काठमाडौं– राजनीतिक रुपमा विभाजन भएको नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ।
ओलीलाई तीन दिने स्पष्टीकरण सोधिएको पत्र लिएर स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र कार्यालय सचिव श्रीराम ढकाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
‘हामी पत्र बुझाउन पुगेका थियौं। गेटमा रहेका सुरक्षाकर्मीले सचिवालयमा सोधे। यताबाट पत्र त्यही बुझ्नु भन्ने जवाफ आएपछि सुरक्षाकर्मीलाई बुझाएर आयौं,’ नेता पाण्डेले नेपाल समयसँग भने।
गत शुक्रबार बसेको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
‘केन्द्रीय कमिटीले संसदको असंवैधानिक विघटनको कदमविरुद्धमा आलोचना गरेर तपाईंलाई पार्टी विरोधी काम गरेकाले अध्यक्षबाट हटाएको थियो। त्यसपछि पनि तपाईंका गतिविधि नसच्चाएकाले पार्टी विधानको दफा ५६ अन्तर्गतका बुँदाहरुमा रहेर तपाईंलाई थप कारवाही अन्तर्गत पार्टी सदस्यबाटै निष्कासन किन नगर्ने ? यसको स्पष्टीकरण तीन दिनभित्रमा दिनुहोला। नभए थप कारवाही हुने पनि सुचित गरिन्छ,’ दाहाल–नेपाल समूहले ओलीलाई सोधेको स्पष्टीकरण पत्रमा भनिएको छ।
गत पुस ५ गते प्रधानमन्त्रीले संसद् विघटन गरेपछि त्यसै दिन बसेको स्थायी कमिटी बैठकले अध्यक्षबाट हटाउन केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको थियो।
त्यसपछि ७ गते बसेको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्षबाट हटाउने निर्णय गर्दै नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो।