शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • म्यानचेस्टरलाई शीर्ष स्थानमा पुर्‍याएका सोल्सायरको 'सगरमाथा सिद्धान्त' 

म्यानचेस्टरलाई शीर्ष स्थानमा पुर्‍याएका सोल्सायरको 'सगरमाथा सिद्धान्त' 

खराब लयबाट माथि उठेर प्रिमियर लिगजस्तो चरम प्रतिस्पर्धा हुने लिगको शीर्ष स्थानमा पुग्नु पक्कै सहज होइन। 
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

काठमाडौं– ओल्ड ट्राफोर्डमा सबै कुरा ठिकठाक चलिरहेको थियो। लिभरपुलले प्रिमियर लिग जितेको थियो। सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी दोस्रो हुँदा म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा रहेर सिजन सकाएको थियो। अर्थात् युनाइटेडले नयाँ सिजनमा च्याम्पियन्स लिग खेल्दै थियो।  

तर, जब नयाँ सिजन सुरू भयो, म्यानचेस्टर युनाइटेडका समर्थक खुसी हुन सकेनन्। कारण थियो– कमजोर प्रदर्शन। यसकै कारण प्रशिक्षक ओले गनर सोल्सायरको आलोचना चुलियो।  

कतिसम्म भने टोटनहम हट्सपरसँग घरेलु मैदानमा ६–१ ले हारेपछि क्लबका लिजेन्ड प्याट्रिक एव्राले क्लब व्यवस्थापन र प्रशिक्षकलाई ‘झापड’ हान्न मन लागेको भन्न भ्याए। 

गत अक्टोबरमा टोटनहमविरुद्धको त्यो नतिजाले समर्थकलाई स्तब्ध बनाएको थियो। त्यसैमध्येका एक थिए प्याट्रिक। क्रोधित बनेका उनले रिस पोख्दै भनेका थिए, ‘म्यानचेस्टर युनाइटेडको फिल्ड र अफ दि फिल्डमा रहेका केही व्यक्ति झापडका लायक छन्।’ 

फुटबल पण्डितहरूले अनुमान गरिरहेका थिए– युनाइटेडमा सोल्सायरको भविष्य लामो हुनेछैन। उनीहरुका विश्लेषण यस्ता थिए– सोल्सायरको जागिर खुकुरीको धारमा छ। जुनसुकै बेला जेसुकै हुन सक्छ।

मिडिया रिपोर्ट दिनहुँ सोल्सायरको भविष्यमा केन्द्रित थिए। र, हल्ला चल्न थालेको थियो– सोल्सायरलाई माउरिसियो पोचेटिनोले प्रतिस्थापन गर्दैछन्। अझ च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएर युरोपा लिग खेल्नुपर्ने अवस्था आएपछि यी अनुमान र हल्लाले बढावा पाएका थिए। जुन स्वाभाविक पनि थियो। 

तर, प्रिमियर लिग मध्यसिजनमा पुग्नै लाग्दा अवस्था फेरिएको छ। सोल्सायरले आलोचकको मुख थुनिदिएका छन्। सिजनको सुरुवातमा युनाइटेडको प्रदर्शनलाई हेरेर गरिएका अनुमान गलत सावित भएका छन् र युनाइटेड सात वर्षपछि प्रिमियर लिगको अंक तालिकामा शीर्ष स्थानमा पुगेको छ।  

गत सिजनको प्रदर्शन, चालू सिजनमा निराशाजनक सुरूवातको विश्लेषण गर्ने हो भने अहिले युनाइटेडले घरेलु लिगमा जे गरेको छ, त्यो अविश्वसनिय नै हो। सायद धेरैलाई लागेको हुनुपर्छ– युनाइटेडले लिग जित्दैन, शीर्ष चारमा आए भाग्य ! अब युनाइटेडले लिग जित्छ वा जित्दैन, त्यो समयक्रमसँगै थाहा हुँदै जाने छ। तर, अहिलेका लागि युनाइटेड शीर्ष स्थानमा छ। 

खराब लयबाट माथि उठेर प्रिमियर लिगजस्तो चरम प्रतिस्पर्धा हुने लिगको शीर्ष स्थानमा पुग्नु पक्कै सहज होइन। र त सोल्सायरले अंक तालिकाको शीर्ष स्थानमा पुग्नु र टिकिरहनु ‘सगरमाथा चढेजत्तिकै’ भएको भएको टिप्पणी गरेका छन्।  

‘हामी अहिले जहाँ छौं, त्यहाँ पुग्नका लागि धेरै परिश्रम चाहिन्छ। यो किलिमञ्जरो वा माउन्ट एभरेस्ट (सगरमाथा) चढेजस्तै गाह्रो कुरा हो,’ उनले भनेका छन्, ‘तपाईं एकपटक चुचुरोमा पुग्नुभयो र आराम गर्नुभयो भने के हुन्छ ? चिसोले कठ्यांग्रिएर मर्न पनि सकिन्छ।’

युनाइटेडको ओरालो यात्रा सर एलेक्स फर्गुसनले संन्यास लिएपछि सुरु भएको हो।  सन् २०१३ यता युनाइटेडले चार प्रशिक्षक फेरेको छ। तर, लिग उपाधि कसैले पनि जिताउन सकेका छैनन्। डेविड मोयस, लुइस भान गाल र जोसे माहोरिन्होले युनाइटेडको कमान्ड सम्हाले। यीमध्ये माउरिन्होले युरोपा लिगसहित केही कप उपाधि दिलाए। भान गालले एफए कप दिलाए। तर प्रिमियर लिग जित्न सकेनन्।  

युनाइटेडमा फर्गुसन युगपछिका चौथो प्रशिक्षक सोल्सायर हुन्। जोसे माउरिन्हो जस्ता सफल प्रशिक्षकले दिलाउन नसकेको लिग उपाधि दिलाउनु सोल्सायरका लागि ठूलो चुनौती थियो र छ। 

तर, अहिले युनाइटेडलाई शीर्ष स्थानमा पुर्‍याएर उनले फर्गुसन युगको सम्झना गराइदिएका छन्। युनाइटेडको एकेडेमीमै हुर्किएका केही खेलाडी र अन्य क्लबबाट अनुबन्ध गरिएका खेलाडीको तालमेलमा युनाइटेडले आक्रामक फुटबल खेलिरहेको छ। 

‘म खेलाडीलाई सधैं भनिरहन्छु, जब हामी बल पाउँछौं त्यसलाई सक्दो उपयोग गर्न कोसिस गर्नुपर्छ। बल अघि पास दिने, अघि बढ्ने र आफ्नै एक प्रकारको फुटबल टिम बन्ने,’ आफ्नो सिद्धान्तबारे उनी भन्छन्। 

जति बेला युनाइटेडले सोल्सायरलाई भित्र्यायो, त्यसबेलामा क्लबको गम्भीर भूल भन्नेहरु अहिले सोल्सायरकै बलबुतामा टोली शीर्षस्थानमा पुगेको कुरा स्वीकार गर्न मुस्किल मान्दैनन्।

आखिर सत्य पनि त यही हो। अघिल्लो सिजन एलेक्सिस सान्चेस, रोमेलु लुकाकु जस्ता खेलाडी बेचेर टोलीको प्रदर्शन खस्कन नदिनु पनि सोल्सायरको खुबी नै हो। तर, यसका लागि उनले ब्रुनो फर्नान्डेज, एडिन्सन काभानी, भान डि विकजस्ता खेलाडी भित्र्याएका छन्। फर्नान्डेज तिनै खेलाडी हुन्, जसले हरेक खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् र प्रिमियर लिगकै उत्कृष्ट मिडफिल्डरका रुपमा आफूलाई उभ्याएका छन्। 

जे होस्, सोल्सायरका लागिमात्र होइन, समर्थकका लागि समेत यो खुसी फर्किएको पल हो। किनकी युनाइटेडका समर्थकले प्रिमियर लिग जित्दाको स्वाद चाख्न नपाएको लामै समय भएको छ। टोली शीर्ष स्थानमा पुगेपछि युनाइटेडको दबदबा रहेको समय समर्थकको स्मरणमा ताजा भएको छ। 

सात सिजनसम्म निरन्तरको निराशा पुनः आशामा परिणत भएको छ। यही कारण हो– जसले सोल्सायरप्रति युनाइटेडका समर्थकको विश्वास फर्काइरहेको छ। पछिल्ला सात सिजनमा क्रमशः सातौं, चौथो, पाँचौं, दोस्रो, छैटौं र तेस्रो स्थानमा रहेको क्लब शीर्षस्थानमा फर्कंदा क्लब र समर्थकमा उत्साह फर्कनु स्वभाविक नै हो। प्रिमियर लिग यस्तो लिग हो, जहाँ हेभिवेट क्लबहरूको चरम प्रतिस्पर्धा हुन्छ। त्यसैले त भनिन्छ– हरेक सिजनमा शीर्ष सात क्लब उपाधिमा दावेदारी प्रस्तुत गर्छन्। 

साविक विजेता लिभरपुलसँग आइतबार युनाइटेडले प्रतिस्पर्धा गर्यो। उच्च लयमा रहेका दुई टोलीबीचको खेल बहुप्रतिक्षितसमेत थियो। युनाइटेडका लागि यो ठूलो अवसरसमेत थियो। किनकी लिभरपुलको एनफिल्ड मैदानमा २०१६ जनवरीपछि युनाइटेडले जित निकाल्न सकेको छैन। त्यसैले फुटबल पण्डितहरुले भनिरहेका थिए– यो सोल्सायर र उनको टोलीका लागि रियालिटी चेक गर्ने खेल हो। 

तर, खेल बराबरीमा सकियो। लिभरपुललाई उसको मैदानमा हराउनु सहज पनि थिएन। सन् २०१७ यता प्रिमियर लिगमा लिभरपुललाई उसको मैदानमा गएर कसैले हराउन सकेको छैन। यस्तोमा युनाइटेडका लागि घरेलु मैदानमा लिभरपुलको अपराजित यात्रा अन्त्य गर्ने अवसर समेत थियो। तर, त्यो सफल हुन सकेन। 

तरपनि युनाइटेडका लागि सुखद् कुरा के रह्यो भने पछिल्ला १६ अवे खेलको अपराजित यात्रा आइतबार पनि कायम नै राख्यो र लिभरपुलसँग अंक बाँडे पनि १८ खेलबाट ३७ अंक जोडेर शीर्षस्थानमा कायमै रहन सक्यो। जुन एक खेल कम खेलेको दोस्रो स्थानको सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीभन्दा २ अंक बढी हो। 

फस्ट इनिङमा लिजेन्ड, सेकेन्डमा के ?  

सन् २०१८ को डिसेम्बरमा युनाइटेडले जोसे माउरिन्होलाई बर्खास्त गर्‍याे। माउरिन्हो बर्खास्तीसँगै युनाइटेडको कमान्ड कसले सम्हाल्ला ? सर्वाधिक चासोको विषय थियो। नाम चलेका प्रशिक्षकहरु समेत चर्चामा थिए। 

तर, डिसेम्बर–१९ मा युनाइटेडले लिजेन्ड सोल्सायरलाई केयर टेकर प्रशिक्षकको जिम्मेवारी दियो। केयर टेकरको जिम्मेवारी पाएपछि उनी धेरैको आलोचना सिकार पनि नभएका कहाँ हुन् र ? आलोचकले सोल्सायरले कमजोर बनेको युनाइटेड थप धराशायी बनाउने टिप्पणी समेत गर्न थालेका थिए। कतिपयले सोल्सायरले दोस्रो र तेस्रो डिभिजनको टिमसँग पनि जित निकाल्न नसक्ने आरोप समेत लगाउन भ्याए।  

तर, सोल्सायरले जब नेतृत्व सम्हाले, युनाइटेडले लय समात्यो। जसका कारण उनी केयर टेकरबाट पूर्णकालिन प्रशिक्षकमा नियुक्त भए। ४७ वर्षिय यी नर्वेजियनले खेलाडी हुँदा युनाइटेडमा जित्न बाँकी केही थिएन।

महान प्रशिक्षक सर एलेक्स फर्गुसनको नेतृत्वमा ११ सिजन उनले युनाइटेडमा खेलाडीका रुपमा बिताए। ती ११ वर्षमा सोल्सायरले ६ पटक प्रिमियर लिग, एक च्याम्पियन्स लिग, एफएकप र कम्युनिटी सिल्ड २–२ पटक जिते। जसले उनलाई खेलाडीका रुपमा युनाइडेटका लिजेन्डका रुपमा उभ्यायो।  

तर, प्रशिक्षकका रुपमा उपाधि जितेको अनुभव उनलाई छैन। उनले युरोपियन फुटबलका शीर्ष पाँच देशका लिग र कपमा कुनै उपाधि जितेका छैनन्। न च्याम्पियन्स लिग र युरोपा लिगमा नै उनले ठूलो उपलब्धि हासिल गरेका छन्। युरोपियन लिगमा उनको सबैभन्दा ठूलो सफलता युरोपा लिगको सेमिफाइनल हो। गत सिजन उनले युनाइटेडलाई युरोपा लिगको सेमिफाइनलसम्म पुर्‍याएका थिए। 

तर, नर्वेजियन क्लब मोल्डेमा हुँदा भने उनले दुई पटक नर्वेजियन कप र एकपटक टिप्पोलिगन जितेका छन्। टिप्पोलिगन नर्वेको शीर्ष फुटबल लिग हो। त्यो नै प्रशिक्षकका रुपमा उनले जितेको उपाधि हो। 

अब सोल्सायरसँग खेलाडी रहँदा जस्तै उपाधि जित्ने र ओल्ड ट्राफोर्डमा खुसी फर्काउने जिम्मेवारी छ। त्यसका लागि प्रिमियर लिगमा शीर्ष स्थानको यात्रालाई कायमै राख्नुपर्नेछ। जसले ७ वर्षपछि घरेलु लिगको उपाधि ओल्ड ट्राफोर्डमा फर्कियोस्। यस्तै युरोपा लिग, घरेलु कपमा समेत उपाधिको दाबेदारी राखेर ट्रफी जित्नु सोल्सायरका लागि महत्वपूर्ण हुनेछ। तर, यो काम कम चुनौतीपूर्ण भने छैन।  
यस्तो प्रश्न उठ्छ, पहिलो इनिङमा लिजेन्ड भएर ओल्ड ट्राफोर्डबाट विदाइका हात हल्लाएका सोल्सायरको दोस्रो इनिङको विदाइ कस्तो होला ? यो प्रश्नको जवाफ समयले दिनेछ। 

(बीबीसी, आइन्यूज, डेलिमेल र द कोचेस भ्वाइसमा प्रकाशित सामग्रीमा आधारित) 

प्रकाशित: Jan 18, 2021| 11:32 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।