बुटवल- तीव्र सहरीकरणले प्रदुषित बनेको तिनाउ नदी स्वच्छ बनाउन तिनाउ सरसफाइ अभियान सुरु भएको छ।
तिनाउ नदीको पवित्रता बचाउन र प्रदुषित हुन नदिनका लागि सोमबारदेखि तिनाउ सरसफाइ अभियान सुरु गरिएको हो। बुटवल सहर हुँदै बग्ने नदी मानवीय अतिक्रमण र सहरको फोहोरका कारण प्रदुषित हुनेक्रम बढ्दो छ।
मानव सभ्यताको अवशेष मानिने रामापिथेकसको बंगारा भेटिएको तिनाउ नदी क्षेत्र ऐतिहासिक र धार्मिक रुपमा पवित्र रहेकाले यसलाई प्रदुषित हुन नदिन र जलचरको संरक्षणका लागि नागरिक स्तरबाट सरसफाइ अभियान थालिएको अभियान्ताहरुले बताएका छन्।
मानव अधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले तिनाउ नदीमा सफाइ गरेर अभियानको थालनी गरेका हुन्।
तिनाउ नदी रुपन्देहीबासीका लागि खानेपानी, सिचाई र मानवीय सभ्यतासँग जोडिएकाले प्रदुषित हुनबाट बचाउन अभियानले सकरात्मक सन्देश दिएको उनले बताए। विश्वभर प्रदुषण बढेको तथा पर्यावरणमा समेत प्रभाव परेकाले नदी सरसफाइले वातावरण संरक्षण गर्ने उनको विश्वास छ।
सरसफाइ अभियान शुभारम्भका अवसरमा नेपाल प्राद्यापक संघका केन्द्रीय अध्यक्ष गोपाल पाण्डे, नागरिक समाज रुपन्देहीका अध्यक्ष रमेश बहादुर केसी तथा अभियानका संयोजक रिता केसीले नियमित सरसफाइ अभियानमा जुटुनुपर्नेमा जोड दिए।
नदी सरसफाइ अभियानमा मानवअधिकार तथा शान्ति समाज रुपन्देही शाखा, वुमन केयर नेपाल, किवानिज क्लब बुटवल, घरघरमा हामी, इनरविल मिटटाउन क्लब बुटवल, नागरिक समाज रुपन्देही, लायन्स क्लब अफ बुटवल क्यापिटल लगायतका संस्थाहरुले सहकार्य गरेका छन्। तिनाउ सरसफाइ अभियान नियमित रुपमा सञ्चालन गरिने सहसंयोजक डिपि खनालले जानकारी दिए।