शनिबार, भदौ २०, २०८३

वन्यजन्तुका लागि धराप बनेका सडक संरचना

सवारीसाधनलाई मात्र केन्द्रमा राखेर निर्माण गरिएका राजमार्ग वन्यजन्तु संरक्षणमा चुनौती बनेका छन्। 
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

सवारीसाधनलाई मात्र केन्द्रमा राखेर निर्माण गरिएका राजमार्ग वन्यजन्तु संरक्षणमा चुनौती बनेका छन्। 

करिब २५ प्रतिशत वन्यजन्तुको मृत्यु निकुञ्ज क्षेत्रभित्र भएका सडक दुर्घटनाबाट हुने गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांक छ। 

१०२७ किलोमिटर लामो महेन्द्र राजमार्गको करिब एक तिहाइ भाग, आरक्ष, निकुञ्ज र संरक्षण क्षेत्रभित्र पर्छ। राजमार्गको २७१ किलोमिटर खण्ड पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भएर अगाडि बढेको छ।  

राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र संरक्षित क्षेत्र भएर महेन्द्र राजमार्ग मात्र अगाडि बढ्दैन पछिल्लो समय सुरु भएका पूर्वपश्चिम जोड्ने अधिकांश यातायात पूर्वाधारले घना जंगलकै बाटो रोजेका छन्। 

हुलाकी राजमार्ग, पूर्वपश्चिम रेलमार्ग, चुरे र भित्री मधेश भएर अगाडि बढेको मदन भण्डारीलगायत राजमार्ग घना जंगल तथा वन्यजन्तुको प्रमुख बासस्थान छिचोल्दै बनिरहेका छन्। अलिकति उत्तरबाट समानान्तर रेखामै अगाडि बढेको छ– मध्यपहाडी लोकमार्ग। 

हुलाकी राजमार्गले पर्साको ठोरी–अमुवादेखि चितवनको माडी बनकट्टा र कसरासम्मको राष्ट्रिय निकुञ्ज क्षेत्रलाई दुई भागमा छुट्याइएको छ। 

हुलाकी राजमार्गअन्तर्गत बाँकेको कम्दी, बर्दियाको खाता, कैलालीको वसन्ता र लालझाडी–मोहना करिडोर संरक्षण क्षेत्रभित्रै पर्छन्। यतिमात्रै होइन राजमार्ग बनेसँगै घना जंगल र संरक्षित क्षेत्र भएर ग्रामीण भेग जोड्ने सहायक मार्ग बर्सेनि थपिँदा छन्।

पूर्वपश्चिम रेलमार्ग चितवन राष्ट्रिय निकुञ्ज भएरै अगाडि बढाउने सरकारी प्रयास स्थानीयबासी र संरक्षणकर्मीको विरोधका कारण रोकिएको छ। 

नारायणी र राप्ती नदी किनारको जंगल र घाँसे मैदानमा फैलिएको चितवन राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्र दुर्लभ बाघ, एकसिङे गैंडा, मृग, गोहीलगायत लोपोन्मुख वन्यजन्तुको बास स्थान हो। 

चितवनपारि भारतको वाल्मीकि बाघ आरक्ष पर्छ। पूर्वतिर पर्सा निकुञ्ज छ। यी तीनै क्षेत्रलाई जोडेर संरक्षणविद्हरूले बृहत् चितवन निकुञ्ज भन्छन्। त्यहाँ वन्यजन्तु ओहोरदोहोेर निर्बाध भइरहन्छ।  

चितवन निकुञ्जदेखि उत्तरतिर पर्ने महाभारत पर्वतमालादेखि दक्षिणतिरको वनलाई निकुञ्जका वनसँग जोड्ने जैविकमार्गको माझैमाझ पूर्वपश्चिम राजमार्ग अघि बढ्छ। 

९५२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको चितवन राष्ट्रिय निकुञ्जमा कसराबाट चुरे पर्वतपारि माडी र ठोरी क्षेत्र जाने अर्को सडक पनि बनिसकेको छ। 

