विराटनगर– पछिल्लो १० वर्षमा प्रदेश १ मा प्राकृतिक विपद्मा परी ७२१ जनाको मृत्यु भएको छ।
०६८ फागुन १ देखि ०७७ पुस २८ गतेसम्म बाढीपहिरो, भारी बर्षा, आगलागी, चट्याङ, हावाहुरी र जनावर आतंकका ५ हजार ८ सय २१ वटा घटनामा ७२१ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता जर्नादन गौतमले जानकारी दिए।
उनका अनुसार प्रदेश १ मा आगलागीका घटना सवैभन्दा बढी भएका छन्। १० वर्षमा ३ हजार ८७७ वटा आगलागीका घटना भएको गौतमले बताए। आगलागीमा ११८ जनाको मृत्यु भएको छ। ३१३ जना वेपत्ता छन्। आगलागीमा परी ३१३ जना घाइते भए।
१० बर्षको अवधिमा बाढीका ४१८ वटा घटनामा १४२ जनाको मृत्यु भएको छ। ८४ जना वेपत्ता छन्। पहिरोका ४९१ घटनामा १४५ जनाले ज्यान गुमाएको प्राधिकरणका प्रवक्ता गौतमले बताए। उनका अनुसार ३४ जना बेपत्ता छन्। प्रदेश १ को संखुवासभामा पहिरोका ९१ घटनामा १७, ताप्लेजुङमा ६३ घटनामा ५८ र इलामको ५१ घटनामा १४ जनाको मृत्यु भएको छ।
भारी वर्षाका १५५ घटनामा २ जनाको मृत्यु भएको छ। चट्याङका ६१६ घटनामा २८७, हावाहुरीका ११२ घटनामा १२ र जनावर आतंकका १५२ घटनामा १६ जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताए।
प्रदेश १ विपद् जोखिमको दृष्टिकोणले उच्च जोखिममा रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले बताए। जोखिमको पूर्वतयारी गर्न सके क्षति कम गर्न सकिने उनले बताए।
प्राधिकरणले बाढीको जोखिमबाट बच्नका लागि पूर्व तयारीका लागि दिने सूचना प्रभावकारी भएको उनले बताए। पहिरोबाट बच्नका लागि पनि पूर्व तयारीको सूचना दिने तयारी गरिएको उनले बताए। बाढीपहिरो जाने ९ जिल्लालाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए।
प्रदेश १ मा विपद्मा वर्षेनी हुने धनजनको क्षति न्यूनीकरणका लागि प्रदेश सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताए।
विपद्मा परेकाहरुको उद्धार गरी एकीकृत रुपमा व्यवस्थापनका लागि पूर्वाधार निर्माणको प्रकृया अघि बढेको उनले बताए। मन्त्री कार्कीले भने, ‘जमिन प्राप्त भएको छ, डीपीआर गरेर काम अघि बढाउने तयारीमा छौं।’ विपद्मा परेकाहरुलाई व्यवस्थापन गर्न हरेक वर्ष समस्या देखिएको उनले बताए। मन्त्री कार्कीका अनुसार व्यवस्थापन केन्द्र निर्माणपछि उद्धार गरि एकै स्थानमा राखिने छ।
विपद् जोखिम न्यूनीकरणका लागि अहिले शुरु गरिएको काम १० वर्षपछि देखिने उनले बताए। मन्त्री कार्कीले भने, ‘निरन्तर काम गरिरहेका छौं, १० वर्ष भित्रमा धेरै न्यूनीकरण हुने छ।’ विपद्को दिगो व्यवस्थापनका लागि गर्नुपर्ने काम गर्न नसकिएको उनले बताए।
पछिल्लो समय सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि बढेको उनले बताए। सवारी दुर्घटना न्यूनीकरणका लागि व्यक्ति आँफै सचेत भए सवारी दुर्घटनाका घटनामा कमी हुने उनले बताए।
आन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीले पछिल्लो समय वन्यजन्तु आक्रमणका घटना बढेको बताए। पहाडको वस्ती स्थानान्तरणका कारण पनि वन्यजन्तुको आक्रमण बढेको उनले बताए।