काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाअघि (पुस ५ गते) प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव गर्ने निर्णय गरे। यसविरुद्ध सर्वोच्च अदालतमा दर्जनभन्दा बढी रिट परेका छन्।
यी रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा बहस भइरहेको छ। रिटको पक्षमा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, भीमार्जुन आचार्य, सुनिल पोखरेल, दिनेश त्रिपाठीलगायतले बहस गरिसकेका छन्। बहस आज (सोमबार) पनि जारी छ।
यसैबीच, एकै जना अधिवक्ताले लामो बहस गरेपछि न्यायाधीशले समयको ख्याल गर्न आग्रह गरेका छन्। ‘हामी रोक्दैनौं तर समयको ख्याल गर्नुहोला,’ एक न्यायाधीशले भने।
आज सबैभन्दा पहिले अधिवक्ता डा. दिनमणि पोखरेलले बहस गरेका थिए। उनले लामो बोलेपछि न्यायाधीश अनिलकुमार सिन्हाले भने, ‘लामो बहस गर्दा यस्तो नहोस् कि चुनावको तयारी भइसकेको होस्। त्यसपछि रोक्न नमिल्ने होला। यसरी लामो बहस भएपछि चुनाव नै आइसक्ला। धेरै वकिलहरुले वकालतनामा गरेका छन्। हामी तपाईंहरुलाई बहस गर्न भने रोक्दैनौं तर समयको भने ख्याल गर्नुपर्ला कि।’
इजलासमा अधिवक्ताहरुलाई समय निर्धारण नगरिएको भए पनि समयको भने ख्याल गर्न भनिएको छ। अहिले रिट निवेदक देव गुरुङका तर्फबाट अधिवक्ता सरोजकृष्ण घिमिरेले बहस गरिरहेका छन्।
घिमिरेले नेकपाका नेता तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ अहिले मौन रहेको प्रसंग निकालेका थिए। त्यसपछि प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाले नेम्वाङलाई व्यंग्य गर्दै भने, ‘संविधान निर्माणको बेला बोल्या एउटा कुरा होला, संविधान बनिसकेपछि बोल्ने अर्कै होला।’
त्यसपछि न्यायाधीश सपना मल्ल प्रधानले भनिन्, ‘संविधानसभाको अध्यक्षले औपचारिक–अनौपचारिक रुपमा बोल्या कुरा संविधानको मर्म हो कि मस्यौदामा लेखिएको कुरा हो ? लेखेको कुराले प्रतिनिधित्व गर्छ कि बोल्या कुराले ?’