वन्यजन्तुका लागि चुनौती बनेको अर्को परियोजना हो– काठमाडौं–निजगढ द्रूतमार्ग। द्रूतमार्गअन्तर्गत बाराको चुरेभावर क्षेत्रमा आठ किलोमिटर खण्ड वन्यजन्तु आवतजावत गरिरहने क्षेत्र हो। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका अनुसार पर्सा राष्ट्रिय निकुञ्जका बालगंगा, दुधौरा, तेह्रकिलो र पसाहा नदी हात्ती विचरण गर्ने ठाउँ हुन्। 

बाराको निजगढ, अमलेखगञ्ज र रौतहटको चन्द्रनिगाहपुरका विभिन्न स्थान, सर्लाहीको सागरनाथ वन परियोजना, झापाका सुरुंगा र चारआली, चितवनको बरण्डाभार, बर्दघाट–नारायणगढ सडकखण्ड, दाङको भालुबाङ–सुरई खोला आसपासबाट वन्यजन्तु राजमार्ग नाघेर वारपार गरिरहन्छन्। 

सवारीसाधनलाई मात्रै ध्यान दिएर बनाइएका कारण वन्यजन्तुको बासस्थान खण्डीकृत भएको जानकारहरू बताउँछन्। विश्व वन्यजन्तु कोषका वैज्ञानिक डा. गोकर्णजंग थापा घना जंगलको बीचबाट बनेका राजमार्गले वन्यजन्तुको विचरण क्षेत्रमा अवरोध गरेको बताउँछन्। ‘वन्यजन्तु र प्रकृतिलाई ख्याल नगरी बनाइएका राजमार्गले उनीहरूको प्राकृतिक स्थान बिथोलेको छ,’ उनी भन्छन्, ‘ठाउँठाउँका सडकले वन्यजन्तुको विचरण क्षेत्रलाई सीमित पारिदिनुका साथै लुक्ने ठाउँको अभाव सिर्जना गरेका छन्।’ 

बेमतलबी सरकार

नेपालमा बाघ, हात्ती, गैंडाजस्ता ठूला जनावर पाइने तराई क्षेत्रका पाँचवटै निकुञ्ज भएर राष्ट्रिय राजमार्ग अगाडि बढेका छन्। यी क्षेत्रका सडकमा वन्यजन्तुमैत्री पूर्वाधार त टाढाको कुरा सवारीसाधनको गतिसमेत तोकिएको छैन– बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा ४० किलोमिटर प्रतिघन्टा तोकिएबाहेक। 

राष्ट्रिय प्रकृति संरक्षण कोष ठाकुरद्वाराका प्रमुख डा. रविन कडरिया गाडीको गति नियन्त्रण गर्न सके मात्रै आधा क्षति कम गर्न सकिने बताउँछन्।  ‘अहिलेकै संरचनामै ‘टाइम कार्ड’ दिन सकिन्छ,’ उनी भन्छन्, ‘सुस्त गतिले दुर्घटना भइहाले पनि क्षति कम हुन्छ, घाइते यात्रु र जनावर दुवैलाई बचाउन सकिने ठाउँ रहन्छ।’ 

पूर्वाधारविद् डा. सूर्यराज आचार्य राजमार्ग र अन्य भौतिक पूर्वाधार निर्माण गर्नुअघि दीर्घकालीन जोखिम अध्ययन नगर्दा र गुरुयोजना नबनाउँदा समस्या भएको बताउँछन्। ‘हाम्रा अधिकांश आयोजना हचुवाका भरमा बनाइएका छन्,’ उनी भन्छन्, ‘आयोजनाको विहंगम अध्ययन नगरी बनाइएका संरचनाले प्रकृति, वातावरण, वन्यजन्तु सबैलाई अप्ठ्यारोमा पारेको छ।’ प्रकृतिमा सबैको बराबर अधिकार हुन्छ भन्ने बुझेर पूर्वाधार निर्माण गर्नुपर्ने आचार्यको भनाइ छ। 

