काठमाडौ- प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा बहस गर्न रिट निवेदकका तर्फबाट १८८ जना वकिलहरुले वकालतनामा दर्ता गराएका छन्।
सर्वोच्च अदालत, संवैधानिक इजलासमा विचाराधिन मुद्दामा रिट निवेदकको तर्फबाट बहस गर्न १८८ जना वकिलले नाम दर्ता गराएको सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।
सरकारका तर्फबाट महान्यायाधिवक्ता सहित केही वकिल र प्रधानमन्त्रीका तर्फबाट पनि निजि वकिलले बहस गर्नेछन्।
गत पुस ५ गते मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएका थिए।
रिटमा आइतबारदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाई जारी छ।