काठमाडौं- सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा नवराज प्याकुरेल नियुक्त भएका छन्।
सहरी विकास मन्त्रालयले प्राविधिक सहसचिव प्याकुरेललाई विभागको महानिर्देशको जिम्मेवारी दिएको हो।
नवनियुक्त महानिर्देशक प्याकुरेलले आज (सोमबार) सहरी विकास तथा भवन विभागमा पदभार ग्रहण गरेका छन्।
मन्त्रालयका विभिन्न निकायमध्ये विभाग सबैभन्दा बढी जिम्मेवारी भएको र धेरै बजेट खर्च गर्ने निकाय भएकाले त्यहाँको महानिर्देशक पदलाई निकै आकर्षक पदका रुपमा हेर्ने गरिन्छ।
मन्त्रालयअन्तर्गत रहेको विभाग सरकारी भवन तथा सघन सहरी विकासका साथै सहरी क्षेत्रको पूर्वाधार विकास गर्ने महत्वपूर्ण निकाय हो।
नवनियुक्त महानिर्देशक प्याकुरेलले विभागअन्तर्गत भइरहेका कामलाई अझै प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
प्याकुरेलले हाल निर्माणाधीन अवस्थामा रहेका संघीय संसद भवन, मुख्यमन्त्री तथा प्रदेश प्रमुख निवास, प्रधानमन्त्री निवास, बञ्चरे डाँडास्थित ल्याण्डफिल साइड, गोदावरीको सभाहल लगायत ठूला परियोजनालाई समयमै सम्पन्न गराउन मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने बताए।