विश्ववन्यजन्तु कोषका थापा सडक निर्माण गर्दा सवारीसाधनलाई मात्र ध्यान दिइएका कारण संरक्षित क्षेत्रमै बर्सेनि सयौंको संख्यामा वन्यजन्तु मारिएको बताउँछन्। ‘यसले जैविक विविधतालाई विथोलेको मात्रै छैन संरक्षणका क्षेत्रमा भइरहेको खर्चसमेत खेर गइरहेको छ,’ उनी भन्छन्, ‘संरक्षणका क्षेत्रमा कमाएको अन्तर्राष्ट्रिय छवि र पर्यटन क्षेत्रलाई समेत असर पु¥याइरहेको छ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्मा माथिल्लो निकायबाटै योजना तयार भएर आउने हुँदा सडक विभागले तोकिएको ढाँचामै निर्माण गर्नुपर्ने बताउँछन्। उनी भन्छन्, ‘सडकलाई सकेसम्म वन्यजन्तु अनुकूल ढाँचामा बनाउन राजमार्गको डिजाइन परिवर्तन गनुपर्ने हुन्छ, तर विभागले चाहँदैमा हुँदैन।’ पछिल्लो समय निर्माण भइरहेका अधिकांश आयोजनामा भने सवारीसाधनलाई मात्रै केन्द्रमा नराखिएको उनको दाबी छ।    

कतै सुरुआत

नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले पुस तेस्रो साता वन्यजन्तुमैत्री पूर्वाधार निर्माण पद्धति संस्थागत गर्न सुझावसहित अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। 

प्रतिवेदनले भौतिक पूर्वाधार निर्माण गर्दा पारिस्थितिकीय प्रणाली, वातावरण र जैविक विविधताको संरक्षणलाई प्राथमिकतामा राख्न सुझाव दिएको छ। प्रतिवेदनमा विकास निर्माण गर्दा जैविक विविधताको पक्षलाई ध्यान दिनुपर्ने उल्लेख छ। 

मुग्लिङ–नारायणघाट सडक खण्डअन्तर्गत चितवनको बरण्डाभार जंगलमा अन्डरपास (वन्यजन्तु ओहोरदोहोर गर्ने जमिनमुनिको बाटो) बनाइएको छ। यसैगरी बाँके राष्ट्रिय निकुञ्जमा साना वन्यजन्तु ओहोरदाहोर गर्न मिल्ने गरी झोलुंगे पुल, कुलेरिया—रानीजमरा तथा सिँक्टा सिचाइँ आयोजना, कोठियाघाट जैविकमार्गमा पनि वन्जयन्तुलाई विचरण गर्न सजिलो हुने गरी पूर्वाधार निर्माण गरिएको छ। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने पूर्वको भागमा पनि चारवटा अन्डरपास र एउटा ओभरपास राख्ने तयारी भइरहेको छ। 

उक्त दाउन्ने पूर्वमा ३० ठाउँमा वन्यजन्तुको आवतजावत रेकर्ड भएको छ। पूर्व–पश्चिम राजमार्गकै बाराको पथलैयादेखि धनुषाको ढल्केबरसम्मको सडकमा पनि अन्डरपास बनाउन छलफल जारी छ। निजगढ–काठमाडौं जोड्ने द्रूतमार्गमा पनि वन्यजन्तुका लागि अन्डरपास बनाइँदै छ।

हुलाकी राजमार्गको बर्दिया खण्डमा पनि वन्यजन्तु  आउजाउका लागि ओभरहेड ब्रिज बनाइँदै गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्य बताउँछन्।

जानकारहरू संरक्षित क्षेत्रमा सकभर सडक बनाउनै नहुने तर्क गर्छन्। बनाउनैपर्ने अवस्था भए विस्तृत अध्ययन, वन्यजन्तु अनुकुल हुने गरी मात्रै बनाउनुपर्छ। विश्व वन्यजन्तु कोषका वैज्ञानिक थापा नेपालका राजमार्गसहितका पूर्वाधारमा वन्यजन्तुका लागि अन्डरपास र ओभरपास जस्ता ‘क्रसिङ’ अनिवार्य भएको बताउँछन्। 

अहिले वन्यजन्तुलाई आफ्नो बासस्थानभित्रै विचरण गर्न पनि सडकमा पार गर्नुपर्ने बाध्यता छ। ‘निकुञ्ज क्षेत्रका राजमार्गमा सवारीसाधनका लागि अन्डर वा ओभरपास बनाउनुपर्छ,’ उनी भन्छन्, ‘यसले सवारीसाधन आफ्नै गतिमा अघि बढ्न सक्छन् र संकटापन्न वन्यजन्तु पनि जोगिन्छन्।’

पढ्नुस् : 

तनावमा छ पाटेबाघ !

प्रकाशित: Jan 21, 2021| 02:28 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।