्रोङ पर्यटन व्यवसायी समितिको मंगलबार बसेको बैठकले पीसीआर रिपोर्ट नचाहिने निर्णय गरेको हो। संक्रमणको दर घट्दै गएको र जनजीवन सामान्य अवस्थामा फर्किंदै गएकाले रिपोर्ट अनिवार्य नठानेर यस्तो निर्णय लिइएको समितिले जनाएको छ।
‘हामीले केही समयअघि पाहुनाका लागि होटल खुल्ला राखे पनि कोरोना रिपोर्ट बोकेर मात्रै आउनुपर्ने भनेका थियौं,’ समिति सचिव दिलीप गुरुङले भने। पीसीआर रिपोर्ट अलि झन्झटिलो भयो भन्ने ठानेर पनि समितिले यस्तो निर्णय लिएको उनको भनाइ छ।
समितिले एबीसी जाने पदयात्रीलाई आफ्नो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाएर मात्रै जान सुझाव दिएको छ। उक्त पदमार्गमा पर्ने देउरालीसम्मका होटल अहिले पूर्णरुपमा खुलेका छन्।
देउरालीबाट माछापुच्छर्े आधार शिविर करिब २ घन्टामा पुग्न सकिन्छ। माछापुच्छ्रे आधार शिविरबाट अन्नपूर्ण आधार शिविर करिब साढे १ घन्टामा पुगेर पुनः देउरालीमा नै बास बस्ने गरी एकै दिनमा फर्किन सकिन्छ।
यही हप्ताभित्रमै माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरका होटल पनि खुलाउने तयारी भइरहेको छ। स्थानीय पथप्रदर्शकको पनि व्यवस्था गरी थप सहजीकरणको व्यवस्था गरिएको छोम्रोङस्थित सेञ्चुरी युवा क्लबका अध्यक्ष मिकाश गुरुङले जानकारी दिए।