बुटवल - रुपन्देहीको मर्चवार क्षेत्रमा एक युवकको जलाएर हत्या गरी फालेको अवस्थामा शव भेटिएको छ।
यहाँको मायादेवी गाउँपालिका-७ दानव नदी नजिकको खेतमा अन्दाजी ३० वर्षीय युवकको शव भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले घटना रहस्यमय ठानेपछि मंगलबार राति नेपालगञ्जबाट कुकुर ल्याएर अनुसन्धान गरेको प्रहरी प्रमुख एसपी प्रविण पोखरेलले बताए।
तीन किलोमिटरसम्म कुकुरले ‘फलो’ गरे पनि त्यसपछि स्थान भने पहिचान गर्न नसकेको उनले बताए।
युवालाई घाँटी थिचेर हत्या गरी नदी किनारमा ल्याएर पेट्रोल छर्केर आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान छ।
भारतीय सीमाबाट पाँच किलोमिटरको दूरीमा युवाको शव भेटिएकाले हत्या भएका युवा भारतीय हुन सक्ने प्रहरी प्रमुख पोखरेलले बताए।
शरीर नांगो छ भने अनुहार आगोले जलेको छ। घटनास्थलमा पाइप, पेट्रोलको बोत्तल भेटिएको छ। मंगलबार दिउँसो २ बजेतिर प्रहरीले खबर पाएको थियो।
शवको पहिचान नभएकाले घटना रहस्यमय बनेको छ। पोष्टमार्टमका लागि शव बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ।