काठमाडौं– नेपाली कांग्रेसले निर्वाचनको तयारीमा जुट्न जिल्ला समितिहरूलाई सर्कुलर जारी गरेको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गरिरहेकै समयमा कांग्रेसले मतदाता नामवली अद्यावधिक गर्ने कार्यक्रममा सहभागी हुन सर्कुलर जारी गरेको हो।
प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले बिहीबार ६,७४३ वडामा प्रदर्शन गर्दै छ। सभापति शेरबहादुर देउवाले कार्यक्रम सफल बनाउन अपिल जारी गरिसकेका छन्।
कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकामा विरोध प्रदर्शन गरेको थियो।
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसले संसद् पुनःस्थापनाको माग एकमतले राख्न सकेको छैन।
संसद् पुन:स्थापनाका पक्षमा पार्टीभित्र समान धारणा बन्न नसकिरहेकै अवस्थामा मुख्य सचिव कृष्णप्रसाद पौडेलले जिल्ला सभापतिहरुलाई मतदाता नामवली अद्यावधिक कार्यक्रममा सहभागी हुन सर्कुलर जारी गरेका हुन्।
सभापति देउवा पक्षीय नेताहरु अदालतको फैसला मान्ने बताउँदै निर्वाचनको तयारीसमेत गर्नुपर्ने बताइरहेका छन्। अदालतले विघटन सदर गरेमा निर्वाचनमा जानुपर्ने उनीहरुको जोड छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरुले भने संसद् पुनःस्थापना हुनुपर्नेमा जोड दिइरहेका छन्।
पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि आयोगले निर्वाचनका कार्यक्रम तय गरेको थियो।
प्रतिनिधिसभा विघटन असंवैधानिक भनेर चौतर्फी विरोध भइरहँदा कांग्रेसले भने निर्वाचनलाई वैधता दिन सर्कुलर जारी गरेको हो।
कांग्रेसले माघ १५ देखि २१ गतेसम्म देशभरका ७५३ स्थानीय तहमा हुने मतदाता अद्यावधिक कार्यक्रममा सहभागी हुन सर्कुलर गरेको हो।
प्रतिनिधिसभा विघटनविरुद्ध भएका कार्यक्रम नै निर्वाचन केन्द्रित जस्तो देखिएको टिप्पणी भइरहेको थियो। यसलाई थप बलियो बनाउने गरी कांग्रेसले सर्कुलर जारी गरेको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन र अर्कोतर्फ मतदाता नामवली अद्यावधिमा भाग लिन सर्कुलर जारी गरेर कांग्रेसले द्वैध चरित्र देखाएको छ। तर, नेताहरु भने यसलाई द्वैध चरित्र भन्न नमिल्ने बताउँछन्।
ढिलोचाँडो मुलुक निर्वाचनमा जाने भएकाले मतदाता नामावली अद्यावधिक गर्ने कुरालाई अन्यथा लिन नहुने नेता भीष्मराज आङदाङवेले बताए।
‘हामी आज नभए भोलि निर्वाचनमा जानैपर्छ। हाम्रो पहिलो प्राथमिकता असंवैधानिक कदम सच्चाउनुपर्छ भन्ने नै हो,’ उनले भने, ‘अदालतले विघटनलाई सदर गर्यो भने मुलुक निर्वाचनमा जान्छ। हामी निर्वाचनमा जानैपर्ने हुन्छ। त्यसैले यसलाई अन्यथा लिन हुँदैन।’
अर्का नेता गुरुराज घिमिरेले पनि यसलाई कांग्रेसको दोहोरो चरित्र भन्न नमिल्ने बरु होस पुर्याएको भन्नुपर्ने बताए।
‘मानिलिनुस्, एकप्रतिशत नै सम्भावना रहोस्। भोलि निर्वाचन भयो भने के गर्ने? त्यसको तयारी त गर्नुपर्छ नै। त्यसैले हामीले होस पुर्याएका हौं’, उनले भने, ‘केन्द्रीय समितिले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर निर्णय गरेको छ। हाम्रो माग पुनःस्थापनाकै हो। तर, निर्वाचन नै भयो भने पनि त होस् पुर्याउनुपर्यो नि। त्यसैले यो दोहोरो चरित्र होइन।’
यस्ताे छ सर्कुलर
