काठमाडौं– दाहाल–नेपाल समूहका नेकपा अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीलाई भेडाको संज्ञा दिएका छन्।
अखिल नेपाल महिला संघको केन्द्रीय समिति बैठकमा सोमबार राजधानीमा सम्बोधन गर्दै दाहालले ओलीको भेडा प्रवृत्तिले गणतन्त्र र संघीयता मास्ने काम भएको बताए। उनले भने, 'ओली भेडा हुन्, उनको प्रवृत्तिलाई हामी सिंह बनेर हराउनेछौं।’
उनले कार्यकर्तालाई सिंहजसरी गर्जिएर आन्दोलनको मोर्चामा होमिन आग्रह गरे। दाहालले आफूहरुले ७० वर्ष लगाएर जन्माएको बच्चालाई ओलीले हत्या गर्न खोजेको आरोप लगाए।
उनले भने, ‘हामीले जन्माएको बच्चालाई आईसीयूमा राखिएको छ। एउटा खलनायकले खोसेर मार्ने षड्यन्त्र खोज्दै छ। हामीे हेरेर बस्न सक्दैनौं।’
उनले गणतन्त्र र संघीयता जोगाउन जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताए।
दाहालले भने, ‘हामीलाई संविधान र गणतन्त्र हत्या गर्ने सपना ध्वस्त पार्ने जिम्मा आएको छ। ढिला नगरी हामी जनअदालतमा फैसलाका लागि जुटेका छौं। जनअदालतको फैसला आयो भने सर्वोच्च अदालत र निर्वाचन आयोगलाई पनि सहज हुनेछ।’
अध्यक्ष दाहालले अदालतमा चलिरहेको मुद्दामाथि कुनै टिप्पणी नगर्ने बताए। उनले भने, ‘हामी अदालतको टिप्पणी गर्दैनौंं। आयोगप्रति पनि हाम्रो विश्वास छ।’
जनयुद्धमा तीन हजार महिलाले बलिदान गरेको जानकारी दाहालले दिए। उनले भने, ‘महिलाको बलिदानले नै आन्दोलनलाई उचाइमा पुर्याउन योगदान दिएको छ।’
उनले पार्टीमा को आधिकारिक हो भन्नेमा यसअघिका दस्ताबेज पढ्न आग्रह गरेका छन्।
ओलीमा प्रधानमन्त्री बन्नेमात्र चाहना रहेको तर पार्टीको आधिकारिक लाइन नमान्ने, बैठकको निर्णय नमान्ने उल्टै संविधान नै मास्ने योजनामा रहेको बताए।
दाहालले ओलीले बहुदलीय जनवादको समीक्षालाई कुल्चिएको आरोप लगाए।
ओली जनयुद्धसँग सम्बन्धित कुनै पनि कार्यक्रममा सहभागी नभएकाले पनि उनी एकताका पक्षमा नरहेको दाहालको भनाइ छ।