धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका कारण जनतासँग माफी माग्नु परेको बताएका छन्।
मुख्यमन्त्री भट्टले राजनीतिक अस्थिरता अन्त्य गर्ने भनेर जनताबाट पाँच वर्षका लागि भोट मागेका जनप्रतिनिधिले अहिले जनतासामु माफी माग्नुपर्ने अवस्था आएको बताएका हुन्।
सुदूरपश्चिम प्रदेशसभाको चौथो प्रदेशसभा दिवसको उद्घाटन गर्दै भट्टले प्रधानमन्त्री ओलीले संविधान कुल्चेर गरेको संसद विघटन असंवैधानिक कदम भएको बताए।
‘प्रधानमन्त्रीले पार्टीभित्रको रिस सदनमा प्रहार गरे, त्यसको परिमाणस्वरुप अहिले हामीले जनतासामु माफी माग्नु परीरहेको छ’, भट्टले भने, संसद विघटनको मुद्दा अहिले अदालतमा छ, अदालतले सही निर्णय नगरे देश फेरि दुर्घटनामा जान्छ।’
प्रधानमन्त्री र मन्त्रीले प्रदेशसभा विघटनबारे विभिन्न ठाउँमा बोल्ने गरेको भन्दै मुख्यमन्त्री भट्टले आपत्ति जनाए। प्रदेश सभाबारे संघीयता नचाहनेहरुले गलत हल्ला फैलाइरहेका छन् उनले भने, ‘त्यसको विरोध एकताबद्ध भएर गर्नुपर्छ। नयाँ व्यवस्था र साधन श्रोतको कमीका कारण प्रदेश सरकारले जनताले चाहेजस्तो काम गर्न नसकेको बताए।’
सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले तीन वर्षमा संघीयताको जग बसालेको बताए। उनले प्रदेश सरकार खर्चिलो भयो, हामी विघटन गरिदिन्छौँ भन्नेहरुको दिमागमा प्रदूषण भएको बताए। ‘के उनीहरुले किनेर ल्याएका हुन्, दाइजो ल्याएका हुन् ? र उनीहरुले फिर्ता गर्न सक्छन् ?’ सभामुख थापाले प्रश्न गरे।
सत्तापक्षका प्रमुख सचेतक तारालामा तामाङले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक भएको भन्दै विरोध गरे। उनले प्रधानमन्त्रीको कदमलाई प्रदेशसभाले प्रतिवाद गर्ने बताए। उनले प्रदेश सरकारमा आफूहरुको बहुमत भएकोले सरकार परिवर्तन नहुने बताए। ‘मन्त्रिपरिषद् हेरफेर हुनसक्ला, खाली रहेको ठाउँमा मन्त्री थप हुनसक्ला तर सरकार विघटन हुँदैन।’ उनले भने।
प्रमुख प्रतिपक्ष दल नेपली कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले प्रदेश सरकारले बिजनेस दिन नसकेको बताए। उनले प्रदेशसभाले पास गरेका विधेयक कार्यान्वयनमा प्रदेश सरकार कमजोर रहेको आरोप लगाए।
उनले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक भएको बताए। रावलले त्यसविरुद्ध प्रतिवाद गर्दै आएको बताए। नेपाली कांग्रेस लोकतन्त्र र प्रजातन्त्रको पक्षमा भएको बताउँदै उनले सत्तारुद्ध दल सच्चिएर आए आफूहरुको सहयोग हुने बताए।
२०७४ साल माघ ७ गते स्थापना भएको ५३ सदस्यीय प्रदेश सभामा नेकपाका ३९, नेपाली कांग्रेसका १२ र २ जना जनता समाजवादी पार्टीका सांसद छन्।
कार्यक्रममा प्रमुख सचिव रामकृष्ण सुवेदी, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, कैलाली बहुमुखी क्याम्पसका प्रमुख पदमराज जोशीले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा प्रदेशसभामा रहेर उत्कृष्ट काम गर्ने कर्मचारी तथा मर्यादापालकलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो।