बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ। सहकारी मार्फत् दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैंयाँको दरले अनुदान प्रदान गरेको हो।
एक आर्थिक वर्षमा सहकारी मार्फत् बिक्री गरेको दुधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए।
सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षण प्रतिवेदनको आधारमा २० वटा दुग्ध उत्पादक सहकारीमा आबद्ध ३ हजार २५५ जना किसानले अनुदान रकम प्राप्त गरेका छन्। नगरपालिकाले ४५ लाख ९८ हजार ८२१ रुपैयाँ प्रदान गरेको छ।
दुग्ध उत्पादक सहकारीलाई प्रदान गरिएको अनुदान रकम सहकारी मार्फत् किसानले प्राप्त गर्नेछन्। नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा पनि यहीँ नीतिअनुरुप झण्डै ३७ लाख रुपैयाँ किसानलाई अनुदान उपलब्ध गराएको थियो।
यो वर्ष सबैभन्दा बढी अनुदान रकम वडा नं. १४ स्थित गौतमबुद्ध दुध डेरी दुग्ध चिस्यान केन्द्रले प्राप्त गरेको छ।
केन्द्रले ९ लाख २६ हजार ८५२ रुपैयाँ प्राप्त गरेको हो। यस्तै वडा नं. १४ कै टिकुलिगढ दुग्ध उत्पादक सहकारीले ५ लाख २० हजार ५४ रुपैंयाँ, वडा नं. १२ को गोकुल दुग्ध उत्पादक सहकारीले ४ लाख ७० हजार ५२७ रुपैयाँ, वडा नं. ६ को पञ्चामृत दुग्ध उत्पादक सहकारीले ४ लाख २७ हजार ५५७ रुपैयाँ प्राप्त गरेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए।