वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले शीर ठाडो हुनेगरी काम गरिरहेको दाबी गरेका छन्।
“वाग्मती प्रदेश विकास दर्पण”को विमोचन गर्दै मुख्यमन्त्री पौडेलले विकासका योजना निर्माण र कार्यान्वयन, सुशासन कायम, आर्थिक विकासलगायत सबै प्रकारका सूचकहरुमा वाग्मती प्रदेश अगाडि रहेको बताए। पौडेलले सडक, पुल, खानेपानी, सिँचाइजस्ता विकासका आधारभूत आवश्यकता पुरा गर्नेदेखि लिएर सुरुङमार्ग निर्माणको योजनासमेत कार्यान्वयनको चरणमा रहेको बताए ।
मुख्यमन्त्री पौडेलले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने तथा केन्द्र सरकारसँग समेत साझेदारी गर्नुपर्ने भएका कारण सुरुङमार्ग निर्माणमा केही ढिलाइ भएको भए पनि अब केही समयमै निर्माण प्रारम्भ हुने दाबी गरे।
सरकारले विद्युतीय सवारीलाई प्राथमिकता दिन लागेको बताउँदै वाग्मती प्रदेशका हरेक योजना अन्य क्षेत्रका लागिसमेत अनुकरणीय हुने गरेको उनले बताए। पौडेलले ‘सुसंस्कृत र सुखी जनता समाजवाद उन्मुख समृद्ध प्रदेश’ को दुरगामी सोचलाई पूरा गर्न प्रदेशको पहिलो आवधिक योजना २०७६–७७–२०८०–८१ कार्यान्वयनमा ल्याइएको उनले बताए।
प्रदेश नीति तथा योजना आयोगबाट दिगो विकास लक्ष्यसहित अन्य दस्तावेज तयार भई कार्यान्वयनमा ल्याइएको, आफू र मन्त्रीहरूबीच, मन्त्री र सचिवबीच एवं सबै तहका कार्यालय प्रमुखसँग कार्य सम्पादन करार सम्झौता भएको र त्यसको परिणाम सकारात्मक आएको उल्लेख गरे। मुख्यमन्त्री पौडेलले सरकार गठनको तीन वर्ष नपुगिकनै सरकारले गरेका कामको परिणाम देखिन थालिसकेको बताए।
–रासस