शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • का‌ंक्रेविहार वन क्षेत्रमा काठ तस्कर र शिकारीकाे नजर

का‌ंक्रेविहार वन क्षेत्रमा काठ तस्कर र शिकारीकाे नजर

सुर्खेतको बुलबुले तालमा आइतबार बिहान घाइते अवस्थामा जरायो फेला पर्‍यो।
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

काठमाडौं - सुर्खेतको बुलबुले तालमा आइतबार बिहान घाइते अवस्थामा जरायो फेला पर्‍यो।

वीरेन्द्रनगर-९ स्थित काँक्रेविहार वन क्षेत्रमा वासस्थान रहेको जरायो तालमा फसेको सूचना पाउने बित्तिकै डिभिजन वन कार्यालयबाट खटिएको टोलीले जीवित अवस्थामै उद्धार गर्न त सफल भयो तर, जरायो बाँचेन।

उपचारकै क्रममा सोमबार साँझ उक्त जरायोको मृत्यु भयो।

पछिल्लो यो घटना मात्र होइन, काँक्रेविहार क्षेत्रका जरायोहरू मृत वा घाइते अवस्थामा भेटिनु सामान्यजस्तै बनेको छ। 

यस वर्ष वैशाखयता एक मृत र चार जरायो घाइते अवस्थामा फेला परिसकेका छन्। वीरेन्द्रनगर-९, लाटीकोइलीका स्थानीय केशव कोइरालाले दुर्लभ जनावर जरायो दैनिक आक्रमणमा परिरहँदा सम्बन्धित निकायले संरक्षणमा बेवास्ता गरेको आरोप लगाए। 

‘काँक्रेविहारजस्तो संरक्षित वन क्षेत्रभित्रै जरायो, मृगलगायतका जनावर असुरक्षित बन्नुपर्ने अवस्थाप्रति सम्बन्धित निकायले कानमा तेल हालेर बसेका छन्’, उनले भने, ‘डिभिजन वन कार्यालयले यसको संरक्षणमा बेवास्ता गर्दा चोरी शिकारी बढ्यो, वन क्षेत्रमा पर्याप्त चरिचरनको व्यवस्था गरिएन।’

१७५ हेक्टर क्षेत्रफलमा फैलिएको काँक्रेविहार नेपालकै पहिलो संरक्षित वन क्षेत्रमा पर्दछ। यहाँ जरायो, मृग, बँदेललगायतका वन्यजन्तुको बसोबास छ।

चारैतिर वस्तीले घेरिएको काँक्रेविहार वन क्षेत्रमा अचेल काठ तस्करदेखि वन्यजन्तुको शिकारी गर्नेहरूको नजर पर्ने गरेको स्थानीय बताउँछन्।

स्थानीयवासीका अनुसार स‌ंगठित भएर चोरी शिकारी गर्नेले कुकुरसम्म प्रयोग गरेर जरायोलाई मार्ने गरेको पाइएको छ। जरायो वन क्षेत्र बाहिर निस्किँदा शिकार गर्ने समूहको नियन्त्रणमा पर्ने गरेको स्थानीयवासीको भनाइ छ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी टेकबहादुर रावलले वन क्षेत्रभित्र चरिचरनको कमी, खानेपानी नपाउनुजस्ता कारणले जरायो आफैं वस्तीमा निस्कने गरेको बताए। ‘काँक्रेविहार वन क्षेत्रमा पानीका पोखरी छैनन्, पानी नपाउँदा प्यास मेट्न जनावर पानी खोज्दै वस्तीमा प्रवेश गर्छन्, त्यस्तो अवस्थामा स्थानीयवासीको आक्रमणमा पर्ने गरेको देखिएको छ’, उनले भने, ‘वन क्षेत्रमा क्षमताभन्दा बढी जनावर हुँदा चरिचरन क्षेत्रको कमी हुन पुग्यो, पानीपोखरी नहुँदा वन क्षेत्र बाहिर निस्कनुपर्ने बाध्यता आएको हो।’

लाटीकोइलीका युवाहरूले गत साउनमा व्यक्तिगत लगानीमा वन्यजन्तुको चरिचरनका लागि घाँस रोपेका थिए। स्थानीयवासी लालबहादुर चौधरीले चरिचरन क्षेत्र बढाउनुपर्ने, पोखरीको व्यवस्था गनुपर्ने, आसपासमा वनरक्षकले गस्ती बढाउनुपर्ने बताए। 

साथै वन कार्यालयले पनि काँक्रेविहार संरक्षणलाई उच्च प्राथमिकता दिनुपर्ने उनको सुझाव छ।

काँक्रेविहार क्षेत्रको संरक्षण तथा सुरक्षाका लागि प्रहरीको अस्थायी बिट र वन कार्यालयको आरक्ष केन्द्र स्थापना भए पनि वन्यजन्तु सुरक्षित हुन सकेका छैनन्।

डिभिजन वन कार्यालयले भने नियमित गस्ती गर्नुका साथै घाइते जनावरका उद्धार तथा उपचारमा कुनै कमी हुन नदिएको दाबी गरेको छ। कार्यालयले पानीपोखरी निर्माण, तारबारलगायतका योजना अघि बढाउने कार्यक्रम रहेको जनाएको छ। रासस

प्रकाशित: Jan 19, 2021| 03:51 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।